सांसद अधिकारीद्वारा ढलानबाटो उद्घाटन
समाधान संवाददाता
पोखरा(महानगर पालिका व वडा नम्बर १२ स्थित लालीगुरॉंस टोल बुद्ध देव मार्गको बाटो ढलान र नहरमा स्याल्याप हाल्ने कार्य सम्पन्न भएको छ । सो बाटोको पूर्वमन्त्री एवं संघीय सांसद खगराज अधिकारीले एक कार्यक्रमकाबीच सोमबार उद्घाटन गरे । सो ढलान बाटोबाट ७० घर परिवार लाभान्वित भएका छन् ।
२२ लाख ५० हजारमा निर्माण कार्य सम्पन्न भएको सो सडक निर्माणका लागि संघीय सांसद अधिकारीको संसद विकास कोषबाट १५ लाख रुपैया बिनियोजन गरिएको थियो । त्यस्तै प्रदेश सांसद मनबहादुर गुरुङको प्रदेश सांसद विकास कोषबाट ढल तथा स्याल्याप ढलानका लागि ७ लाख ५० हजार रुपैया विनियोजन गरिएको थियो ।
सो कार्यक्रममा बोल्दै संघीय सांसद खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि राम्रो काम गर्दा गर्दै पनि अनावश्यक आलोचना गरिएको बताए ।
केपी ओली कै कारण भारतले मिचेको जमिनलाई समेटेर देशले नयाँ नक्शा जारी गर्न सकेको बताउदै उनै राष्ट्रप्रेमी नेता विरुद्ध घेराबन्दी भैरहेको दावी गरे ।
अमेरिकी सहयोगको कार्यक्रम एमसीसीका बारेमा पनि अनावश्यक विरोध भैरहेको भन्दै सांसद अधिकारीले विदेशीले गर्ने सहयोग देशका लागि हितकर भएमात्र स्वीकार गरिने दावी गरे । एमसीसीमा पनि राष्ट्रलाई अहित हुने कुरा छैनन् भन्दै भ्रममा नपर्न स्थानीयलाई आग्रह गरे ।
सो कार्यक्रमको समापनका बेलामा आयोजकहरुले प्रमुख अतिथि अधिकारी र विशेष अतिथि प्रदेश सांसद मनबहादुर गुरुङलाई नेपालको नयाँ नक्शालाई मायाको चिनोको रुपमा प्रदान गरेका थिए ।
तपाईको प्रतिक्रिया