वैकल्पिक कक्षा संञ्चालन गर्ने निर्णय विरुद्ध प्रशासनमा उजुरी

समाधान संवाददाता २०७७ असार १९ गते १५:१५

एसके थकाली, जोमसोम

कोरोना कहरको समयमा स्थानीय तह र विद्यालयले कक्षा संञ्चालन गर्ने निर्णय उपर शुक्रबार जिल्ला प्रशासन कार्यालय मुस्ताङमा उजुरी परेको छ । मुस्ताङको घरपझोङ गाउपालिका ४ स्थित जनहित माध्यमिक विद्यालयका शिक्षक÷अभिभावक संघका अध्यक्ष रहेका भीमबहादुर रसाईलीले प्रजिअ वेदप्रकाश अर्याल समक्ष कक्षा संञ्चालन गर्ने निर्णय विरुद्ध उजुरी दर्ता गराएका हुन् ।

शिक्षक÷अभिभावक संघका अध्यक्षले दर्ता गराएको उजुरीमा स्थानीय तह र विद्यालय व्यवस्थापन समितिले एकलौटी ढंगले अभिभावक संघको सहमती विपरित विद्यालय खोल्ने निर्णय गरेको आरोप लगाइएको छ । सरकारले मुलुकभर विद्यालय खोल्ने निर्णय नगरेको र विभिन्न अनलाईन शिक्षाको माध्यम ,रेडियो र टेलिभिजन कक्षाको माध्यमबाट विद्यार्थीलाई घर बसेर पठन÷पाठन गर्ने निती लिएको अवस्थामा कोरोना भाईरस संक्रमणको उच्च जोखिम निम्त्याउन सक्ने गरी कक्षा संञ्चालन गर्ने निर्णय सरकारी निती विपरित रहेको जनाइएको छ ।

Advertisement

विद्यालयको बिहिबार बसेको आकस्मिक बैठकले कक्षा ५ सम्मको पढाई संञ्चालन गर्ने निर्णय गरेको रसाईलीको उजुरीमा उल्लेख छ । हाल कोरोना कहरले बन्दाबन्दी अवस्थामा रहेको शैक्षिक संस्थामा सूचारु गर्ने निर्णय सरकारको निती विपरित भएको र कक्षा संञ्चालन गर्ने आवश्यक पूर्वाधार समेत नभएको जनाएको छ । उजुरीमा जनहित माविमा करिव अधिकांश वालवालिका जिल्ला बाहिरबाट आएको र कतिपय वालवालिका घर फर्किसकेकाले सीमित विद्यार्थीको हितका लागि गरिएको कक्षा संञ्चालनको निर्णय समग्र विद्यार्थीको शैक्षिक भावना बिपरित भएको उजुरीमा उल्लेख छ । केही स्थानीय शिक्षकको भरमा पुरै विद्यालय खोल्ने निर्णयले जिल्लामा संम्भावित कोरोना भाईरसको जोखिम रहनसक्ने रसाईलीको ठम्याई छ । झन्डै ३ सय अभिभावकका वालवालिका पढ्ने विद्यालयमा ५ प्रतिशत अभिभावकको निर्णय आधारमा कक्षा संञ्चालन गर्नु खोज्नु मूर्खताको काम भएको औल्याएका छन् ।

उजुरी पत्रमा निर्णय गर्दा कानुन कार्यान्वयन गराउने निकाय स्थानीय प्रशासन, जिल्ला सीसीएमसी, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, नागरिक समाज, संघसंस्था लगायतको अनुउपस्थिती बिना हतासमा विद्यालय खोल्ने निर्णयले कोभिड संकट बढ्ने खतरा रहेको स्पष्ट पारिएको छ । उजुरीमा स्थानीय प्रशासनको आदेश बिना र शिक्षा मन्त्रालयको नियम बिपरित हुने यसप्रकार निर्णय मान्य नहुने र उक्त कक्षा संञ्चालनकार्य रोक्न अभिभावक संघका अध्यक्ष रसाईलीले प्रशासन समक्ष अनुरोध गरेका छन् ।
उता जनहित माध्यमिक विद्यालयले असार २१ गते देखि संञ्चालन गर्ने भनिएको विद्यालय वैकल्पिक कक्षा पढाई संञ्चालनको कार्यक्रम हाललाई स्थगित गरेको जनाएको छ । विद्यालयका शिक्षक कर्ण थकालीका अनुसार वैकल्पिक कक्षा पढाई संञ्चालन गर्ने कार्यक्रमको व्यापक बिरोध भएकाले स्थागित गर्नु परेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया