सांसद राजीव पहारीको अभिव्यक्तिप्रति संसदमै आपत्ति
समाधान संवाददाता
पोखरा
गण्डकी प्रदेश सभाको बैठकका शून्य र विशेष समयमा महिला सांसदले क्वारेन्टाइनमा महिलाहरु बलात्कृत भएको, औषधी खरिदमा भ्रष्टाचार भएको प्रश्न उठाए । त्यसको उत्तरमा सत्ता पक्षका सांसद राजीव पहारीले असार ५ गतेको बैठकमा कवितामात्र सुनाएनन् कि प्रदेशभन्दा बाहिरका प्रसंग उठाएको भन्दै कटाक्ष नै गरे । उनले भनेका थिए, ‘गण्डकी प्रदेशमा कहाँ कुन क्वारेन्टाइनमा महिला बलात्कृत भए, को भोकभोकै परे र कसले पिसिआर परीक्षण गर्न पाएनन् ।’
नेपालकै भूमिभित्र भएको घटनाका बारेमा प्रदेश सभाको बैठकमा उठाएको विषयलाई सांसदले हलुका रुपमा लिएको र अमर्यादित र अशिष्ट भाषा बोलेको भन्दै संसदको रेकर्डबाट हटाउन महिला सांसदले माग गरेका छन् ।
मंगलबारको बैठकमा सांसदहरु कांग्रेसकी ओमकला गौतम, राष्ट्रिय जनमोर्चाकी पियारी थापा र जनता समाजवादीकी धनमाया लामा पोखरेलले सांसद पहारीको अभिव्यक्ति संसदका लागि सुहाउँदो नभएको बताए ।
सांसद थापाले भनिन्, ‘हामी माननीयले आफै समस्या उठाउने, आफै मन्त्रीको प्रवक्ता बन्ने प्रवृत्ति अन्त्य गरिनुपर्छ ।’ पिसिआर टेस्ट भएन, क्वारेन्टिन सुरक्षित भएनन्, महिला बलात्कृत हुनुप¥यो भनेर उठान गर्दा त्यसको जवाफ सांसदले दिने भए मन्त्री औचित्य नै के रह्यो र भन्ने प्रश्न उनले गरिन् ।
विवादास्पद भनाइ रेकर्डबाटै हटाउन माग
जनता समाजवादीकी सांसद धनमाया लामा पोखरेलले माननीय राजीव पहारीले हाम्रो प्रदेशमा भ्रष्टाचार भएको होइन, सामूहिक बलात्कार हाम्रो प्रदेशमा भएको होइन भनेर दिएको अभिव्यक्तिले प्रदेशकै गौरवमा आँच आएको भनाइ राखिन् । उनले भनिन्, ‘माननीयज्यूले उक्त अभिव्यक्ति रोस्टममा आएर सच्याउन म माग गर्छु ।’
कांग्रेस सांसद गौतमले त यस्तो अभिव्यक्ति संसदको रेकर्डबाटै हटाउन माग गरिन् । उनले भनिन्, ‘मानव सभ्यता नै लज्जित हुने त्यस्तो अभिव्यक्ति संसदको रेकर्डमै रहनु महिलालाई दोस्रो दर्जाको नागरिक ठान्ने निन्दनीय कार्यमा सभाको मौन समर्थनको रुपमा व्याख्या हुनेप्रति सजग हुन माननीय सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु ।’
गण्डकी प्रदेशमा बलात्कारको घटना नघटेको हुँदा महिला अस्मिताको रक्षा गर्न उठेको आजावलाई उपहास गर्ने खालको अभिव्यक्ति दिएको देख्दा प्रदेश सभा मात्र हैन समग्र प्रदेश नै सर्मनाक भएको उनले बताइन् ।
उनले भनिन्, युरोपको माक्र्सको कुरा गर्न हुने, चीनको माओको कुरा पनि गर्ने, भारतका गान्धी र नेहरुको कुरा पनि गर्न मिल्ने, चन्द्रमा मंगल उपग्रहको कुरा गर्दा पनि आपत्ति नहुने, अन्तरिक्ष मानव एलियनको पीडाबारे पनि बोल्न सकिने । वातावरण, प्रकृति वनजंगल जनावारको बारेमा बोल्दा पनि सान्दर्भिक हुने । तर, अस्मिता गुमाएकी नेपाली चेलीको बारेमा बोल्न नपाइने ? कस्तो मनोविज्ञान हो ?’
सामाजिक विकास मन्त्रालयले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालनका लागि २० लाख र किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी तालिमका लागि १५ लाख विनियोजन गरेको भन्दै सांसद गौतमले सभामा अभिव्यक्त केही विचार सुन्दा लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान प्रदेश सभाबाटै सुरु गर्नुपर्ने देखिएको भनाइ राखिन् ।
उनले भनिन्, ‘किशोरीलाई जस्तै आत्मरक्षा तालिम प्रदेश सभाका हामी माननीयलाई पनि चाहिएको छ । नारी अस्मिता, सम्मानको रोस्टमबाटै खिल्ली उडाउने माननीयबाट नारी प्रतिष्ठाको रक्षा गर्न ।’
प्रदेश सभामा त्यस्तो संवेदनाशून्य अमानवीय अभिव्यक्ति रोष्टमबाटै प्रस्तुत भइरहँदा नारीमाथि कुत्सित शब्द र भावले आक्रमण गरिरहँदा नियमापत्ति गरी सदनलाई पापमय बनाउनबाट रोक्न नसक्नुको अपराधबोध स्वयंलाई भएको सांसद गौतमले बताइन् ।
बलात्कार जहाँ भए पनि, जसमाथि भए पनि हाम्रो प्रदेशको विषयवस्तु बन्न सक्छ, बन्नुपर्ने भन्दै उनले आफ्नै छोरी, बुहारीमाथि घटना भएमात्र महसुस हुने तर अन्य दिदीबहिनीको अस्मिता लुटिएको पीडामा मनोरञ्जनात्मक भावभंगीमा व्यक्त गरेर कुत्सित शब्दवाण चलाउने कार्यको जति निन्दा गरे पनि कम हुने भनाइ राखिन् । उनले भनिन्, ‘हाम्रा लागि सांसद हुनुको गौरवभन्दा नारी भएकोमा अभिमान छ । लोगो फुकालेर तत्क्षण कडा कदम चाल्न हामीलाई बाध्य नपारियोस् ।’
सांसदले सोधेका प्रश्नको जवाफ मन्त्री र मुख्यमन्त्रीले दिने संसदीय मान्यता रहे पनि पहारी जहिल्यै अघि सरेर उत्तर दिने गरेकोमा महिला सांसदले दुख मनाउन गरे । सांसद गौतमले संसद नियमावली अनुसार चल्ने र यसको विशेष प्रकारको गरिमा हुने भन्दै चौतारी र पँधरामाजस्तै बहस संसदमा हुन नसक्ने बताइन् । उनले भनिन्, ‘यस्तो किसिमको गतिविधि नियमित भइरहँदा बरु एउटा बिना विभागीय उत्तरमन्त्री नियुक्त गरेर नियमावलीमा समेत संशोधन गरी यो क्रियाकलापलाई संसदीय बनाउन सभामुखमार्फत आग्रह गर्न चाहान्छु ।’
तपाईको प्रतिक्रिया