जन्मदिनमा पहिरोले खोस्यो पिंकीको माइती
अनुप पौडेल, पोखरा
सराङकोट गोठादीका टंकबहादुर थापामगरको घरमा बिहीबार जन्मदिनको रौनक थियो । टंककी छोरी पिंकीको २३ औं जन्मदिन मनाउन आफन्त र छिमेकी असारे झरीको प्रवाह नगरी साँझ भेला भएका थिए ।
राति ८ बजे केक काटेर जन्मदिन मनाउन सुरु गरियो । ‘बर्थ–डे’ मनाउन आएका सबैले खानपिन गरेर एकछिन रमाइलो गरे । कोही घर फर्किए, कोही त्यहीँ बास बसे ।
दिदीभाइसँगै सुतेका १८ वर्षे रशि थापा गफैगफमा निदाए । राति २ बजे घर माथिबाट पहिरो खस्यो । सुतिरहेको ठाउँबाट उनलाई पहिरोले उछिट्याएर पर पु¥यायो ।
अनुहारमा सामान्य चोट लागेका उनी मनिपाल शिक्षण अस्पतालमा उपचार गरेर घर फर्किसके । तर मन स्थिर छैन । शुक्रबार बिहानको घटनाले उनी झस्किन्छन् ।
अन्धकारमा खसेको पहिरोले कस–कसलाई लग्यो भन्ने उनले अझै चेत पाएका छैनन् । ‘पिंकी दिदीको बर्थडे थियो । राति ७ जनासँगै सुतेका थियौं । एक्कासि पहिरो गयो । केही थाहै भएन,’ रशिले कहालीलाग्दो रात सम्झिए ।
पिंकी उनको कान्छा अंकलकी छोरी हुन् । घोरेपानी म्याग्दी घर भएर पोखरा विजयपुर बस्दै आएकी उनी बर्थ डे मनाउन छोरीसहित माइती पुगेकी थिइन् । छरछिमेकसँगै दमौलीबाट सानिमा र २ भाइलाई बोलाएकी थिइन् ।
भाग्यले बाँचेका रशि अरुले पहिरो खोतलेको हेरिरहे । आँखै अघि आफन्तको शव एकपछि अर्को गर्दै झिकिरहेको देखे । इँटाले बनाइएको घरको २ वटा कोठामा ११ जना सुतेका थिए ।
‘एउटा कोठामा ७ जना अर्कोमा ४ जना थियौं । राति पहिरो खसेपछि त्यहीँ थिएँ । बिहान ५ बजे हस्पिटल ल्याइयो,’ रशिले भने । उनीबाहेक अरु ६ जनालाई स्थानीय र प्रहरीले उद्धार गरेपछि अस्पताल ल्याइएको हो ।
देवरकी छोरीको जन्मदिनमा पुगेकी खगिसरालाई पनि शुक्रबार बिहानको घटनाले झस्काउँछ । पानी दर्किरहेकै बेला उनी जन्मदिनको जमघटमा सहभागी हुन गएकी थिइन् । ‘केक मेरै घरमा थियो । छोरीहरु त्यो लिएर गए । पानी ठूलो परेको थियो । नजाम छोरीले गाह्रो मान्छ भनेर बुढाबुढी नै गएम,’ ४२ वर्षीय खगिसराले सुनाइन् ।
खाना खाएर राति १० बजे श्रीमान् र उनी घर फर्किए । जुन बाटो राति लाइट बालेर उनी घर फर्किएकी थिइन्, त्यही बाटोमा खसेको पहिरो ५ जनाको चिहान बन्यो । ‘जुन ठाउँमा पहिरो गयो नि त्यहाँ बाटो थियो । त्यही बाटो राति हामी घर फर्केको,’ खगिसराले आँखाभरी आँसु बनाउँदै थपिन्, ‘पहिला पनि कहिलेकाहीँ पहिरो खस्थ्यो, त्यस्तो होला भन्ने सोचेकै थिइनँ ।’
घर फर्किएको किस्सा सुनाउँदै गर्दा उनी केही समय रोकिइन् । आँखाबाट बगिरहेको आँसु पुछिन् । अनि थपिन्, ‘बिहानसम्म केही थाहै भएन ।’ राति अबेरसम्म बसेकाले पनि झट्टै निद्रा खुलेन । पानी परिरहँदा बिहान ५ बजे कसैले बोलाइरहेको आवाज सुनिन् । देवरका छिमेकी १ जना बाजे रहेछन् ।
उनले खगीसरालाई भने, ‘तिमीहरु सुतिराख । तल कस्तो भइराछ ।’ खगीसराले प्रतिप्रश्न गरिन् । त्यसपछि वृद्धले देवरको घरमा पहिरो खसेको वृत्तान्त सुनाए । छोरी पनि देवरको घरमै बास बसेकाले हस्याङफस्याङ गर्दै घटनास्थल पुगिन् । घाइतेलाई प्रहरीले अस्पताल पु¥याइसकेको थियो । पहिरोमा पुरिएकी खगीसराकी छोरीको अहिले मनिपाल अस्पतालमा उपचार भइरहेको छ ।
सराङकोट गोठादीको पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । अविरल वर्षापछि आएको पहिरोले पुरिएर मृत्यु हुनेमा खगीसराका देवर ५० वर्षे टंकबहादुर थापा, उनकी ४५ वर्षे श्रीमती सोममाया थापा छन् । पहिरोमा परी ज्यान गुमाउनेमा ६ वर्षे सुवान थापा र तनहुँ दमौली घर भएका ८ वर्षे शीतल श्रेष्ठ रहेको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।
मृतक टंककी छोरी २३ वर्षीया पिंकी, पिंकीकी ४ वर्षीया छोरी पिरिसासहित ८ जना घाइते छन् । घाइते १८ वर्षीया आशा थापा, दमौली घर भएकी २८ वर्षीया सरस्वती श्रेष्ठ (टंकीकी साली), उनका छोरा १० वर्षका सन्देश श्रेष्ठ, मृतक टंकका छिमेकी १९ वर्षीय अनिस तामाङ, वर्ष १९ का रशि थापामगर र १९ वर्षीय रश्मि थापामगरको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पोखरामा शुक्रबार नै भएका पहिरोका अरु घटनामा थप २ जनाको मृत्यु भएको छ । पोखरा–२५ हेमजा मेलबोटका रामचन्द्र अधिकारीको घर पहिरोले भत्किँदा उनकी आमा हिमकला अधिकारीको मृत्यु भएको प्रवक्ता हमालले जानकारी दिए ।
पोखरा–२६ पैतेडाँडाका स्थानीय दुर्गाबहादुर सुनारको घर भत्किँदा घरधनी सुनारको मृत्यु भएको छ । पोखरा–१७ छोरेपाटन सिमलटुँडाका चन्द्रबहादुर मगरको घरमा पहिरो जाँदा उनीसहित श्रीमती र छोरा घाइते भएका छन् ।
पोखरामा शुक्रबार भएका पहिरोका घटनाका सात घाइतेको मनिपाल, तीनको नमस्ते हस्पिटल र एकको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेको छाती र हातखुट्टामा चोट लागेको छ ।
छातीमा चोट लागेका सराङकोटका एक घाइतेको अवस्था गम्भीर रहेको मनिपाल अस्पतालका इमर्जेन्सी विभागका इन्चार्ज डा. असीम सुवेदीले जानकारी दिए । बाँकी घाइतेको अवस्था सामान्य छ ।
तपाईको प्रतिक्रिया