प्राडा कोइराला पृना प्रमुख नियुक्त

समाधान संवाददाता २०७७ असार २४ गते १७:४०

समाधान संवाददाता

Advertisement


प्राडा सरोज कोइराला पृथ्वी नारायण क्याम्पसको प्रमुख नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयको कार्यकारिणी परिषदको मंगलबारको बैठकले प्राडा कोइरालालाई पृना क्याम्पस प्रमुख नियुक्त गरेको हो ।


विश्वविद्यालयका उपकुलपति संयोजक रहने ७ सदस्यीय समितिले क्याम्पसका वरिष्ठ प्राध्यापकमध्येबाट प्राडा कोइरालाई चयन गर्ने निर्णय गरेको थियो ।

गएको चैत २८ गते चन्द्रबहादुर थापाको कार्यकाल समाप्त भएयता पृना प्रमुखको पद रिक्त थियो । विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले थापाको अवकाशपछि नन्दलाल अधिकारीलाई निमित्त क्याम्पस प्रमुख नियुक्त गरेका थिए ।

प्राडा कोइराला ४ वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् । २०७५ सालमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले १ जनामात्रै प्राध्यापकका लागि आह्वान गर्दा सर्वाेत्कृष्ट भई कोइराला प्राध्यापकमा पदोन्नति भएका थिए । २०५५ सालदेखि पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत उनले त्रिभुवन विश्वविद्यालयबाटै विद्यावारिधि गरेका हुन् ।

Advertisement


अमेरिकाको रुटगर्ज विश्वविद्यालयबाट पोस्टडक्ट्रेड गरेका कोइरालाले युरोप र अमेरिकाका धेरै विश्वविद्यालयबाट अनुसन्धान फेलोसिप प्राप्त गरेका छन् ।

पोखरा ५ मालेपाटनका रैथाने कोइराला बाराही मावि व्यवस्थापन समितिमा २ पटक अध्यक्ष भएका थिए । उनी बुद्धिजीवी परिषदको केन्द्रीय सदस्य हुन् । उनी परिषदको कास्की अध्यक्षसमेत भइसकेका छन् । कुशल र प्रखर प्राध्यापकको छवि बनाएका कोइराला सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । सूर्यचन्द्र विकास समाज पोखरामा पनि उनी २ पटक अध्यक्ष भएका थिए ।

Advertisement


पृथ्वीनारायण क्याम्पसको शैक्षिक र भौतिक सुधारको योजनासहित आफू आएको प्राडा कोइरालाले समाधानलाई बताए । उनले भने, ‘सकेसम्म त यो क्याम्पसलाई विश्वविद्यालय नै बनाउने प्रयत्न गर्नेछु ।’


नवनियुक्त क्याम्पस प्रमुख कोइरालाले बुधबार पदभार ग्रहण गरे । निमित्त क्याम्पस प्रमुख नन्दलाल अधिकारीको अध्यक्षतामा भएको कोइरालाको पदभार समारोहमा पूर्वक्याम्पस प्रमुख प्राडा दिलबहादुर क्षेत्री, प्राडा देवेन्द्रबहादुर लामिछाने लगायतले शुभकामना राखेका थिए ।

तपाईको प्रतिक्रिया