लोघेकरको घिलिङमा धज्याङ र यार्तुङ पर्व

समाधान संवाददाता २०७७ असार २१ गते १०:४५

एसके थकाली
जोमसोम

Advertisement


मुस्ताङ धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताले धनी छ । तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङका विभिन्न गाउँबस्तीमा आआफ्नै धार्मिक तथा सांस्कृतिक महत्वका मौलिक चाडपर्व छन् ।

मुस्ताङको थाक सातसय क्षेत्र र थाक पाँचगाउँमा छरिएर रहेका थकाली समुदायको आफ्नै प्रकारको मौलिक विशेषता छ । उपल्लो मुस्ताङको लोछोदिन तथा बारागुङ क्षेत्रमा बसोबास गर्ने गुरुङ, बिष्ट र लोहा लगायत समुदायको आफ्नै प्रकारको मौलिक सांस्कृतिक विविधताले प्रख्यात छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्रदेखि लोमान्थाङ गाउँपालिकाको उत्तरी कोरला नाकासम्मको ग्रामीण बस्तीमा यार्तुङ, तिजी, धज्याङ आदि पर्व हर्ष उल्लासका साथ मनाइने चलन छ ।

Advertisement

तल्लो मुस्ताङका थकालीले तोरन्ल्ह र तिर्मी र बाह्र वर्षे मेला आदी जस्ता धार्मिक तथा साँस्कृतिक पर्व मनाउँदै आइरहेका छन् । यी सबै जाति, समुदाय तथा भूगोलका आधारमा मनाइने पर्वले यस क्षेत्रको जातीय पहिचान, सांस्कृतिक उत्थान र समुदायबीच आपसको सम्बन्धलाई बलियो आधार बनाउँदै आइरहेको पाइएको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका गाउँमध्ये लोघेकर—३ घिलिङ गाउँ यस्तो गाउँ हो जहाँ धज्याङ पर्व मनाउने चलन छ । त्यसो त बारागुङ मुक्तिक्षेत्रमा पनि यो पर्व मनाउने गरेको पाइएको छ । त्यहा स्थानीयले बर्सेनि लगाइने एक बर्खेबाली उवा र गहुँजस्ता बाली खेतमा रोपेपछि धज्याङ मनाउँछन् । उवा र गहँु थन्क्याउनु अघि परम्परागत यार्तुङ पर्व मनाउने चलन हो । सामान्यतया बर्सेनि वैशाख÷जेठमा खेतमा उवा र गहँु जस्ता बाली लगाउने काम सकिएपछि धज्याङ र साउनको दोस्रो साता उक्त बाली थन्क्याउनुपूर्व यार्तुङ पर्व मनाइन्छ ।

Advertisement

उपल्लो मुस्ताङमा यार्तुङ पर्व गाउँपिच्छे फरक फरक तिथिमा मनाउने गरेको पाइएको छ । लोघेकर— घिलिङ गाउँमा करिब ६४ घरधुरीको गुरुङ समुदायको बस्ती छ । त्यहाँ पौराणिक कालखण्डदेखि निरन्तर मनाइँदै आइरहेको धज्याङ तथा यार्तुङ पर्व विभिन्न कारणवश ४० वर्षअघिदेखि रोकियो । तर, पछिल्लो समय लगातार ३ वर्षदेखि यो पर्वलाई घिलिङका स्थानीयले निरन्तरता दिन थालेको स्थानीय निमा ठिने गुरुङले जानकारी दिए ।

धज्याङ पर्वको शाब्दिक अर्थ हो तारो हान्ने (तारा खेल ) भन्ने गरिन्छ । यार्तुङको अर्थ हो बर्खायामको समाप्ति र हिउँदयामको सुरुआत । स्थानीय निमा ठिने गुरुङ अनुसार पछिल्लो समय परम्परा जोगाउन तथा पर्वको खर्चलाई कम गर्न दुबै पर्व एकैसाथ मनाउन थालिएको हो । दुबै पर्वको बुधबार गाउँपालिकाका वडाध्यक्ष सम्तेनधावा गुरुङले उद्घाटन गरेका थिए ।

पर्वमा गाउँका स्थानीयहरु परम्परागत मौलिक भेषभुषामा सजिएर पर्वमा सरिक भएका छन् । पर्वको बेला खेतीपाती, पशुपालन तथा अन्य व्यापार व्यवसाय लगायत सबै कामहरु थाती राखिने चलन रहेको उनले बताए । धज्याङ पर्वको तारो खेल सुरु हुनु अघि तारो हान्ने फ्रेम (धसा)लाई परम्पराग सांस्कृतिक चलन अनुसार पूजाआजा गरिन्छ । यसपछि मात्र तारो हान्ने खेल आरम्भ गरिन्छ । यस प्रकारको खेल हिमाली क्षेत्रमा परापूर्वकालमा सिकार खेल्ने क्रममा तारो हान्ने चलन थियो । सिकारको रुपमा प्रयोग हँुदै आएको तारो खेल क्रमशः सांस्कृतिक खेलको रुपमा विकसित हुँदै गएको भन्ने कतिपयको भनाइ छ ।

घिलिङस्थित समाजघरमा स्थानीय बुधबारदेखि पर्व जारी छ । बिहानैदेखि सूर्यास्तसम्म धज्याङ तारो हान्ने खेल हुन्छ । त्यसपछि स्थानीयहरुको रमाइलो नाचगान सुरु हुन्छ । समाजघरमै स्थानीयको परम्परागत नाच स्याब्रोदेखि अन्य विविध सांस्कृतिक नृत्य तथा मौलिक स्थानीय गित गायर रमाइलो गर्ने चलन रहेको वडाध्यक्ष सम्तेन धावाले जानकारी दिए ।

पर्वले उपल्लो मुस्ताङको सांस्कृतिक चिनारीलाई जीवन्तता दिँदै आएको वडाध्यक्ष धावाले उल्लेख गरे । पर्वमा ३ दिनसम्म तारो खेल जारी रहन्छ । महिलाहरुले कौडा खेल्छन् र स्वादिष्ट खानाको परिकार बनाउँछन् । घिलिङबासीले चौथो तथा अन्तिम दिन अर्थात पूर्णिमाको दिन धज्याङ पर्व सकेर यार्तुङ पर्व मनाउने गरेका छन् ।

यार्तुङ पर्वमा गाउँका युवायुवती मौलिक जातीय पहिचान झल्किने पोसाक पहिरिएर घोडा दौडमा सरिक हुन्छन् । विशुद्ध रमाइलोका लागि आयोजना हुने घोडादौडले हिमाली क्षेत्रको साँस्कृतिक महत्वलाई उजागर गर्दै आइरहेको वडाध्यक्ष धावाको भनाइ छ । घिलिङमा आइतबार परम्परागत यार्तुङ पर्वको उपलक्ष्यमा घोडा दौड हुने भएको छ ।

यसपछि यार्तुङ पर्व विर्सजन गरी सोही वडाको धार्मिक स्थल चुङ्सी गुफामा गएर पूजाआजा र बत्ती बालेर गाउँ फर्कन्छन् । चुङ्सी गुफा लोघेकर दामोदरकुण्ड गाउँपालिकाको महत्वपूर्व धार्मिक पर्यटकीय गन्तव्य पनि हो । यहाँ ८ औं शताब्दिताका भारतबाट मुस्ताङ हुँदै तिब्बत हिँडेका बौद्ध गुरु पद्मसम्भव यही गुफामा ध्यान गरी बसेको भन्ने भनाइ छ । त्यहा गुरु पद्यसंम्भवको ऐतिहासिक किंवदन्ती समेत रहेको जनाइएको छ ।
…..
मुस्ताङको लोघेकर दामोदरकुण्ड—३ घिलिङमा स्थानीयबासी धज्याङ पर्व मनाउँदै । तस्बिर : निमा विवश ।

तपाईको प्रतिक्रिया