पोखरामा घरमै बसेका पुरुषमा कोरोना
अनुप पौडेल, पोखरा
कुनै ट्राभल हिस्ट्री नभएका पोखराका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । पोखरा–१७ बिरौटाका ५३ वर्षे पुरुषमा शनिबार संक्रमण पुष्टि भएको पोखरा महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ ।
महानगर स्रोतका अनुसार पेसाले अडिटर रहेका ती पुरुषको १७ असारमा स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षणका लागि पठाएपछि पनि उनी घरमै परिवारका सदस्यसँगै बस्दै आएका छन् ।
‘प्रारम्भिक सोधपुछमा ट्राभल हिस्ट्री नभएको भन्ने आएको छ । पोजेटिभ आएको बेला अहिले सबै कुरा सोध्न पनि मिलेन,’ महानगर स्रोतले भन्यो ।
संक्रमित पुरुषलाई आइसोलेसन लैजाने तयारी भइरहेको महानगरले जनाएको छ । संक्रमितलाई आइसोलेसन लगेपछि उनको कन्ट्याक ट्रेसिङ सुरु गरिने स्रोतले बतायो ।
५५ वर्षे पुरुषबाहेक शनिबार अरु ३ पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका पुरुष युएई, साउदी र कुवेतबाट नेपाल आएका हुन् । उनीहरु क्रमशः वडा नम्बर ८, १५ र २९ का हुन् ।
तीनै जना पोखरा–८ सिमलचारैस्थित जनप्रिय माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए । अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८८ पुगेको छ । संक्रमितमध्ये २ सय ९६ जना निको भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।
शनिबार बिहानमात्रै गोरखाको पालुङटार नगरपालिकाका ४४ वर्षे संक्रमित पुरुषको जिल्ला अस्पतालमा मृत्यु भएको छ । लामो समयदेखि सुगरका बिरामी ती पुरुषमा कडा खालको निमोनियाको समस्या समेत देखिएको थियो ।
असार १६ गते कतारबाट आएका उनमा स्वास्थ्य समस्या देखिएपछि जिल्ला अस्पतालको आइसोलेसनमा लगिएको थियो । हिजो अस्पताल लगिएकोमा शनिबार बिहान ५ बजे उनको मृत्यु भएको हो ।
यसअघि स्याङ्जाका ५८ र ५५ वर्षे पुरुषको उपचारका क्रममा पोखरामा मृत्यु भएको थियो ।
तपाईको प्रतिक्रिया