भारतको पक्ष लिने सरिता गिरी सांसद र पार्टीबाट निस्कासित
समाधान संवाददाता
समाजवादी पार्टी नेपालले भारतको पक्षमा संसद मै वकालत गर्ने पार्टी निर्णय अवज्ञा गर्दै संविधान संशोधनको पक्षमा मतदान नगर्ने सांसद सरिता गिरीलाई प्रतिनिधि सभाको सदस्य र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ।
मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।
लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा संविधानमा राख्ने संविधान संशोधन प्रस्तावमाथि उनले असहमति मात्रै जनाएकी थिइनन्, संसदमा संशोधन प्रस्ताव समेत दर्ता गराएकी थिइन् ।
उनले संविधान संशोधनको पक्षमा मतदान गर्ने पार्टी ह्वीप उल्लंघन गर्दै संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । यही आरोपमा गिरीलाई कारबाहीका लागि पार्टीले बनाएको कार्यदलले सिफारिस गरेको थियो।
जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान संसदमा बोल्न नपाएपछि सांसद गिरीले बैठक बहिस्कार गरेकी थिइन् ।
सोही विषयमा छानबिन गर्न समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो। सोही कार्यदलको शिफारिस अनुसार गिरी माथि कारवाही भएको हो ।
तपाईको प्रतिक्रिया