निष्पक्ष काम गर्छुः कास्की प्रहरी प्रमुख श्रेष्ठ
समाधान संवाददाता, पोखरा
हालै सरुवा भई कास्की प्रहरी प्रमुखको जिम्मेवारीमा आएका एसपी जीवनकुमार श्रेष्ठले निष्पक्ष सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कास्कीका पत्रकारहरुसँग आयोजित भर्चुअल परिचयात्मक कार्यक्रममा एसपी श्रेष्ठले जिल्लाको शान्ति सुरक्षा चुस्त दुरुस्त राख्न प्राथमिकतामा राखेका विविध विषयबारे जानकारी दिए ।
‘जिल्लामा भरपर्दो शान्ति पुरक्षाको व्यवस्थापनका लागि उपलब्ध स्रोत साधनको उच्चतम परिचालन गरिनेछ,’ उनले भने, ‘कानुन विपरितका कार्य गर्ने उपर कठोरतापूर्वक कारवाही हुनेछ ।’
व्यवसायिक तथा प्रमाणमुखी अपराध अनुसन्धान र नियन्त्रणका लागि प्रविधिको प्रयोग बढाइने उनले सुनाए । लागूऔषध, चोरी, जुवातास, गुण्डागर्दी लगायतका आर्थिक अपराध नियन्त्रणमा सक्रियता रहने एसपी श्रेष्ठको भनाई छ ।
‘महिला बालबालिका तथा जेष्ठ नागरिकहरुको समस्याप्रति संवेदनशील भई सुनुवाई हुनेछ,’ उनले भने, ‘पेन्डिङ्ग मुद्दाहरुको अनुसन्धानलाई साथै निरन्तरता दिइनेछ ।’
पोखरा महानगरको ट्राफिक व्यवस्थापनका लागि समेत सिर्जनशीलता अपनाइने नवआगन्तुक एसपी श्रेष्ठले सुनाए । मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा जोड दिइने उनको प्रतिबद्धता छ ।
विकास निर्माण र व्यापार व्यवसायको प्रवर्दनको लागि भय रहित सुरक्षित वातावरणको सिर्जना, सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनिकरणका लागी जनशक्ती परिचालन, प्राकृतिक श्रोत साधनको संरक्षणको लागि सम्बद्ध निकायहरुसँग समन्वय, कोरोना महामारी संक्रमण रोकथाम तथा नियन्त्रण लगायत विपद व्यवस्थापनमा प्रभावकारी जनशक्ति परिचालन तथा लकडाउन कार्यान्वयनलाई प्राथमिकता साथ लिइएको उनले बताए ।
प्रहरीको सेवालाई मर्यादित बनाउन कर्मचारीको बोली, व्यवहार, व्यवसायिकता र निष्ठा कायम राखिने एसपी श्रेष्ठको भनाई छ । पर्यटकीय नगरी पोखरामा पर्यटनमैत्री वातावरण बनाउन विभिन्न निकायसँग समन्वयात्मक भूमिका निर्वाह गरिने उनले सुनाए । प्रचलित ऐन, कानुन, प्रहरी ऐन तथा नियमावलीको अधिनमा रही संघीय प्रदेश तथा तालुक कार्यालयको नीति अनुरुप काम गर्ने एसपी श्रेष्ठले बताए ।
तपाईको प्रतिक्रिया