पोखरामा प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन
समाधान संवाददाता, पोखरा
सत्तारुढ दल नेकपाभित्र बढ्दो टकरावका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी भित्रैबाट राजीनामा माग भइरहँदा पोखरामा भने उनलाई हटाउन नहुने माग सहित युवाहरु सडकमा उत्रिएका छन् ।
बिहीबार काठमाडौंको माइतीघर मण्डलामा समेत ओली समर्थित युवा तथा विद्यार्थी संगठनमा आबद्ध नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए । शुक्रबार बिहानै पोखराको मानवअधिकार चोकमा ओली समर्थित प्रदर्शन भयो ।
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नपाइने भन्दै उनीहरूले ‘भारतीय दलाल होसियार’, ‘आज होइन भोलिलाई ५ वर्ष ओलीलाई’, ‘स्थिर सरकार जनताको चाहना’लगायतका नारा लगाए।
झन्डै एक सय जनाको उपस्थिति रहेको प्रदर्शनमा सहभागीहरू बिहानैदेखि पानी परिरहेकाले रेनकोट र छाता ओढेर प्रदर्शनमा सहभागी भए ।
प्रदर्शन लगत्तै कोण सभालाई सम्बोधन गर्दै अपेक्षा अधिकारीले प्रधानमन्त्री ओलीकै कारण देशको स्वाभिमान कायम रहेको बताइन् ।
‘प्रजातन्त्र आएदेखि झुकेको शिर पहिलो पटक देशले उठाएको छ,’ उनले भनिन्, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा र कालापानी नेपालका नक्सामा ओलीले नै ल्याउनुभएको हो।’
भारतले लगाएको नाकाबन्दी परास्त गर्ने नेता ओली भएकाले उनकै नेतृत्वमा सरकार स्थिर रहनुपर्ने बताइन् ।
सहभागीहरुले स्थिर सरकारले मात्र समृद्ध मुलुकको सपना साकार हुने भन्दै सरकार ढाल्ने खेलमा नलाग्न पार्टीका नेताहरुलाई आग्रह सहितका नाराबाजी गरेका थिए ।
तपाईको प्रतिक्रिया