रोकियो तिलिचो सडक र घरपझोङ रिङरोड विस्तार
एसके थकाली
जोमसोम
तिलिचो ताल जोड्ने सडक र घरपझोङ गाउँपालिका रिङरोड सडकको चालु वर्ष विनियोजित ३ करोड ७८ लाख बजेट फिर्ता भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका अनुसार कोरोना भाइरस रोग (कोभिड १९)ले निम्त्याएको बन्दाबन्दी लगायत कारण उक्त सडकको काम हुन नसकेको हो ।
कोरोना कहर साम्य भएपछि दुबै सडक विस्तारको कामलाई प्राथमिकता दिइने
सडकको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) तथा प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइइई) समेत नभएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख ओमराज ढुंगानाले बताए ।
गण्डकी प्रदेशको बहुवर्षीय गौरवको आयोजना अन्तर्गत घरपझोङ—५ ठिनी, नमखुलेक हुँदै तिलिचो आधार शिविर जोड्ने सडकको ६५ लाख र जोमसोम, ठिनी, ढुम्बाताल, मार्फा, छैरो र चिमाङ लगायत गाउँ जोड्ने रिङरोडको ३ करोड १४ लाख बजेट फ्रिज भएको कार्यालय प्रमुख ढुंगानाले जानकारी दिए । चालु आर्थिक वर्ष ०७६÷०७७ का लागि विनियोजित तिलिचो आधार शिविर सडकको पूरै ६५ लाख बजेट फिर्ता भएको हो ।
घरपझोङ रिङरोडको विनियोजित ५ करोड बजेटमध्ये ३ करोड १४ लाख फिर्ता भएको छ । रिङरोडको चालु वर्ष १ करोड ८६ लाखको मात्र काम भएको कार्यालय प्रमुख ढुंगानाले बताए ।
अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना (एक्याप) जोमसोमको संरक्षित क्षेत्रमा पर्ने दुबै सडकको प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइइई) र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) मापदण्ड पूरा नभएकाले पनि सडक निर्माणमा समस्या देखिएको हो ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले दुबै सडकको नेपाल सरकार वन तथा वातावरण मन्त्रालय मातहतको वातावरण विभागमा इआइए मापदण्ड पूरा गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । कार्यालयले आइइई तथा इआइए र सडक विस्तारको कामलाई सँगै अघि बढाउने जनाएको थियो ।
सरकारले कोभिड—१९ को संक्रमणकालीन अवस्थामा पनि पूर्वाधार विकासको कामलाई अघि बढाउने जनाएको छ । स्थानीय प्रशासनले पनि कोभिड १९ रोकथामका लागि विभिन्न सर्त पालना गरी विकासको काम गर्न निर्माण व्यवसायीलाई आह्वान गरेको थियो ।
स्थानीय प्रशासन, पालिका, वडा र निर्माण व्यवसायीबीच विकासको काम अघि बढाउन छलफल भएपनि बन्दीबन्दीको अवस्थामा स्थानीयले विकासको काम अघि बढाउन नदिने जनाएपछि सडक विस्तारको काम रोकिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । कार्यालय प्रमुख ढुंगानाले गण्डकी प्रदेशको संसदबाट वातावरण सम्बन्धी विधेयक पारित भएकाले इआइएकै कारण सडकको काम अघि बढाउन समस्या नपर्ने र प्रदेशबाटै इआइए स्वीकृत गर्ने स्पष्ट पारे । उनले कोरोना कहर साम्य भएपछि दुबै सडक विस्तारको कामलाई प्राथमिकता दिइने उल्लेख गरे ।
तिलिचो सडक विस्तारमा विवाद उत्पन्न भएको थियो । मनाङको ङिस्याङ गाउँपालिकाले मुस्ताङतर्फको संरक्षित क्षेत्रमा अन्धाधुन्द सडक विस्तार गरेको र त्यसले वातावरणलाई दुरगामी प्रभाव पार्नसक्ने भन्दै सडक विस्तारको काम रोक्न एक्याप जोमसोममा उजुरी दर्ता गराएको थियो । मनाङले उक्त स्थानमा सडक बाटो नभई पदमार्गकै रुपमा रहनुपर्ने अडान लिएको छ ।
यसअघि साविक जिल्ला विकास कार्यालयले उक्त बाटो खन्न पहल गरेको थियो । त्यस समय ठिनीदेखि माथि करिब २ किमी सडक बिस्तार भएको थियो । मुस्ताङको ठिनी हुँदै तिलिचो आधार शिविर जोड्ने सडक तिलिचो पदमार्ग सडक हो । घरपझोङ रिङरोड सडक राउन्ड अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत पर्ने एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहाले जानकारी दिए ।
घरपझोङ रिङरोडका लागि २१ करोड ४३ लाख १३ हजार लागत अनुमान गरिएको छ । थाक ५ गाउँ जोड्ने उक्त रिङरोड सडकको काम बन्दना भगवती, जलजला जेभीले जिम्मा लिएको थियो । रिङरोडको जोमसोमदेखि ढुम्बाताल सडकको स्तरोन्नति, सडक चौडा तथा ढुम्बासम्म ५ किमी कालापत्रे गर्ने योजना छ । आर्थिक वर्ष ०७८ साल असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य भए पनि रिङरोडको २० प्रतिशत सम्पन्न भएको छ ।
तपाईको प्रतिक्रिया