कुवेतबाट १८ दिनअघि आएकी थिइन् संक्रमित पोखराकी १ महिला
समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको पोखराकी ५१ वर्षीया १ महिला १८ दिनअघि कुवेतबाट आएको खुलेको छ । उनी महानगरले बनाएको क्वारेन्टिन पद्म नर्सिङ होममा बसिरहेकी छन् । उनी पोखरा वडा नम्बर ४ की बासिन्दा रहेको महानगर स्रोतले बतायो ।
असार १७ गतेमात्र उनको स्वाब संकलन भएको महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
संक्रमितको स्वास्थ्य सामान्य रहेको र थप उपचारका लागि पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे आइसोलेसनमा लैजाने तयारी भइरहेको महाशाखा प्रमुख शर्माले जानकारी दिए ।
१२ दिन पहिले कुवेतबाट आएका सोही क्वारेन्टिनमा बस्ने २ महिलामा पनि आइतबार संक्रमण पुष्टि भएको थियो । उनीहरु पोखरा १७ र ३३ वडाका हुन् ।
स्वास्थ्य निर्देशनालयले सोमबार दिउँसो गरेको अपडेट अनुसार गण्डकीमा थप १७ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरेको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणमा गण्डकीमा १७ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।
प्रतिष्ठानमा भएको परीक्षणमा लमजुङका स्थानीय तह बेसीसहरमा ३, सुन्दरबजारमा ३ राइनासमा १, क्होलासोथरमा २, दोर्दीमा २, मध्यनेपालमा १ जना गरी ११ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्रमा भएको परीक्षणमा ढोरपाटनकी २१ वर्षीय १ जना महिला र बडीगाड र काठेखोलाका २÷२ पुरुषमा गरी ५ जनामा संक्रमण पुष्टि भएको निर्देशक शर्माले जानकारी दिए ।
योसँगै प्रदेशभर संक्रमितको संख्या १ हजार १ सय १३ जना पुगेको छ । २ सय ९७ जना निको भएर घर फर्किएका छन् । प्रदेशमा ४ जना कोरोनाबाट मृत्यु भएको निर्देशनालयको अभिलेख छ ।
तपाईको प्रतिक्रिया