स्याङ्जाका दोस्रो मृतकको सम्पर्कका सबैको रिपोर्ट नेगेटिभ
समाधान संवाददाता, पोखरा
पोखरामा मृत्यु भएका स्याङ्जाका ५५ वर्षे कोरोना संक्रमित पुरुषको सम्पर्कका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
मृतकको सम्पर्कमा आएका ६७ जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।
अर्जुनचौपारी गाउँपालिका घर भइ आँधीखोला बस्दै आएका मृतक पुरुष गाउँमा श्राद्ध र भोजमा सहभागी भएका थिए । त्यसैले उनको सम्पर्कमा आउनेमा गाउँका स्थानीय र परिवारका सदस्य छन् ।
उपचारका लागि गत ८ असारमा पोखरा आएका सिरुवारीका पुरुषको १० असारमा मृत्यु भएको थियो । स्थानीयको विरोधका बीच मृतकको पोखरा–३२ मजुवामा व्यवस्थापन गरिएको थियो ।
उनी कोरोनाबाट मृत्यु भएका स्याङ्जाका दोस्रो व्यक्ति हुन् ।
डाइबेटिज र निमोनियाबाट ग्रस्त ती पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि पोखरा ल्याएर भेन्टिलेटरमा राखिएको थियो । गण्डकी प्रदेशमा हालसम्म १ हजार ९१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
तीमध्ये २ सय ९६ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
तपाईको प्रतिक्रिया