श्रीमतीले घर बाहिर जाऊँ भन्दाभन्दै पुरिए दुर्गा
समाधान संवाददाता, पोखरा
झमझम पानी परेको बिहीबारको रात दुर्गाबहादुर सुनार सधैं झै पोखरा २६ पैतेडाँडाको आफ्नै घरमा सुतेका थिए । बिहान अबेरसम्मै निदाए ।
शुक्रबार बिहान झन्डै ७ बजे श्रीमती उठेर उनलाई ‘माथिबाट पहिरो आउलाजस्तो छ बाहिर जाऊँ’ भनेकी थिइन् । उनी उठेनन् ।
श्रीमती र २ छोराछोरीसँगै बस्दै आएका सुनार अघिल्लो रात खाना खाएर सुतेका थिए ।
रातभर परेको भारी वर्षाले उनको घरमाथिको भिरालो जमिनको माटो गलायो । श्रीमती छोराछोरी लिएर घर बाहिर निस्किइन् तर दुर्गाबहादुर घरभित्रै माटोले पुरिए ।
डाँडाकोनाक प्रहरी चौकीका प्रमुख तथा डिएसपी अर्जुन रानाभाटका अनुसार उनी निद्रामै भएकाले पहिरोले पुरिएको अनुमान छ ।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरी टोलीले घटनाको २ घन्टापछि उनको पुरिएको अवस्थाबाट बाहिर निकालेको थियो । उनी मृत भेटिए ।
पैतेडाँडा भिरालो जमिन भएकाले भारी वर्षासँगै पहिरोको जोखिम उत्तिकै छ । दुर्गाबहादुरको परिवारजस्तै पैतेमा अन्य घरपरिवार पनि पहिरोको उच्च जोखिममा छन् ।
उनीहरुलाई जोखिम टार्न स्थानीय सहितको सहयोगमा नजिकैको विद्यालयमा स्थानान्तरण गरिएको छ ।
पोखरा २६ का वडाध्यक्ष नारायणप्रसाद बरालले ३५ परिवारका १ सय ४० जनालाई अमरज्योती आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको जानकारी दिए ।
‘पहिरोको जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन गरेका छौं,’ उनले भने, ‘मेयर, उपमेयर, सिडिओ साप आएर निरीक्षण गरेर जानुभएको छ । राहत लगायतको काम पनि प्रक्रियामा छ ।’
विद्यालयमा राखिएको घरपरिवारलाई खाना खुवाउन सामाजिक संघसंस्थाको पहलमा तयारी भइसकेको वडाध्यक्ष बरालले जानकारी दिए ।
०७५ मा समेत सोही डाँडामा बर्खाको समयमा पहिरो जाँदा ४ जनाले ज्यान गुमाएका थिए । अधिकांश ज्याला मजदरी गर्दै आइरहेका घर परिवार सुकुम्बासीमा बस्दै आइरहेका छन् ।
तपाईको प्रतिक्रिया