पर्यटन क्षेत्रमा कोरोनाको प्रभाव

समाधान संवाददाता २०७७ असार १४ गते १२:२१

वैकुण्ठराज तिमसेना

सन् २०१९ को अन्त्यतिर चीनको वुवान प्रान्तबाट सुरु भएको नोबेल कोरोना भाइरसको प्रभावले सबै क्षेत्रमा गहिरो असर पारिरहेको छ । इबोला भाइरस, हङकङ भाइरस, एसियन फ्लु, हान्त भाइरस, जिका, एमाइन इन्फ्लुएन्जाजस्ता विभिन्न समयमा देखा परेका रोगको कारणवाट वातावरणमा धेरै परिर्वतन आएको छ । संसारको जनसंख्या तीब्ररुपमा बृद्धि भइ शहरीकरण हुनु, ग्लोबल यातायातको सुविधा हुनु, जस्ता कारणबाट यो नोबेल कोरोना भाइरस तुरुन्तै संसारभर फैलिन सफल भयो । साथै कुनै पनि भ्याक्सिन तथा औषधी नभएका कारणवाट यसवाट बाँच्नको लागि खालि सामाजिक दुरी कायम राख्नु, आइसोलेसनामा रहनु, स्यानिटाइजर वा साबुन पानीले बारम्बार हात धुनु मात्र यस रोगबाट बच्ने उपाय हुन । फलस्वरुप, संसारभर सम्पूण व्यापार व्यवसाय बन्द, यातायात बन्द, सम्पूर्ण आन्तरिक तथा वाह्य हवाइक्षेत्र पूर्णत बन्द, स्कुल कलेज, विश्वविद्यालय पूर्णत बन्द रहेका छन् ।

वैकुन्ठराज तिमसेना


सरकारी स्तरबाट पर्यटन व्यवसायीका लागि तत्कालै सञ्जिवनीयुक्त राहतको घोषणा गरी निजी क्षेत्रको मनोबल उँचो राख्न आवश्यक छ

संसारमै फैलिरहेको कोरोनाबाट नेपाल पनि अछुतो हुने कुनै कारण छैन र नेपाल पनि यस रोगबाट ग्रस्त प्राय भइसकेको छ । अब यस रोगबाट बच्न एकान्तवासमा रहने, सामाजकि दुरी कायम राख्ने, नाक, मुख, आँखा बन्द गर्ने, जस्ता सावधानी अपनाउनुको विकल्प छैन । त्यसैले हामी सबैले आफ्नो जीवन जिउने कलामा व्यापक परिर्वतन ल्याउनु आवश्यक छ ।

विगत ६ महिनादेखि देखा परेको कोरोना भाइरसले अहिल्यै नै हरेक क्षेत्रमा गहिरो प्रभाव पारिसकेको छ र यसको अन्त्य अनिश्चित भएकोले भविश्यमा कति असर पार्न सक्ला त्यो त हेर्न बाँकी नै छ । कोरानाको असरले यसले आपूर्ति क्षेत्र, पर्यटन क्षेत्र, उत्पादनमूलक क्षेत्र, लगानीका क्षेत्र, लगायतमा गहिरो प्रभाव परिरहेकोले कुलग्राहस्थ उत्पादन दरलाई कम हुने निश्चित छ ।
अर्थतन्त्रमा विभिन्न गतिविधिमध्ये निश्चित समयावधिमा राष्ट्रभित्र भएका वस्तु तथा सेवाको कुल कारोवार रकमलाई मुद्रामा मापन गरिन्छ भने त्यो कुल ग्राहस्थ उत्पादन हो । ग्राहस्थ उत्पादन कम हुनुको पछाडि कच्चा पदाथको अभाव हुनु, मागमा कमी आउनु, आपूर्तिमा विभिन्न कारणबाट व्यावधान उत्पन्न हुनु कारण प्रमुख छन् । समयको अनिश्चितताको कारणबाट पनि लगानी कर्ताहरुले लगानी गर्न हिचकिचाइरहेका छन्, समय पछाडि सारिरहेका छन्, वा त्यसका बारेमा पुनर्विचार गरिरहेका छन् ।

विश्व महामारीको रुपमा फैलिएको संक्रमण र यसको त्रासले ठप्प मानवीय क्रियाकलापले अर्थतन्त्रमा शिथिलता आएको छ, जसबाट आर्थिक बृद्धिदरमा नकारात्मक असर पर्ने पक्का छ । अघिल्लो वर्ष र पछिल्लो वर्षमा वास्तविक कुल ग्राहस्थ उत्पादनमा भएको परिर्वतनलाई प्रतिशतमा नापिन्छ भने त्यसलाई आर्थिक बृद्धिदर भनिन्छ ।

अर्थतन्त्रका विभिन्न क्षेत्रमा प्रभाव पारिरहेको वर्तमान अवस्थामा पर्यटन व्यवसाय पनि यसबाट अछुतो रहेको छैन् । हरेक देशले पर्यटन व्यवसायको माध्यमबाट ब्यापारको सिर्जना, रोजगारीको सिर्जना, विदेशी मुद्रा आर्जन, संस्कृति आदानप्रदान, खुसी साटासाट, यातायात, हवाई यातायात, आवास, खाद्यान्न तथा पेय पदार्थ, मनोरञ्जन लगायत धेरै उद्योग व्यवसाय, लगायतको क्षेत्रमा अनेक फाइदा लिन सकिन्छ ।

सामान्यत पर्यटक एक व्यक्ति हो जो आफ्नो स्थानबाट अन्य स्थानमा व्यापार, व्यवसाय, सेवा, मनोरन्जन, सामाजिक कार्य र आनन्दका लागि एक वर्ष भन्दा कम अवधिको लागि जाने कार्यलाई जनाउँछ । पर्यटनको क्षेत्रमा कोरोनाको कारणबाट लाखौं कामदार बेरोजगार भइरहेका छन् । जुन इतिहासमा कहिल्यै पनि भएको थिएन । विश्व पर्यटन संगठनका अनुसार, संसारभर छयानब्वे प्रतिशत पर्यटकीय क्षेत्रमा प्रतिबन्ध लगाइएको छ, यात्रामा प्रतिबन्ध लगाइएको छ जसको कारण करिब ९० प्रतिशत कामदार रोजगारीबाट अलग भै सकेका छन् । पर्यटन क्षेत्र संसारको सवै भन्दा ठूलो आर्थिक कारोवार गर्ने क्षेत्र हो । यसले रोजगारमात्र सिर्जना गर्दैन, निर्यात र संसारभर प्रगतिको लागि काम गर्दछ ।


पर्यटन क्षेत्रले संसारभर अमेरिकी डलर ८ दशमलब ८ ट्रिलियन वार्षिक आम्दानी र ३१९ मिलियन रोजगार सिर्जना गरिरहेको छ । सन् २०१९ को सर्वेक्षण हेर्ने हो भने पर्यटनक्षेत्रबाट ग्लोबल कुल ग्राहस्थ उत्पादनमा १० दशमलब ४ प्रतिशतको योगदान देखिन्छ । जुन तथ्यांकले पर्यटन क्षेत्रको योगदानलाई मापन गर्न सकिन्छ । यसको अर्थ पर्यटन व्यवसाय धेरै गहिरो र बृद्धि भइरहने व्यवसाय हो । यस व्यवसायमा मागको सिर्जना, आर्थिक क्रियाकलाप, विकास, ग्लोबल मापदण्ड कायम गर्नु पर्ने र अत्याधिक प्रयोगको कारणबाट हरेक क्षेत्रमा यसको सकारात्मक प्रभाव रहने गर्दछ ।

तर घरमा नै बस्नु पर्ने तथा आय आर्जनका सबै बाटाहरु बन्द भएका कारणबाट पर्यटन क्षेत्रमा असामान्य गिरावट आएको छ । सायद दोस्रो विश्व युद्धपछिको यो नै भयंकर रुप हुनु पर्दछ, र यो गिरावट कहिलेसम्म रहन्छ भन्ने पनि आँकलन गर्न सकिने अवस्था पनि छैन ।

विश्व इकोनोमी फोरमका अनुसार पर्यटन व्यवसाय संसारमै ठूला व्यवसायमध्ये एक हो । जसले वार्षिक ८ दशमलब ८ ट्रिलियन अमेरिकी डलर आम्दानी गर्दछन् । सन् २०१९ को वर्षमात्र खास गरी स्पेन, जर्मनी, जापान, अमेरिका, बेलायत, अस्टे«लिया इटाली क्यानडा र स्वीजरल्याडले पर्यटन व्यवसायबाट सबैभन्दा धेरै आम्दानी गर्ने मुलुकमा रहेको देखिन्छ । यी सबै देश विविध धर्म संस्कृति, प्रकृृतिक स्रोत, आधुनिक साधन र स्रोत, स्वागत गर्न सक्ने खुबी लगायतले पर्यटक आर्कषण गर्न सफल भएका हुन् ।

नेपालमा पर्यटन उद्योग ठूलो उद्योगका रुपमा स्थापना भएका छन् । यसका पछाडि धेरै कारणहरु रहेका छन् । जस्तो, लोल्नी प्लानेटका अनुसार नेपाल विश्वका विभिन्न उत्कृष्ट गन्तव्यमध्ये पाँचौ गन्तव्य भनी उल्लेख गरेका छ, भने ट्रिप एड्भाइजरीले सन् २०१९ को आफ्नो प्रतिवेदनमा विश्वका २५ औं प्रख्यात गन्तव्यमध्ये नेपाल १९ औं गन्तव्य भनी उल्लेख गरेको पाइन्छ । वल्र्ड ट्राभल्स एन्ड टुरिजम काउन्सिलका अनुसार सन् २०१९ को अन्त्य सम्ममा नेपालमा करिब २२ बिलियन रुपैयाँ लगानी भइसकेको र सन् २०२८ सम्ममा यो लगानी करिब २९.४ बिलियन पुग्ने लक्ष्य छ । यो लगानी नेपालमा हालसम्म भइरहेको वैदेशिक लगानीको करिब ५० प्रतिशत हुन आउँछ । साथै, यो लगानी दीर्घकालीन लगानी भएका कराणले होटल तथा रिर्सोट निमार्णमा प्रयोग भएको छ ।

जसको कारणबाट देशलाई ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गरिदिने र राज्यलाई करको रुपमा ठूलो मात्रामा राजस्व जम्मा गरिदिने कार्य गरिआएका छन् । संसारका १० अग्ला हिमालहरु नेपालमा नै हुनु, प्राकृतिक मनोरम दृश्य हुनु, हिन्दु राष्ट्र, भगवान बुद्धको जन्मभूमि, पशुपतिनाथ, मुक्तिनाथ लगायत पनि नेपालको पर्यटनको लागि आर्कषणको कारण रहेको छ । यसबाहेक, टे«किङ, चरा चुंरुगी अवलोकन, तातोबेलुन, बन्जीजम्प, प्याराग्लइडिड, अल्ट्रालाइट एयरक्राफ्ट, माउन्टेन बाइक, जंगल सफारी, माउन्टेन फ्लाइट, रक क्लाइम्बिङ लगायतको पनि पर्यटनका लागि आर्कषण भूमि नेपाल हुँदै आएको छ । यसै गरी मानिसको इमान्दारिता, स्वागत गर्ने कला, संस्कृति, विभिन्न चाडपर्व, रितिथिति, चालचलन, पर्यटकलाई आर्कषण गर्ने अन्य क्षेत्र हुन् ।
नेपालमा पर्यटन क्षेत्रवाट सन् २०१९ को विश्व ट्राभल एन्ड टुरिजम काउन्सिल रिर्सचको रिर्पोट अनुसार २ सय ४० दशमलब ७ बिलियन आम्दानी र १ दशमलब ०५ मिलियन रोजगार सिर्जना गरेको देखिन्छ । साथै अत्याधिक रोजगारको सिर्जना गरी, राष्ट्रिय आयमा रोजगारको बजार र करको माध्यामबाट सरकारलाई पर्यटनको क्षेत्रबाट कुल ग्राहस्थ उत्पादनमा ७.९ प्रतिशत योगदान दिएको देखिन्छ । यसबाट अर्थतन्त्रमा पारेको प्रभाव ज्यादै उच्च छ ।
विसं २०७२ को महाभूकम्पपछि देशमा अर्थतन्त्रमा आएको कमजोर प्रभावलाई पर्यटन व्यवसायवाट नै टेवा पु¥याएको र अर्थतन्त्रलाई सबल बनाउन मद्धत गरेको देखिन्छ । नेपाल राष्ट्र बैंकको सन् २०१९ को तथ्यांक हेर्दा १ हजार २ सय ५४ स्टार तथा पर्यटकस्तरीय होटलबाट मात्र वार्षिक ६ सय १७ दशमलब ६ मिलियन अमेरिकी डलर परिर्वतन गरिएको देखिन्छ ।
एसियन विकास बैंकको हालैको सर्वेक्षण अनुसार कोरानाको नकारात्मक प्रभावको कारणबाट आर्थिक बचतमा ० दशमलब १३ प्रतिशतले ह्रास आइसकेको छ तर यसको असर अझै मापन गर्न सक्ने अवस्था नआएकोले यो खाडल अझ गहिरो अवश्य हुने छ । पर्यटन वर्ष २०२० मनाउन तयार भएरहेको अवस्थामा देखा परेको असरले २० लाख पर्यटक भिœयाउने लक्ष्य केबल लक्ष्यमा नै सिमित रहनाले पर्यटन क्षेत्रबाट राष्ट्रले लिइरहेको कुल ग्राहस्थ उत्पादनको करिब ८ प्रतिशतको योगदान शून्य प्राय रहने देखिन्छ ।


यसैगरी प्राथमिकताका साथ पर्यटन क्षेत्रमा लगानी गरिहरेका बैंक तथा वित्त कम्पनीहरु पनि यस रसातालमा डुब्ने स्थितिमा छन् । नेपालमा विदेशी मुद्राको भरप्रदो स्रोत नै पर्यटन व्यवसाय हो । यसको ह्रासले देशमा विदेशी मुद्रा आर्जन ठप्प रहेकोले देशमा विदेशी मुद्राको अभाव हुने निश्चित प्राय छ ।

अर्थतन्त्रमा उल्लेखित योगदान रहँदा रहँदै पनि कतिपय देशहरुले पर्यटकहरुलाई दिगो रुपमा आर्कषण गर्न नसकिरहेका अवस्थामा नोबेल कोरोना महामारी पश्चात् यस व्यवसायलाई पुन सञ्चालन गरी टिकाइरहन धेरै गाह्रो देखिन्छ । हालसम्म कोरोनाको उपचारका लागि कुनै पनि औषधी, वा सुई बन्न सकिरहेको छैन । यसको अन्त्य कहिले हुने हो यकीन भन्न सकिने अवस्था छैन । साथै पर्यटनका लागि सवै वातावरण सकारात्मक रहन धेरै तत्वहरुको समुचित विकास विस्तारको आवश्यकता रहन्छ । यसैगरी विश्व स्वस्थ्य संगठनको कोरोना भाइरसको उचित व्यवस्थापनामा पर्यटन व्यवसाय भर पर्ने देखिन्छ । ठूला ठूला उत्सव, सेमिनर, गोष्ठी, विवाह, वा अन्य यस्तै कार्यक्रम सरकारी स्तरबाटनै स्थगित गरिरहेको अवस्था, सेल्फ आइसोलेसन, सामाजिक दुरी लगायतले व्यक्तिहरु घर बाहिर जान धेरै अप्ठेरो छ । यी सबै कारणबाट चरम गरिबी बढ्न सक्ने भएकोले, आर्थिक बृद्धिको खास तत्व मानिसलाई गरिबीको खाडलबाट कसरी बाहिर निकाल्ने र जीवनस्तरमा सुधार ल्याउन सकिन्छ त्यतातर्फ व्यवसाय जानु आवश्यक छ । अतः विश्वव्यापीकरणलाई समेत चुनौतीका रुपमा कोरोना भाइरस प्रवेश गरी सकेकोले तल्काल पुनर्लाभ गरी व्यवसाय सञ्चालन गरी अर्थतन्त्र, रोजगारी, व्यापार स्थिरताको लागि नयाँ र भरपर्दो सामाजिक आर्थिक स्थिरताले नै महत्वपूर्ण भूमिका खेल्ने हुनाले तल उल्लेखित क्षेत्रमा पर्यटन व्यवसायी एवं सरकारले ध्यान दिन सकेको खण्डमा यस व्यवसायलाई सुधारा गर्न सकिने देखिन्छ ।
– महामारीका ज्ञाता, पर्यटनविज्ञ वा अनुभवी पर्यटन अभियन्ताहरुको सकारात्मक समाचारको सम्प्रेषणद्वारा पर्यटन उद्योग स्वास्थ्य मापदण्डयुक्त छन् भन्ने कुरा विश्वस्त तुल्याउने ।

–संघीय, प्रदेश र स्थानीय सरकारको तर्फबाट हाम्रो मुलुक भ्रमणयोग्य मुलुक हो भन्ने विश्वास दिलाउने र व्यवसायीहरुलाई आधारभूत सेवा जस्तो, बिजुली, खानेपानी, बैंक ब्याजदर, विभिन्न कर र स्वस्थ्य (आगमन बिन्दुमानै कोरोना परीक्षण, ज्वरो परीक्षण र बिरामी भएको अवस्थामा उपचारको ग्यारेन्टी, औषधी उपलब्धताको निश्चितता वा अन्य) जस्ता क्षेत्रमा अनुदान र सहयोग, राहत निश्चित समयसम्मको लागि उपलब्ध गराउने ।

– प्रवद्र्धन सबैभन्दा महत्वपूर्ण हतियार भएकोले, सास्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक, मूल्य मान्यता, प्रतिस्पर्धी मूल्य वा दर, र ओरेन्ज इकोनोमी याने कि असिमित अवसरहरुको यथार्थ चित्रण गरी सहयोग दिने ।


– नैतिक दायित्व, मर्यादा, विकास लक्ष्य, प्रतिस्पर्धा र सर्वोकृष्ट सञ्चारको प्रयोग गरी आफ्नो सेवा व्यवसाय यथासमयमा, संस्कृति मूल्य मान्यताका आधारमा सञ्चालन गर्ने र परम्परागत सञ्चालन विधिमा परिर्वतन गरी सर्वोकृष्ट सेवा सुविधा प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने ।


– अब अत्याधिक पर्यटकको चाहानालाई परित्याग गरी होसियारीपूर्वक योजना बनाएर, सबैलाई निशुल्क नभै दुबै पक्ष विजयी हुने अवस्थाको सृजना गरि सोही अनुरुपको पर्यटकको खोजी र एडभेन्चर ट्राभल्सको स्थितिलाई सुधार गरी विश्व बजारमा जानकारी दिने त्यो पनि ४० वर्ष मुनिका पर्यटक, सहरीया र बाहिरी एडभन्चर मनपराउने र हाइइन्ड पर्यटकलाई छनौट गर्ने ।


– विश्व स्वस्थ्य संठनको मापदण्ड भित्र रही सरकारी, निजी तथा सार्वजनिक अनुभवलाई व्यवहारमा प्रयोग गरी हरेक ग्रामीण क्षेत्रलाई मूलधारमा समावेश गरी व्यवसाय क्षेत्रको भौतिक पूर्वाधारमा सुधार ल्याई स्वास्थको विशेष ख्याल गरी अस्वस्थ प्रतिस्प्रधालाई निरुत्साही गरी सेवा उपलब्ध गराउने ।


वातावरणमा भै रहेको ह्रासलाई कटौती गरी दीर्घकालीन रणनीति अंगीकार गरी दिगो पर्यटनका लागि निरन्तर अध्ययन अनुसन्धान र आवश्यकीय सुधार गरी । धार्मिक पर्यटनलाई विशेष महत्व दिइ दिगो बसाइका लागि व्यवसायिकताको प्रयोग गरी सार्मथ्ययुत, स्थायी र उदयमान पर्यटनको आर्कषणका लागि नयाँ नयाँ गन्तव्यको खोजी गर्ने ।


– सकारात्मक सूचांकहरुको विज्ञापन गर्ने र राष्ट्रिय अन्तराष्ट्रिय जगतलाई समदुरीमा जानकारी दिई आन्तरिक पर्यटक, साथीभाइ नातेदार आदिलाई ज्ञानको आदान प्रदानद्वारा महत्वका साथ स्वीकार वा अंगिकार गरी प्रविधिमा आधारित भई न्यूनखर्चमा, ग्राहकको मागको जानकारी लिई सामुदायमा आधारित व्यवसाय ञ्चालन गर्ने ।


– सामाजिक महत्व भएका र ठूला प्रबद्र्धनयुक्त संस्था वा संंकायको उचित प्रयोग गर्ने र सेवा व्यवसाय भएको कारण आफ्ना कर्मचारीहरु सुसंस्कृत, शिक्षित, प्रविधि मैत्री बनाउने ।


– विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद, उन्नतस्तरको प्रतियोगिता, मिटिङ, बृहत सेमिनर, गोष्ठीको आयोजन गर्ने वातावरणको सिर्जना गर्ने र सोको लागि राष्ट्रिय ध्वजावाहक, हवाई यातायातको गन्तव्यको विस्तार गरी हालसम्म मुख्य पर्यटक आउने मुलुकहरु खास गरी भारत, बेलायत, अमेरिका, श्रीलंका, जापान र जर्मन लगायतका देशहरु र सम्भावित पर्यटकको लागि विशाल जनसंख्या भएको उत्तरी मित्रराष्ट्र चीनसँग नियमितरुपमा प्रवद्र्धन गरिहने ।


– सरकार पर्यटन बोर्ड र पर्यटनसँग कार्य गर्ने अन्यसँग संगठन लगायतले पर्यटनसँग सम्बन्धित विश्व संगठनसँग नियमित भेटघाट, पत्राचारद्वारा सम्पर्कमा रहिरहने र आफ्नो बारेमा लगातार जानकारी दिई नियमित अनुसन्धान गरिरहने र सोको कैफियतमा तत्काल सुधार गर्ने ।

नोबेल कारोना भाइरसको कारणबाट देखा परेको असर विश्वव्यापी असर हो र यो असर कति रहन्छ र कति धेरै नोक्सान पुर्‍याउँछ लेखाजोखा गर्न सकिने अवस्था छैन । नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषि र रेमिट्यान्स पछिको सबैभन्दा धेरै योगदान दिने पर्यटन क्षेत्र नै हो । यसैगरि भूपरिवेष्टित मुलुक नेपालले विदेशी मुद्रा आर्जनको हिसाबले, रोजगारी सिर्जना गर्ने हिसाबले र राजस्वमा योगदानको हिसाबले पर्यटन क्षेत्रलाई बचाइराख्नुको विकल्प छैन । अतः मुख्यरुपमा सरकारी स्तरबाट तत्कालै सञ्जिवनीयुक्त राहतको घोषणा गरी निजी क्षेत्रको मनोबल उँचो राख्न आवश्यक छ ।

यसैगरी योजनाबद्ध विकासको मूलधारमा पर्यटक आगमनको हिसाबले आकर्षक केन्द्रबिन्दु पोखरा, चितवनको सौराहा र लुम्बिनी जस्ता क्षेत्रको विकास गरी अन्तर्राष्ट्रिय बजारमा भरपर्दो र विश्वासिलो वातावरण सिर्जना गर्न सरकारी स्तरबाटनै जानकारी र आधुनिक सञ्चारको अधिकतम प्रयोग गरी संसारका अन्य मुलुकहरु खासगरी इन्डोनेसिया, श्रीलंकाको (बाली), जस्ता देशले अंगीकार गरेको पर्यटक प्रवद्र्धनका लागि उलपब्ध गराइएको सेवा र सुविधा उपलब्ध गराई पर्यटन व्यवसायलाई स्थायित्व प्रदान गर्न सकिन्छ । यसतर्फ सबैको ध्यान जान आवश्यक छ ।
पूर्व बैंकर तिमसेना पोखरा विश्वविद्यालयमा प्राध्यापनरत छन् ।

तपाईको प्रतिक्रिया