छन्त्यालकाे ठाउँमा गुल्मीकी ज्वारचनलाई सांसद बनाइने
पाेखरा
नेपाली कांग्रेसले समानुपातिकतर्फ रिक्त प्रतिनिधिसभा सदस्य पदमा सुवर्ण ज्वारचनलाई पठाउने निर्णय गरेको छ ।
गुल्मी निवासी ज्वारचन पुष्पकमल दाहाल नेतृत्वकाे सरकारमा कांग्रेसको तर्फबाट सहरी विकास राज्यमन्त्री थिइन्।
सोमबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले रिक्त पदमा ज्वारचनलाई पठाउने निर्णय गरेको हो । समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको गत बुधबार निधन भएपछि उनको ठाउँ रिक्त थियो ।
कांग्रेस नेता गोपालमान श्रेष्ठले समानुपातिकतर्फ रिक्त सदस्य पदमा ज्वारचनलाई पठाउने निर्णय भएको बताए । उनले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको महिला (जनजाति) सूचीमा छन्त्यालपछि ज्वारचनको नाम रहेकाले उनलाई नै सो पदमा पठाइने निर्णय भएको जानकारी दिएका हुन् ।
‘समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको गत बुधबार निधन भएपछि उनको स्थान रिक्त थियो, सो पदमा ज्वारचनलाई पठाउने बैठकको निर्णय होे, रोलक्रममा उहाँकै नाम भएकाले निर्णय गरियो,’ नेता श्रेष्ठले भने ।
प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावलीअनुसार कुनै सांसदको निधन भए बन्दसूचीमा रहेको व्यक्ति नै सांसद हुन्छन् । सांसद निधन भएको जानकारी संघीय संसद् सचिवालयले आयोगलाई दिएपछि सोहीअनुसार निर्वाचन आयोगले पत्र पठाएको थियो ।
सांसदको निधन भएकोबारे कांग्रेसले पनि आयोगलाई जानकारी गराएको थियो । ज्वारचन २०३६ सालको जनमत संग्रह, सत्याग्रह र जनआन्दोलनमा सक्रियतापूर्वक भाग लिँदै कांग्रेसमा सक्रिय राजनीतिमा रहँदै आएकी छन् ।
तपाईको प्रतिक्रिया