पोखरामा सिङ्गो कुखुराभन्दा पखेटाको मूल्य बढी ! ५ फ्रेस हाउस कारवाहीमा
![](https://www.samadhannews.com/wp-content/uploads/2020/06/Anugaman-pic-1.jpg)
ईश्वर देवकोटा, पोखरा
गण्डकी प्रदेशमा लागु गरिएको कुखुराको मासुको नयाँ मूल्य अनुसार होल (सिंगो) चिकेन ४ सय रुपैयाँमा पाइनुपर्ने हो । फ्रेस हाउसले विक्री गर्दा होल चिकेन मात्र बेच्नुपर्ने र कुखुरा वा खसीको मासुमा दुईथरी मूल्य राखेर बेच्न नपाइने नियम छ ।
तर प्रदेश बजार अनुगमन समितिले सोमबार गरेको छड्के अनुगमनमा पोखराका ५ वटा फ्रेस हाउसले विभिन्न थरी मूल्य राखेर तोकिएको भन्दा पनि बढी मूल्यमा मासु विक्री गरेको पाइएको छ ।
न्यूरोडको राई फ्रेस हाउस, ट्याक्सीचोकका सम्झना फ्रेस हाउस र लक्ष्मी फ्रेस हाउस, पृथ्वीचोकका समिर फ्रेस हाउस र न्यू थापा मिट एन्ड पोल्ट्री सप्लायर्सले बढी मूल्यमा विक्री गरेको पाइएको हो ।
उक्त फ्रेस हाउसहरुले असारदेखि लागु नयाँ मूल्य सूचि अनुसार विक्री नगरेकाले कारवाहीमा तानिए । न्यूरोडको राई फ्रेस हाउसले होल चिकेनको नयाँ मूल्यअनुसार ४ सय मात्र लिनुपर्नेमा ५० रुपैयाँ बढी लिदैँ आएको थियो ।
निर्देशन विपरित मूल्य बढी लिएर विक्री गरिरहेको पाइएपछि कारवाही गरिएको प्रदेश उपभोक्ता हित संरक्षण निर्देशक गोकुल शर्मा पौडेलले जानकारी दिए । अनुगमन टोलीले सबै फ्रेस हाउस बन्द गरेको छ । सञ्चालकहरुलाई बयानका लागि निर्देशनालयमा उपस्थित हुन निर्देशन दिइएको निर्देशक शर्माले बताए ।
अनुगमनका क्रममा राई फ्रेस हाउसले कलेजो पाङ्ग्रा ४ सय, पाङ्ग्रा मात्र ६ सय ५०, पखेटा ५ सय २० रुपैयाँ प्रति केजीमा विक्री गरेको पाइएको थियो । ‘कुखुराको मूल्य एकथरी मात्र कायम गरेर बेच्ने सहमति भएको हो । दुई तिन थरी मूल्य हुनुहुँदैन,’ प्रदेश उपभोक्ता मञ्चका अध्यक्ष एवं बजार अनुगमन समिति सदस्य कपिलनाथ कोइरालाले भने, ‘खसीको हो भने खसी, कुखुरा हो भने कुखुरा, बदेँल हो भने बदेँलको मासु भनेर बेच्नु पर्छ । कुखुराकै मासुमा दुई थरी मूल्य राख्न पाइँदैन । सहमति नै त्यहीँ भएको छ ।’
कुखुराको मासुलाई होल चिकेनको मूल्य कायम गरेर मात्र विक्री गर्ने र स्पेशल चिकेन भनेर अतिरिक्त मूल्य लिन नपाइने सहमति भएको उनले बताए ।
![](https://www.samadhannews.com/wp-content/uploads/2020/06/Anugaman-pic-2.jpg)
मूल्य वृद्धि गर्नु परे नियमावली उल्लेख भएबमोजिम बढाउने आधार भएमा मात्र समायोजन समितिमा प्रस्ताव पेस गर्न सकिने उनले सुनाए । समितिको निर्णयलाई व्यवसायीले खेँलाची ठानेर सहमति विपरित मूल्य बढाएकाले कारवाहीका लागि तानिएको कोइरालाको भनाई छ ।
‘प्रदेश सरकारी स्तरको समितिले गरेको निर्णयलाई व्यवसायीले खेँलाची गरे । अवज्ञा गरे । मूल्य अनुगमनकै लागि अनुगमन गरिएको हो,’ उनले भने ।
नेपालभरमै सर्वाधिक मूल्य पोखरामा भएको कोइरालाले बताए । काठमाडौंमा ३ सय ४० मा प्रतिकेजी कुखुराको मासु विक्री भइरहेको उनले जानकारी दिए । १ केजीमा काठमाडौंभन्दा पोखरामा १ सय ३० रुपैयाँ बढी मूल्य लिएर विक्री भइरहेको कोइरालाले सुनाए ।
लकडाउन अवधिमा दाना, चल्ला लगायतका सामग्री ढुवानीमा सहजता दिन अनुगमन टोलीले सहयोग गरेपनि त्यसको बद्लामा व्यवसायीले मूल्यवृद्धि गरेको उनको भनाई छ ।
‘अन्य ६ वटा प्रदेशमा मासु विक्री बन्द भयो । तर गण्डकीमा हाम्रै पहलमा व्यवसायीलाई सबै सहयोग उपलब्ध गराएर सेवा सञ्चालन गरायौं । त्यसको पुरस्कार मूल्य बढाएर दिए,’ उनले भने, ‘व्यवसायीले यस्तो समयमा मूल्य बढाए कि, दाना र चल्लाको मूल्य घटेको छ । मासुको मूल्य घट्नुपर्नेमा उल्टो बढाइयो ।’
निर्देशनालयका अधिकृत भरतमणी बरालको संयोजकत्वमा मासुको मूल्य समायोजन सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिमा खाद्य प्रविधि तथा डिभिजन कार्यालय पोखराका प्रमुख प्रशान्त पोखरेल, जिल्ला पशु विज्ञ केन्द्र कास्कीका प्रमुख डा. शोभा शर्मा, जिल्ला प्रशासन कार्यालय कास्की, मासु व्यवसायी संघ कास्की, कुखुरा पालक किसान संघ कास्कीलगायत संघसंस्थाका प्रतिनिधि सदस्य छन् । सहमतिमै समितिले सिफारिस गरेअनुसार नयाँ मूल्य तय भएको हो । अनुगमनमा निर्देशनालय, जिल्ला प्रशासन, प्रहरी, खाद्य प्रविधि तथा डिभिजन कार्यालय, जिल्ला पशु कार्यालयका प्रतिनिधि सामेल थिए ।
![](https://www.samadhannews.com/wp-content/uploads/2020/06/Anugaman-pic-3.jpg)
तपाईको प्रतिक्रिया