यातायात व्यवसायीले गरे बैंकसामु आत्मसमर्पण, बुझाए गाडीको चाबी

समाधान संवाददाता २०७७ असार २२ गते १९:५९

ईश्वर देवकोटा, पोखरा

Advertisement

बैंकले तारन्तार कर्जा किस्ता बुझाउन ताकेता गरेर तनाव झेलिरहेका यातायात व्यवसायी अन्ततः बैंकसामु चाबी बुझाएर आत्मसमर्पण गर्न बाध्य भएका छन् ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीमा आबद्ध ९० व्यवसायीले विभिन्न बैंकलाई किस्ताको साटो गाडीको साँचो नै सुम्पिएका हुन् । यातायात व्यवसायीले कम्तिमा ६ महिना कर्जा सार्न गरेको आग्रहलाई नसुनेकाले बैंकको नासो बैंकलाई नै सुम्पिएको व्यवसायीको भनाई छ ।

Advertisement

कोरोना महामारीका कारण चैत ११ देखि ठप्प सेवा सञ्चालन नहुँदै पुरै किस्ता तिर्न बैंकले ताकेता गरेका कारण गाडीको चाबी बुझाएको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए ।

एनएमबी बैंकमा ३०, गरिमा विकास बैंकमा १७, प्राइम बैंकमा १८ र मुक्तिनाथ विकास बैंकमा २५ वटा चाबी बुझाएको अध्यक्ष केसीले बताए । ‘सुरुमा लिन अप्ठेरो मान्दै थिए । पछि तपाईंहरुको धितो लिनुस् भनेपछि लिनुभयो,’ उनले भने, ‘बुधबारसम्ममा थप २ सय वटा गाडीको चाबी बुझाउँछौं ।’

Advertisement

गाडीको चाबी यथार्थमै बुझाएकाले केटाकेटीको खेल नसम्झन उनको आग्रह छ । सोमबार बैंकलाई बुझाएका गाडीहरुमा लगानी झन्डै २५ देखि ३० करोडको लगानी भइसकेको अध्यक्ष केसीले सुनाए । राज्य र राष्ट्र बैंक गम्भीर नहुने हो भने समग्र अर्थतन्त्र नै धरासयी हुने उनले बताए । ‘कम्पनीमा आबद्ध १ हजार ४ सय गाडीलाई ३० लाखको रेसियोमा राख्दा पनि ५ अर्ब ८० करोड लगानी डुब्ने निश्चित छ,’ उनले भने ।

बैंक वित्तीय संस्था डुब्नेदेखि ठूलो संख्यामा रोजगारी गुम्ने खतरा देखिएको अध्यक्ष केसीले बताए । उनले भने, ‘ब्याज घटाउने हाम्रो माग होइन । राहत पनि मागेका छैनौं । खान पाएको छैन भनेका छैनौं । तर यो असारमा कर्जा तिर भनेर व्यवसायीलाई मानसिक दबाब दिइरहँदा आत्महत्यासम्मबाट जोगाउन पर्ने देखिएको छ । भोलि त्यस्तो भएमा बैंक विरुद्ध दुरुत्साहनको मुद्दा चलाउँछौं ।’

ल्याप्चे लगाएर लिएको ऋण लिएकोले तिर्न नचाहेको नभई न्यूनतम ६ महिना कर्जा सारेर स्थिती सहज बनाइदिन गरेको आग्रहलाई राज्य र निकायले नसुनेकोमा उनको गुनासो छ ।

गरिमा विकास बैंकका सिइओ गोविन्द ढकालले व्यवसायीको माग जायज भएको बताए । ‘उहाँहरुका माग जायज छन् । आम्दानी नभएरै कर्जा सार्न माग गर्नुभएको हो,’ उनले भने, ‘हामीले गर्न सक्ने छुट गरिसक्यौं । अब समस्या समाधान सरकारले गर्नुपर्छ । हामीले सक्दैनौं ।’ बैंकले ऋणीहरुलाई १ महिनाको ब्याज छुट दिने घोषणा गरिसकेको छ ।

तस्बिर कृष्ण दवाडी

तपाईको प्रतिक्रिया