पोखरा महानगरमा योग्यता ढाँट्दै, जागिर खाँदै
समाधान संवाददाता, पोखरा
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएका पोखरा महानगरपालिकाका ३ कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
महानगरमा कार्यरत नगर प्रहरी सहायक निरीक्षक सहायकस्तर चौथो लोकबहादुर विक, सहायकस्तर चौथो यमुना श्रेष्ठ र सहायकस्तर चौथो रामप्रसाद भट्टराई विरुद्ध अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
नगर प्रहरी लोकबहादुर विकले १० कक्षा (टेस्ट) पासको परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र पेस गरी बढुवासमेत भएको आयोगको दाबी छ । विकले पोखराको इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयबाट झुठो प्रमाणपत्र बनाएको आयोगले उल्लेख गरेको छ ।
सहायकस्तर चौथो पदमा कार्यरत कर्मचारी यमुना श्रेष्ठले पोखराको भद्रकाली माध्यमिक विद्यालय कुँडहरबाट १० कक्षा उत्तीर्ण गरेको झुठो प्रमाणपत्र पेस गरी जागिर खाइरहेकी थिइन् ।
कर्मचारी रामप्रसाद भट्टराईले पनि सहायकस्तर चौथो पदमा झुठो प्रमाणपत्र पेस गरी जागिर खाएको आयोगको आरोपपत्रमा उल्लेख छ ।
भट्टराईले भानुभक्त आचार्य मावि गल्याङ स्याङ्जाबाट कक्षा १० उत्तीर्ण गरेको झुठो प्रमाणपत्र पेस गरेको आयोगले जनाएको छ ।
तिनैजना विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर भएकाले सजाय माग गर्दै अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता कोइरालाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया