जोमसोम बजार जोगाउन कालिगण्डकी नदीमा तटबन्ध

समाधान संवाददाता २०७७ असार २२ गते ९:१२

एसके थकाली, जोमसोम

Advertisement

मुस्ताङको महत्वपूर्ण पर्यटकीय ट्रान्जिट प्वाइन्ट जोमसोम बजारको शीरमा बृहत कालिगण्डकी नदी नियन्त्रण गर्न तटबन्ध बन्ने भएको छ । संघीय सरकार अन्तर्गतको राष्ट्रिय योजना आयोगले कालिगण्डकी नदीमा बृहत तटबन्ध निर्माण सुरु गरेको हो ।

आयोगको बहुवर्षीय नदी नियन्त्रण तटबन्ध आयोजना निर्माणको जिम्मा एपेक्स÷अमित जेभीले लिएको हो । तटबन्धको कुल बजेट ९ करोड ५१ लख ३२ हजार भएपनि ठेक्का टेन्डर सम्झौता ९ लाख घटेर कुल ४२ लाख ८६ हजारमा भएको हो । तटबन्ध निर्माणको सम्झौता अवधि १५ महिना छ ।

Advertisement

कालिगण्डकी नदीको वारीपारी दुवै बजारक्षेत्रलाई जोड्ने जोमसोम मोटरेबल पुलदेखि माथि उत्तरतर्फको दुबै भागमा तटबन्ध निर्माण हुने घरपझोङ गाउँपालिकाले जनाएको छ । बजारक्षेत्र जोड्ने उक्त पुल भारतीय राजदुतावासले निर्माण गरेको हो ।

वर्षेनी हुने नदी कटानलाई न्यूनिकरण गर्न पश्चिमतर्फको सशस्त्र प्रहरी बल नेपालको ३३ नम्बर गुल्मदेखि जोमसोम पक्की पुलसम्मको भागमा १ हजार १ सय ५० मिटर र जोमसोम—कोरला सडकको पूर्वतर्फको भागमा ९ सय मिटर लामो तटबन्ध निर्माण हुने इन्जिनीयर सकलदेव शर्माले जानकारी दिए । उनका अनुसार कालिगण्डकी नदीको दुवै क्षेत्रमा बर्खायामको नदीको उच्चबहाव नियन्त्रण गर्नसक्ने २९ वटा स्पर ग्याबिन वाल राखिने छ ।

Advertisement

नदी नियन्त्रणका लागि निर्माण हुने स्पर ९/९ मिटर क्षेत्रफलको फरकमा दुवैतर्फ २९ वटा हुनेछ । स्परको डिपिसी क्षेत्रफल ७५ सेन्टिमिटरको हुने ईन्जिनीयर शर्माले बताए । उनका अनुसार कालिगण्डकी छेक्न निर्माण गरिने सबै स्परको दुरी करिव ४१ मिटरको फरकमा हुनेछ ।

निर्माणधिन तटबन्धको मुख्य फ्रन्ट भागको दुवैतर्फ २०/२० मिटरको आरसीसी पक्की रिटेयरिङ वाल निर्माण गरिने छ । अन्य भागमा पुलको डिजाईन अनुसार थप ३ सय मिटरको आरसीसी वाल निर्माण हुने ईन्जिनीयर शर्माले जानकारी दिए ।

जोमसोम बजारक्षेत्र माथि ठूलो क्षेत्रफलमा कालिगण्डकी नदी फैलिएकाले जोमसोम बजार सुरक्षित रहँदै आएको छ । तर नदीले वर्षेनी दिशा परिवर्तन गरिरहने भएकाले जोमसोम बजार क्षेत्र उच्चजोखिममा रहेको मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचन बताउँछन् ।

बृहत तटबन्ध निर्माणपछि जोमसोम बजार क्षेत्रसहित सरकारी स्वामित्वमा रहेका सयौं रोपनि जग्गा संरक्षण हुने सांसद तुलाचनको भनाइ छ ।

यसअघि जोमसोम बजार जोगाउन जलउत्पन्न प्रकोप नियन्त्रण तथा सिँचाई सब डिभिजन कार्यालय स्थानीय तह र कालिगण्डकी करिडोर सडक लगायतले जोमसोम मोटरेबल तलको आवश्यक पर्ने स्थानमा तटबन्ध निर्माण गर्र्दै आइरहेका छन् ।

घरपझोङ गाउँपालिकाको ३ र ४ वडामा विभिन्न पर्यटक लक्षित होटल, कार्यालय, सुरक्षा निकायको क्याम्प, एअरपोर्ट, बैंक तथा वित्तिय संस्था, शैक्षिक संस्था आदी छन् ।

तपाईको प्रतिक्रिया