कोरला सडकको ९० करोड फिर्ता

समाधान संवाददाता २०७७ असार १४ गते १९:४४

एसके थकाली
जोमसोम

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजनाको करिब ९० करोड रुपैयाँ बजेट फिर्ता भएको छ । चालु वर्ष सरकारले उपलब्ध गराएको १ अर्ब ८० करोड रुपैयाँमध्ये आधा फिर्ता भएको कालिगण्डकी करिडोरको बेनी—जोमसोम—कोरला सडक आयोजनाले जनाएको छ ।

आयोजनाको अनुमानित बजेट झन्डै ६ अर्ब हो । मुस्ताङतर्फको १ सय ८६ किलोमिटर उत्तर—दक्षिण जोड्ने सडकको बजेट काम हुन नसकी फिर्ता गएकोप्रति मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले दुख व्यक्त गरेका छन् । उनले कोरला सडकलाई आएको बजेट फिर्ता भई तराईका जिल्लाका सडकलाई सरकारले रकम पठाएको बताए ।

Advertisement

सरकारले पठाएको बजेटबाट ५० प्रतिशतमात्र काम भएको करिडोर सडकका इन्जिनियर अश्विनीकुमार यादवले जानकारी दिए । चालु आर्थिक वर्ष विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस रोग (कोभिड १९)ले सिर्जित लकडाउनका कारण सडक विस्तारको काम प्रभावित भई बजेट फिर्ता गएको इन्जिनियर यादवको भनाइ छ । ‘सडकलाई यो वर्ष १ अर्ब ८० करोड आएको थियो । बढी काम भएको भए थप बजेट आउने थियो । काम नभएपछि बजेट फर्कियो,’ इन्जिनियर यादवले भने ।

कोरला सडकको काममा सयौं उपकरण तथा हजारांै मजदुर परिचालन थिए । लकडाउनको तेस्रो महिना सडकको आंशिक काम हुन थालेको यादवले बताए । बेनी—जोमसोम—कोरला सडकको बेनी—जोमसोमको ३ खण्डमा केही मजदुर तथा उपकरणले काम गरेका छन् भने जोमसोम—कोरला सडकको चैले—भेना सडक र झैते—चराङ सडकखण्डमा केही मजदुर र उपकरणले आंशिक काम गरेको पाइएको छ ।

Advertisement

चालु वर्ष जोमसोम कोरला सडकमा साउनदेखि कात्तिकसम्म सडकको काम भए पनि अत्यधिक हिमपात र कोरोना कहरका कारण ८ महिनादेखि काम ठप्पै छ । बेनी—जोमसोम सडकको काम पनि लकडाउनले ठप्पै थियो ।

कामदार कोरोनाका कारण घर फर्किएपछि सडकको काम रोकिएको हो । म्याग्दीको तातोपानीदेखि थासाङको घासा र थासाङको घाँसादेखि कोबाङसम्म निर्माणको जिम्मा लिएको शर्मा गजुरमुखी जेभीले कोरोनो कहरका कारण स्थानीयले सहज रुपमा काम गर्न नदिएको बताएको छ ।

सडकका प्रोजेक्ट मेनेजर नरेन्द्र न्यौपानेले म्याग्दी खण्डको काभ्रेभीरमा सडकको ग्रेड मिलान र अन्य स्थानमा नाली निर्माण र सबवेसको काम भएको तर मुस्ताङ खण्डमा स्थानीयको अवरोधले काम हुन नसकेको जनाए । म्याग्दीको पहिलो खण्डको राहुघाटदेखि तातोपानी खण्डमा पनि आंशिक काम भएको छ ।

शर्मा गजुरमुखीले यसै आर्थिक वर्षमा मुस्ताङ खण्डमा कालोपत्रे गर्ने लक्ष्य लिएको थियो । अहिले त्यहाँ स्थानीयको अवरोधपछि सडक कालोपत्रेका लागि फिनिसिङका काम बाँकी रहेको प्रोजेक्ट मेनेजर न्यौपानेले बताए । मुस्ताङको कोबाङदेखि जोमसोम खण्डको कामले भने निरन्तरता पाएको छ । त्यहाँ स्थानीयको अवरोध हटेपछि कामले पूर्णता पाएको हो ।

कोबाङ—जोमसोम खण्डको काम तामाङ गौरी पार्वती कोसी एन्ड न्यौपानेले लिएको थियो । सडकको फिनिसिङको काम पूरा गरी कालोपत्रे गर्ने तयारीमा निर्माण कम्पनी पुगेको करिडोर कार्यालयले जनाएको छ । यसका लागि सडक कालोपत्रे गर्ने बिटामिन र अस्पाल प्लानसमेत ल्याइसकेको छ ।

बेनी—जोमसोम—कोरला सडक २०७४ सालदेखि सुरु भएको हो । ७ प्याकेजमध्ये ३ खण्ड करिडोर सडकलाई हस्तान्तरण भइसकेको छ भने झैते—चराङ अन्तिम चरणमा छ । चैले—भेना सडकको काम पनि धमाधम भइरहेको जनाइएको छ । तर, जोमसोम—कोरला सडकको चराङ—छोसेर २५ किमी सडकको काम भने डेढ वर्षदेखि हुन सकेको छैन । त्यहाँ निर्माण कम्पनीको ढिलासुस्तीले काम रोकिएको हो । त्यहाँ ५० प्रतिशतमात्र काम भएको छ ।

राष्ट्रिय गौरवको आयोजना बेनी—जोमसोम—कोरला सडक अन्तर्गत बेनी—जोमसोम ७६ किलोमिटर सडक ११ मिटर चौडासहित कालोपत्रेको योजना र जोमसोम—कोरला १ सय १० किमी सडक ११ मिटर चौडा ग्राभेल गर्ने योजना रहेको करिडोरले जनाएको छ । जोमसोम—देखि चैले र छोसेरदेखि कोरला नाकासम्म सडक हस्तान्तरण भइसकेकाले कालोपत्रेको पर्खाइमा छ ।

तपाईको प्रतिक्रिया