आमाबुवासँगै भारतबाट आएका थिए स्याङ्जाका १२ महिने संक्रमित

अनुप पौडेल, पोखरा
कोरोना पुष्टि भएका स्याङ्जा अर्जुनचौपारीका १२ महिनाका शिशु दुई हप्ता पहिले भारतबाट आएको खुलेको छ । गत ३१ जेठमा आमाबुवासँगै भारतबाट आएर क्वारेन्टाइनमा बसेका शिशुमा कोरोना देखिएको हो ।
‘शिशु र आमाबुवालाई सीमामाबाट उद्धार गरेर ल्याइएको हो । तीनै जना क्वारेन्टाइनमै हुनुहुन्छ,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमले समाधानसँग भने । संक्रमित शिशुका आमाबुवामा कोरोना पोजेटिभ भए/नभएको यकीन गर्न बाँकी रहेको उनले बताए । गौतमले भने, ‘प्रदेश स्वास्थ्य निर्देशनालयबाट संक्रमितको उमेर मात्रै आउँछ । आमा छोरी भनेर रेकर्डमा नराखिने भएकाले थाहा हुँदैन । उतै गएर सोधे मात्रै थाहा हुन्छ ।’
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर कुमार केसीले संक्रमित शिशु रहेको क्वारेन्टाइनमा जाने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘बच्चा बसेको क्वारेन्टाइन यहाँबाट १५ किलोमिटर टाढा वडा नम्बर ५ मा पर्छ । त्यहाँ हामी जाँदैछौं । बच्चाको अभिभावकको नाम प्रहरीसँग खोज्दै छु ।’
गाउँपालिकाले ५ असारमा ४७ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पोखरा पठाएको थियो । गाउँपालिकाको क्वारेन्टाइनमा अहिले ९२ जना बसिरहेको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिए । तीमध्ये ८१ जना भारतबाट र ११ जना तेस्रो मुलुकबाट आएका हुन् ।
शिशुबाहेक शनिबार बिहान अर्जुनचौपारी गाउँपालिकाका अरु १८ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसबाहेक स्याङ्जाका अरु ३ जनामा पनि कोरोना पुष्टि भएको छ ।
शनिबार कोरोना पुष्टि हुनेमा वालिङ नगरपालिका, पुतलीबजार नगरपालिका र बिरुवा गाउँपालिकाका १/१ जना छन् । बागलुङको काठेखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका ८ र नवलपुरको हुप्सेकोटका २ जनामा पनि शनिबार बिहान संक्रमण पुष्टि भएको छ ।
आज थपिएका ३२ सहित गण्डकीमा कोरोना संक्रमितको संख्या ८ सय ३८ पुगेको छ । तीमध्ये १ सय १८ जना निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये स्याङ्जाको वालिङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाका क्रमश ५८ र ५५ वर्षे २ पुरुषको मृत्यु भएको छ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया