बाढी पहिरोले गराएको धनजनको क्षतिबाट मुख्यमन्त्री गुरुङ स्तब्ध

समाधान संवाददाता २०७७ असार २६ गते १२:१३

समाधान संवाददाता

Advertisement

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कास्की, तनहुँ, लमजुङ र बागलुङ जिल्ला लगायत विभिन्न ठाउँमा बाढी तथा पहिरोका कारण ठूलो मानवीय र धनमालको क्षति हुन गएको घटनाबाट स्तब्ध भएको बताएका छन् ।


‘यस दुःखद घटनामा ज्यान गुमाउनुहुनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ मुख्यमन्त्रीबाट शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । साथै कतिपय व्यक्ति वेपत्ता भएको र घरवारविहीन भएर बिचल्ली परेको अवस्थामा रहेकाले उद्धार तथा राहतमा सक्रिय भएर जुट्न र यस विषम परिस्थितिमा धैर्यधारण गरी सतर्क रहन सबैमा आग्रह गर्दछु । यस संकटको घडीमा उपचार, खोजी र उद्दार कार्यमा जुट्ने सबैप्रति हार्दिक धन्यवाद प्रकट गर्दछु ।’

Advertisement


बाढी तथा पहिरोमा परि परिवार गुमाएका तथा प्रभावित परिवारको तत्काल उद्दार, राहत, पुनःथापना एवं पहिरोका कारण जोखिममा परेको बस्तीको संरक्षणमा तदारुकताका साथ लाग्न सम्बन्धित तहको गम्भीर ध्यानाकर्षण गराउँदै त्यसका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता मुख्यमन्त्रीले व्यक्त गरेका छन् ।


‘जल तथा मौसम पूर्वानुमान विभागका अनुसार गण्डकी प्रदेशमा केही दिन भारी वर्षा हुने र जसका कारण नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने तथा सडक यातायात प्रभावित हुनसक्ने भएकाले यस अवधिमा अझ बढी सावधानी र उच्च सतर्कता अपनाउन समेत सम्बन्धित सबै पक्ष लगायत आम दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक अपिल गर्दछु,’ मुख्यमन्त्री गुरुङले भनेका छन् ।

Advertisement


बिहीबारदेखिको अविरल वर्षापछि आएको बाढी र पहिरोले शुक्रबार मध्यान्ह्सम्म गण्डकी प्रदेशको पोखरामा ७ जनाको ज्यान गइसकेको छ । म्याग्दीमा ३२ जना वेपत्ता छन् । लमजुङमा एकै परिवारका ३ जनाको ज्यान गएको छ । बाढी पहिराले पुर्‍याएको धनजनको क्षतिको विवरण क्रमशः आइरहेको छ ।

तपाईको प्रतिक्रिया