सलहको यात्रा र त्रास

समाधान संवाददाता २०७७ असार १५ गते ११:३४

अर्जुनदेव ज्ञवाली

गएको शनिवार दिउँसोदेखि पत्रपत्रिका, रेडियो, टेलिभिजन लगायतका सञ्चारमाध्यम र विभिन्न सामाजिक सञ्जालमा नेपालमा सलह कीराको प्रवेशसम्बन्धी खबरले कोरोनासँग जुधिरहेका हामी सबैलाई चिन्तित तुल्यायो ।

तराईका केहि जिल्लाहरुमा शनिबार दिउँसो सलह कीरा देखिएसँगै देशका विभिन्न जिल्लाहरुमा यसबारे चासो र चर्चा बढ्न थालेको छ ।

असार १५, मानो रोपेर मुरी उब्जाउने दिन अर्थात राष्ट्रिय धान दिवसको संघारमा उभिएका आम कृषकहरुलाई उक्त खबरले नराम्रोसँग पिरोलेको छ । खासमा नेपालमा सलह कस्तो अवस्थामा प्रवेश गर्यो र के हुन सक्छ त ?

धेरै खाले बाली विरुवा तथा वनस्पति खाने खालको यो मरुभूमि कीरा मुख्यत दुई खाले हुन्छन् । एउटा ठुलो समूह/झुण्डमा बस्ने र अर्को सानो झुण्ड तथा एकल बस्ने । एकल वा सानो झुण्डमा बस्ने सलहको भाले/पोथी दुवै अपरिपक्व अवस्थामा हरियो र परिपक्व हुँदै गर्दा विस्तारै हल्का खैरो रङ्गमा परिणत हुन्छन् ।

ठुलो झुण्डमा बस्ने सलहको भाले पहेंलो रङमा हल्का रातो रङ्ग मिसिएका हुन्छन् भने पोथीहरु हल्का खैरो रङका हुन्छन् । सामान्यतया सलहको भाले ४० देखि ५० मिलिमिटर र पोथी ५० देखि ६० मिलिमिटर लम्बाईका हुन्छन् ।

एकल वा सानो झुण्डमा बस्ने सलहलाई सोलिटरिफर्म सलह भनिन्छ जुन परिपक्व हुनासाथ तितरवितर हुन्छन् । ठुलो झुण्डमा बस्ने सलहलाई ग्रेगरिफर्म सलह भनिन्छ जुन झुण्डमा बस्ने र सोलिटरिफर्म भन्दा बढी सक्रिय हुन्छन् । तुलनात्मक रुपमा यस्ता सलहले बालीलाई बढी क्षति गर्छन् ।

सन् २००४/०५ मा पश्चिम अफ्रिकामा देखिएको सलहले ठूलो संख्यामा बालानालीमा क्षति पुर्याएको थियो । धेरै खाले बाली विरुवा खाने प्रकृति, ठुलो संख्यामा देखा पर्ने र टाढासम्म उडेर जान सक्ने भएका कारण यसले पुर्याउन सक्ने क्षति गम्भीर खालको हुन्छ।

ठुलो झुण्डमा बस्ने सलहले प्रतिदिन आफ्नो शरीरको तौल बराबर (औषत २ ग्राम) सम्मको हरियो वनस्पति खान सक्छ ।

नियमित खेतबारी र बाली विरुवाको निरीक्षण गर्ने, रोकथाम तथा नियन्त्रणका लागि भौतिक, यान्त्रिक, जैविक र रसायनिक विधिहरु आवश्यकता अनुसार एकिकृत रुपमा अवलम्बन गर्नु नै यसबाट बच्ने मुख्य उपाय हो ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको २७ जुन २०२० को मरुभूमि सलहको अवस्था अपडेट अनुसार इथियोपिया, केन्या, सोमालिया, दक्षिण सुडान लगायतका देशमा गत हप्तादेखि यस प्रकारको सलहको ठूल्ठूला झुण्डहरु देखिएका छन् ।

विभिन्न देशमा सलहको अवस्था । स्रोत – संयुक्त राष्ट्र खाद्य एवं कृषि सङ्गठन

उत्तरी सोमालियमा देखिएको सलहको ठुलो झुण्ड यस सिजनमा उपयुक्त प्रजनन क्षेत्रको खोजीमा पाकिस्तान–भारतको सिमा क्षेत्रसम्म थप आउन सक्ने आंकलन छ । गत मे महिनाको पहिलो हप्तामा राजस्थानको जोध्पुर आसपास क्षेत्रमा देखा परेको अपरिपक्व सलहको झुण्ड विस्तारै राजस्थानभर फैलिन गयो ।

त्यस्तै, पाकिस्तानको सिन्ध प्रान्तको इन्दुस् उपत्यका क्षेत्रमा समेत सलहको झुण्डहरु देखिएको छ । मे महिनाको तेस्रो हप्ता तिर यो झुण्ड मध्य प्रदेशको इन्डोर क्षेत्रतिर देखा पर्‍यो । भारतमा आएको अम्फान नामक चक्रवातका कारण सलहको झुण्ड उत्तर प्रदेश नजिकै नागोड भन्ने स्थानमा देखियो ।

गत शनिबार (असार १३ गते) तेज हावाको वहावका कारण उक्त झुण्ड केहि टुक्रिएर उत्तर प्रदेशको कुशिनगरमा पुगेको र केहि नेपालको तराईका जिल्लासम्म आइपुगेको पाइएको छ ।

उक्त प्रतिवेदनमा जनाइए अनुसार यसरी नेपाल प्रवेश गरेको झुण्ड सानो संख्यामा रहेको र आफैं तितरवितर भएर जाने हुनाले खासै क्षति नहुने आंकलन गरिएको छ । तर आगामी चार हप्ता सुडान, इथियोपिया, सोमालिया, पाकिस्तान र भारतजस्ता देशलाई भने उच्च सतर्कता अपनाउन भनिएको छ ।

जुन महिनाभर इरान र पाकिस्तान हुँदै थप सलहका झुण्डहरु राजस्थान प्रवेश गर्न सक्ने प्रक्षेपण समेत प्रतिवेदनले गरेकाले हाल नेपाल प्रवेश गरेको झुण्डले बालीविरुवामा क्षति गरे/नगरे तापनि सचेत रहौं । सबै पक्षबाट सलह रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पूर्व तयारी गरौं ।

(संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मरुभूमि सलह अवस्था अपडेट २७ जुन २०२० र सोही संगठनकै मे २०२० को सलह कीरा सम्बन्धी बुलेटिनमा आधारित लेख)

वागवानी विकास अधिकृत ज्ञवाली भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकीमा कार्यरत छन् ।

यो पनि – कृषि उत्पादनमा न्यूनतम समर्थन मूल्य

तपाईको प्रतिक्रिया