अनुवादक कर्मचारी बिदामा, अरबी मुलुकको पुनःश्रम स्वीकृत पोखरामा ठप्प

समाधान संवाददाता २०७७ असार २५ गते १३:१९

ईश्वर देवकोटा, पोखरा

भाषा अनुवादक कर्मचारी बिदामा बस्दा श्रम तथा रोजगार कार्यालय पोखराको पुनःश्रम स्वीकृत सम्बन्धी सेवामा समस्या भएको छ ।

अनुवादक बिदामा बसेकाले अरबी भाषामा जारी गरिने श्रम स्वीकृतका काम रोकिएको कार्यालयले जनाएको छ ।

Advertisement

साउदी अरब, कुवेत, ओमन, कतार, बहराइन लगायत मुलुकका लागि पुनः श्रम स्वीकृत लिन आउने सेवाग्राही मर्कामा परेका छन् । कोरोना महामारीका कारण फागुन ३० मा रोकिएको सेवा सरकारको निर्णयानुसार नै असार १८ देखि सञ्चालनमा आएको छ ।

अनुवादक गृह जिल्ला गएकाले पोखरा आइपुग्न समय लागेकाले सेवा रोकिएको कार्यालयका सूचना अधिकारी छन्दनारायण श्रेष्ठले जानकारी दिए ।

Advertisement

‘जापान र दुबईसहितको मात्र भएको छ । अरबी देशहरुको सेवा रोकिएको छ,’ उनले भने, ‘अंग्रेजी भाषा चल्ने देशहरुको भइरहेको छ । अरबी भाषा हुनेहरुको सेवा चलेको छैन ।’

अनुवादक कर्मचारी तराईबाट पोखरा आइपुगेको भएपनि उनको स्वास्थ्य रिपोर्ट नआइसकेकाले सेवा सञ्चालनमा अझै केही दिन लाग्ने श्रेष्ठले बताए ।

‘उहाँ बुधबार पोखरा आउनुभयो । स्वाब संकलनका लागि प्रयोगशालामा पत्र पठाएका छौं । बिहीबार स्वाब संकलन हुन्छ होला,’ उनले भने ।

अनुवादकको स्वास्थ्य रिपोर्ट आइसकेपछि अर्को सूचना जारी गरेर सेवा थालिने सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

सेवाग्राही मर्कामा नपरुन् भनेर अनुवादक बिदामा रहेकाले सेवा सुरु नभएको जानकारी वेबसाइटमाथि दिइसकेको श्रेष्ठले बताए ।

झन्डै २ सयले लिए स्वीकृती

कोरोना महामारीका कारण रोकिएको सेवा सञ्चालन भएपछि पोखरा कार्यालयबाट विभिन्न मुलुकका लागि पुनः श्रम स्वीकृत लिनेको संख्या झन्डै २ सय पुगेको छ ।

असार २२ गतेबाट कार्यालयले स्वीकृत बाँडेको सूचना अधिकारी छन्दनारायण श्रेष्ठले बताए । उक्तदिनदेखि बिहीबारसम्म औषसमा दैनिक ५० जनाले सेवा लिइरहेका छन् ।

जापान र दुबई फर्किनका लागि सबैभन्दा धेरैले स्वीकृत लिइरहेका छन् । बिहीबार मात्रै दिउँसो १ बजेसम्ममा ३० जनाले टोकन लिएको कार्यालयले जनाएको छ । सोसंख्या सहित १ सय ९३ जनाले सेवा पाएका छन् ।

तपाईको प्रतिक्रिया