पहिरोले लुट्यो सराङ्कोटमा बर्थ डे उत्सवको खुसी
समाधान संवाददाता, पोखरा
सराङ्कोट गोठादीका टंकबहादुर थापा मगरको घरमा बिहीबार राति जन्म दिन मनाउने उल्हास थियो । छोरी माइत आएकी थिइन् । टंककी साली दुइ सन्तान साथमा लिएर दमौलीदेखि आइसकेकी थिइन् ।
छर छिमेक पनि जम्मा भए । जन्म दिन (बर्थ डे) को सामान्य भोज पनि चल्यो । सबै हाँसीखुसी हुँदाहुँदै भइरहेको त्यो माहोल केही समयमै भताभुंग भयो । रातको अन्धकार जस्तै एउटा विपत्तिले टंकको परिवारमा सधैका लागि अँध्यारो छरेर गयो ।
अविरल वर्षापछि आएको पहिरोले पुरिएर स्वयं ५० वर्षे टंकबहादुर र उनकी ४५ वर्षे श्रीमती सोममाया थपाासहित ५ जनाले ज्यान गुमाए । ११ वर्षीया इशिका थापा, ६ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका ८ वर्षीय शीतल श्रेष्ठको पहिरोले पुरेर मृत्यु भयो ।
टंककी छोरी २३ वर्षीया पिंकी, उनकी ४ वर्षीया छोरी पिरिसासहित ८ जना घाइते छन् । जसको मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
छिमेकी र आफन्तहरुका अनुसार आफ्नो बर्थ डे मनाउन पिंकी माइती आएकी थिइन् । साथमा छोरी ल्याएकी थिइन् ।
१८ वर्षीया आशा थापा, दमौली घर भएकी टंकबहादुर थापाकी साली २८ वर्षीया सरस्वती श्रेष्ठ उनका छोरा वर्ष १० का सन्देश श्रेष्ठ तथा छिमेकी पोखरा–१८ बस्ने १९ वर्षीय अनिस तामाङ, वर्ष १९ का रशि थापामगर र १९ वर्षीय रश्मी थापामगरको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेको टाउको, छाती, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोटपटक अस्पतालका चिकित्सक डा असिम सुवेदीले जानकारी दिएको राष्ट्रिय समाचार समितिले उल्लेख गरेको छ ।
फाेटाे क्याप्सन–मणिपाल शिक्षण अस्पतालमा उपचारार्थ भर्ना गरिएकी ४ बर्षीया पिरिषा थापा । अर्काे बेडमा घाइते रशि थापा । तस्विर–अनुप पाैडेल ।
तपाईको प्रतिक्रिया