ओली सरकारको समर्थनमा मुस्ताङमा प्रर्दशन

समाधान संवाददाता २०७७ असार २४ गते १७:२२

एसके थकाली
जोमसोम

Advertisement

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सर्मथनमा बुधबार हिमाली जिल्ला मुस्ताङमा बृहत युवा प्रर्दशन भएको छ ।


जिल्लाको बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका करिब २ सय देशपे्रमी युवाहरुको समूहले ओली सरकार विघटन हुन नहुने भन्दै जोमसोममा प्रर्दशन गरेका हुन् ।

Advertisement

सहिदहरुको बलिदानले स्थापित नेकपाको २ तिहाई सरकार विखण्डन भएमा राष्ट्रिय स्वाभिमानमा खतरा उत्पन्न हुनसक्ने भन्दै नेकपाका शीर्ष नेताहरुलाई मुस्ताङबाट खबरदारी गरिएको हो ।

उनीहरुले विद्यमान समस्याको निकास पार्टी एकताको विकल्प नभएको भन्दै खबरदारी गरेका छन् । राष्ट्रप्रति चिन्तित हुने मुस्ताङबासी युवाहरुबाट देश बचाउन तथा नेकपाको २ तिहाई सरकार विघटन नगर्न दबाबमूलक कार्यक्रम लेखिएको प्लेकार्ड र ब्यानरसहित जोमसोम बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय नजिक कोण सभामा परिणत भएको थियो ।

Advertisement


जारी लकडाउनकाबीच सामाजिक दुरी कायम गर्दै नेकपा सरकारको स्थिरताको पक्षमा प्रर्दशन भएको अमित तुलाचनले जानकारी दिए । ओली सरकारको समर्थनमा भएको जनप्रर्दशनमा नेकपा समर्थित मुस्ताङका युवा नेताहरुले सहभागिता जनाए । ‘पार्टी फुटाउन पाइँदैन, विदेश हस्तक्षेप बन्द गर, व्यक्तिवादी सत्ता राजनीति किचलो अन्त्य गर’ जस्ता नारा युवाले लगाएका थिए । उनीहरुले नेकपा सरकार विखण्डन भए राष्ट्रियतानै खतरामा पर्नसक्ने भन्दै एकता र सहकार्यमा अघि बढ्न नेकपाका नेताहरुलाई सुझाएका छन् ।

कोणसभामा युवासंघ मुस्ताङका संयोजक रमेश गुरुङले नेकपाका नेताहरुमा व्यक्तिवादी चरित्र हाबी भएकाले त्यसको अन्त्य हुनुपर्ने भन्दै खबरदारी गरे । उनले देशमा युवाहरुकै शक्तिले नेकपाको २ तिहाइको सरकार स्थापित भएको र आपसी गुटबन्दी र बेमेलले जनताले दिएको अभिमतको दुरुपयोग हुने बताए । नेकपाका युवा नेता रिङझिङ गुरुङले नेताहरुको व्यक्तिगत स्वार्थ पदलोलुपता र एकले अर्को पक्षलाई सिध्याउन खेलले नेकपा फुटको संघारमा रहेको प्रति चिन्ता व्यक्त गरे ।

उनले राष्ट्र र राष्ट्रियता अनि जनताको हितका लागि पार्टी फुट्न नहुने जनाए । नागरिक समाजकी प्रतिनिधि सुनदेवी रसाइलीले नेकपा सरकार असफल बनाउन र पार्टी फुटाउन नेपाली कांग्रेस उद्दत रहेको दाबी गरिन् । नेकपाको दुई तिहाई सरकार स्थापना कुनै चमत्कारिक सिर्जना नभएको र यसमा हजारौं सहिदहरुले बलिदान गरेको उनले बताइन् । उनले नेकपामा सैद्धान्तिक लडाइँ नभएर व्यक्तिवादी लडाइँ हावी भएकाले यस्ता क्रियाकलापको अन्त्य हुनपर्ने भन्दै खबरदारी गरिन् ।
कोणसभामा स्वतन्त्र विद्यार्थी युनियनका सभापति रविन बानियाले यो समय सत्ता राजनीतिक लडाइँ होइन, कोरोनाविरुद्धको लडाइँ र राष्ट्रिय स्वभिमानको लडाइँ भएको बताए । कोण सभा अनेरास्ववियुका जिल्ला अध्यक्ष पेमा छेतेनले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया