स्वास्थ्य निर्देशनालयको विज्ञप्तिमा त्रुटि : पोखरामा ७ होइन ६ जनामात्रै संक्रमित

समाधान संवाददाता २०७७ असार १६ गते ११:५३

समाधान संवाददाता

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले संक्रमितको ठेगाना नै उल्टो हालेर विज्ञप्ति जारी गरेको पाइएको छ । निर्देशनालयले कास्कीको माछापुच्छ्रे गाउँपालिकाका पुरुषलाई पोखरा महानगरको देखाएको छ ।

निर्देशनालयले पोखरामा ७ जनामा कोरोना पुष्टि भएको बताए पनि पोखरा महानगरले ६ जनामा कोरोना देखिएको जनाएको छ ।

Advertisement

निर्देशनालयले जारी गरेको विज्ञप्तिमा पोखराका ६ पुरुष र १ महिलामा कोरोना देखिएको उल्लेख छ । तर स्वास्थ्य अधिकृत हरिलाल आचार्यले ३६ वर्षे पुरुष कास्कीको माछापुच्छ्रे गाउँपालिकाको रहेको बताए ।

उनका अनुसार निर्देशनालयको विज्ञप्तिमा महिला भनिएका २७ वर्षे संक्रमित पुरुष हुन् ।

Advertisement

‘विज्ञप्तिमा ३६ वर्षको पुरुष पोखराको भन्ने आएको छ । तर उहाँ पोखराको नभई माछापुच्छ्रे गाउँपालिकाको हुनुहुँदो रहेछ,’ आचार्यले भने ।

पोखराका बाँकी ६ संक्रमितमध्ये ४ जना साउदी अरब, १ जना कुवेत र १ जना युएईबाट आएका हुन् । संक्रमित ६ जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा लगिएको छ । संक्रमित ६ जना वडा नम्बर १७, १३, २१, २७, १२ र ३ का हुन् ।

महानगरले संक्रमित पोखराको नभएको बताइरहँदा निर्देशनालयले आफ्नो विज्ञप्तिमा कुनै त्रुटि नरहेको जनाएको छ ।

‘माछापुच्छ्रेका पुरुषको स्वाब पोखरामै संकलन भएकाले यतै देखाइएको हो । मिस्टेक भएको होइन,’ निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले भने । महिला भनिएका २७ वर्षे संक्रमित पुरुष रहेको बारेमा आफूलाई केही जानकारी नभएको उनले बताए ।

संक्रमित पोखराका होइनन् : गाउँपालिका

पोखराका भनिएका पुरुष आफ्नै पालिकाको रहेको माछापुच्छ्रे गाउँपालिकाले पुष्टि गरेको छ । संक्रमितको नाम, ठेगाना, वर्ष सबै पालिकाबाटै पठाएको स्वाबसँग मिलेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले बताए ।

उनले भने, ‘पोखरा १० को भनिएका पुरुष त्यहाँका होइनन्, नाम, उमेर, ठेगाना सबै हामीसँगै मिल्छ । तर मलाई आधिकारीक जानकारी कतैबाट आएको छैन ।’

संक्रमित पुरुषको स्वाब असार १३ गते गाउँपालिकामै संकलन गरेर परीक्षणका लागि पोखरा पठाएको स्वास्थ्य संयोजक आचार्यले बताए ।

तपाईको प्रतिक्रिया