टेवानले गर्यो विपन्न महिलाको कोरोना बिमा

समाधान संवाददाता
पोखरा
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले पोखरामा रहेका विपन्न तथा असहाय महिलाको कोरोना बिमा गरेको छ । पोखराका फुटपाथ तथा डोकोमा बोकेर फलफूल, तरकारी व्यापार गर्ने १९ महिलाको बिहीबार सामूहिक कोरोना बीमा गरेको हो ।
टेवान र बिमा कम्पनी एनएलजी इन्स्योरेन्सबीच बिहीबार सम्झौता भएको छ । कम्पनीका प्रदेश प्रमुख तेलप्रसाद अधिकारीका अनुसार सम्झौता भएको १५ दिनपछि बिमा लागु हुने छ । आगामी चैतसम्म पिसिआर परीक्षणमार्फत पोजिटिभ नतिजा आउनेले १ लाख रुपैयाँ पाउनेछन् । ‘सडकमा व्यापार गर्नेहरुमा कोरोनोका संक्रमण हुने सम्भावना बढी हुन्छ,’ उनले भने, ‘कमाएर परिवार पाल्नेको बिमा गर्दा पछि बिरामी भइहाले त्यसवापत पाउने रकमले धेरै सहयोग पुग्छ ।’
टेवान अध्यक्ष लक्की कार्की क्षेत्रीले कोभिड–१९ को महामारीको सन्दर्भमा सामाजिक उत्तरदायित्व अनुरुप विपन्न महिलाको कोरोना बीमा गरेको बताइन् । ‘संक्रमणको उच्च जोखिममा रहेका फुटपाथ पसले महिलाको बीमासम्म पहुँच पनि हुँदैन,’ उनले भनिन्, ‘उनीहरुको आर्थिक अवस्था समेत कमजोर भएकोले हामीले बीमा गरिदिएका हौं ।’
उपाध्यक्ष रेनु थापाले खाद्यान्न लगायत राहत सामग्री धेरैले वितरण गरेकाले केही फरक काम गर्ने उद्देश्यका साथ कोरोना बिमाको योजना अगाडि सारेको बताइन् । ‘उहाँहरुमा कसरी सुरक्षित हुने भन्ने थाहा पनि छैन । हामीलाई दैनिक तरकारी, फलफूल खुवाइरहनुभएको छ,’ उनले भनिन्, ‘हामी जुम मिटिङमा जुटेर कोरोना बीमा गरिदिने निर्णय गर्यौं ।’
टेवानकी महासचिव कमला गिरीले सडकमा डोको बोकेर व्यापार गरिरहेका महिलाको जोखिम न्यूनीकरणमा कोरोना बीमाले मद्दत पुग्ने बताइन् । ‘उहाँहरुलाई हेर्दा बीमा गर्न नसक्ने अवस्थाको पायौं,’ उनले भनिन्, ‘कोरोना लागिहाले पनि केही न केही मल्हम लगाउने काम हुन्छ ।’
पोखरा–६ का वडाध्यक्ष जगत पहारीले टेवानले फरक सोच राखेर काम गरेको बताए । महामारीको बेलामा सबैले एकआपसमा सहयोग आदानप्रदान गर्नुपर्ने उनको भनाइ थियो । टेवानकी सचिव शोभा न्यौपाने पाण्डे र कोषाध्यक्ष प्रभा सुवेदीले आगामी दिनमा संस्थाले अन्य क्षेत्रमा पनि सहयोग गर्ने उल्लेख गरे ।








शान्ति श्रीष मगरको नयाँ गीत
प्यारामाउन्ट पब्लिक स्कुलको अभिभावक दिवस
पर्यटनमा साझेदारी बढाउँदै पोखरा–ढोरपाटन ‘टुर’ सम्पन्न
हिमालय क्रिकेट एकेडेमी कपमा नवीन र डायमण्ड विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया