यातायात व्यवसायीले बैंकलाई भने, पैसा छैन गाडीको चाबी दिन्छौं

समाधान संवाददाता २०७७ असार १७ गते १६:४८

समाधान संवाददाता,  पोखरा

जारी लकडाउनका कारण सार्वजनिक यातायात चैत ११ गतेदेखि ठप्प छन् । अधिकांश सवारीमा झार उम्रिए । तिनै गाडी गुडाउन मर्मत नगरी सम्भव छैन । मर्मत गर्नै लाखौं रुपैयाँ लाग्छ । बैंक वित्तीय संस्थाबाट ऋण लिएर चलाइएका गाडी व्यवसायीलाई नै घाँडो हुन थालेका छन् । मुलुककै अग्रणीमध्येको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीमा आबद्ध व्यवसायीलाई बैंकले तारन्तार फोन गरेर किस्ता माग्न थालेपछि गाडीकै माया मार्नुपर्ने अवस्था आएको छ ।

कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले बुधबार पत्रकार सम्मेलनमार्फत आबद्ध व्यवसायीलाई कागजपत्र संकलन गर्न आह्वान गरेको बताए । आबद्ध १ हजार ४ सय सवारीको कागजपत्र र ताला चाबी असार २१ गतेभित्र कम्पनीमा बुझाउन आह्वान गरिएको अध्यक्ष केसीले जानकारी दिए ।

Advertisement

‘यो समस्या हाम्रो आफ्नो कारणबाट सिर्जित समस्या हैन । यातायात व्यवसायमा करिव ७० प्रतिशत वित्तिय संस्थाको लगानी छ भने ३० प्रतिशत हामी यातायात व्यवसायीको लगानी छ,’ उनले भने, ‘अब हाम्रो लगानी फिर्ता माग्नुपर्ने अवस्था आएको छ ।’

फिर्ताको लागि आवश्यक प्रक्रिया अगाडी बढाइने अध्यक्ष केसीले बताए । बैंक तथा वित्तिय संस्थाहरुले व्यवसायीको किस्ता भुक्तानी गर्ने समयअवधि न्यूनतम ६ महिना थप नगर्ने हो भने कम्पनीमा आबद्ध व्यवसायीहरुलाई सवारी साधनहरुको कागजात र ताला चाबी बुझाउनुको विकल्प नरहेको उनको भनाई छ ।

Advertisement

मानसिक तनाव दिने काम बन्द गर्न बैंकलाई आग्रह

यातायात व्यवसायीलाई जटिल परिस्थितीमा समेत बैंक वित्तीय संस्थाले किस्ता तिर्न गरिरहेको ताकेताले मानसिक तनाव थपेको व्यवसायीले बताएका छन् ।

सरकारले रोक लगाएपछि यातायात सञ्चालन हुन नसकेको अवस्थामा कर्जाको साँवा तथा ब्याज बुझाउन नसकिने उनीहरुको भनाई छ ।

‘सेवा संचालन गर्ने निर्णय भएमा पनि हालसम्म खडा भएका सवारी साधनहरुको ब्याट्री, टायर तथा पार्टपुर्जा लगायत न्यूनतम मर्मतको लागि तत्काल १ लाख रुपैयाँ लगानी गर्नुपर्ने परिस्थिति छ,’ पृथ्वीराजमार्ग बस सञ्चालन कम्पनीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘भएकोले यो रकम समेत जोहो गर्न सकिने अवस्था छैन । बैंक तथा वित्तिय संस्थाले व्यवसायीहरुलाई कर्जा तिर्न बाध्य बनाउने खालका मानसिक तनाव दिने कार्य जारी रहेको अवस्थामा यस्तो कार्यलाई तत्काल बन्द गर्न माग गर्दछौं ।’

कोरोना महामारीका कारण विभिन्न पेशा व्यवसायीमध्ये यातायात व्यवसायी सबैभन्दा बढी समस्याग्रस्त भएको उनीहरुको भनाई छ । कम्पनीले नेपालमा करिब ३ लाख यात्रु बाहक, ६० हजार मालबहाक सवारी साधनमा करिब १२ लाख मानिसले प्रत्यक्ष एवं करिब ४० लाख मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी प्राप्त गरिरहेको दाबी पेस गरेको छ ।

तैपनि यातायात क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेकोमा व्यवसायीको दुखेसो छ । ‘हामीले सरकारलाई किस्ता तिर्न, खाना खानका लागि राहत माग गरेको होइन, यो बेला सरकारसँग राहत माग्ने बेला पनि होइन, सरकारले सबै नागरिक, पेशा व्यवसायीलाई समान दृष्टिकोणबाट हेरियोस् भन्ने मात्र हो,’ विज्ञप्तीमा भनिएको छ ।

तपाईको प्रतिक्रिया