दुर्लुङका पहिरो पीडितलाई हङकङबाट साढे ५ लाख सहयोग

समाधान संवाददाता २०७७ असार २८ गते २०:१५

समाधान संवाददाता, पोखरा

Advertisement

पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा गएको पहिरोका पीडित परिवारलाई दुर्लुङ सम्पर्क मञ्च हङकङले आर्थिक सहयोग गरेको छ । दुर्लुङ सम्पर्क मञ्च हङकङले आइतबार ५ लाख ३६ हजार ९६ रुपैया आर्थिक सहयोग गरेको हो ।

कुस्मा नगरपालिका वडा नं ३ को आयोजनामा भएको कार्यक्रममा पीडित परिवारलाई मञ्चका सहसचिव विरोधविक्रम गुरुङले नगद सहयोग हस्तान्तरण गरे ।

Advertisement

मञ्चको तर्फबाट परिवारका सदस्य गुमाएका ओमबहादुर थापा र विकास विकलाई प्रतिपरिवार २ लाखका दरमा आर्थिक सहयोग गरेको छ । माइतीमा आएका बेला मृत्यु भएकी दिर्पा थापाको परिवारलाई ७० हजार सहयोग गरेको छ । पहिरोमा घर भत्केका विनोद सार्कीलाई २५ हजार, भुवन गिरीलाई १२ हजार १ सय सहयोग गरेको छ ।

पहिरोमा विस्थापित भएका नन्दी गुरुङ र पशुपति सिञ्जालीलाई प्रतिपरिवार १२ हजार रुपैयाँका दरमा सहयोग गरिएको छ । पहिरोको समयमा मानवीय उद्दारमा खटिएकी स्वास्थ्य चौकीकी कार्यलय सहयोगी ईश्वरी शर्मालाई पनि ५ हजार सहयोग गरिएको छ । मञ्चले हङकङमा सहयोग रकम संकलन गर्ने क्रममा पर्वत क्लब हङकङ र नमोबुद्ध आमा समूह हङकङको पनि ठूलो सहयोग रहेको अध्यक्ष मञ्चका अध्यक्ष उदिम गुरुङले जानकारी दिए ।

Advertisement

सहयोग रकम हस्तान्तण गर्दै मञ्चका सहसचिव विरोधविक्रम गुरुङले दुर्लुङमा भएको मानवीय क्षतिले देश विदेशमा रहेका दुर्लुङबासी र शुभेच्छुकहरुलाई पीडाबोध भएको बताउँदै सम्पर्क मञ्चले आफ्नो गाउँमा भएको पीडामा थोरै भएपनि सहयोग गरेर पीडामा मल्हम लगाउने काम गरेको बताए । ‘पहिरोका कारण अकल्पनीय मानवीय क्षति भएको चर्चा गर्दै सहसचिव गुरुङले यस्तो विपदको घडीमा सबैले एक भएर पीडित परिवारको राहात र उद्धारको काममा लाग्दा पीडित परिवारलाई राहत र समुदायको बिचमा एकताको सन्देश जान्छ,’ उनले भने ।

उनले दुर्लुङबासी, चेलीबेटी र शुभेच्छुकहरुको सहयोगमा नै रकम संकलन गर्न सम्भव भएको बताउँदै माइतीमा आएकी चेली र भान्जाको नाममा नमुना अक्षयकोष स्थापना गर्न रकम संकलन भइरहेको पनि जानकारी दिए । ‘दिर्पा—विवेक अक्षयकोषको रकमले भविश्यमा बाढी, पहिरो, आगलागी लगायत प्राकृतिक प्रकोपबाट पीडित परिवारलाई राहत दिने उद्देश्यले नवप्रतिभाशाली युवा क्लबले अक्षयकोष स्थापना गर्न लागेकोले देशविदेशबाट सहयोग रकम जुटिरहेको छ,’ भने ।

कुस्मा नगरपालिका वडा नं ३ का अध्यक्ष तेजप्रसाद पाध्याले दुर्लुङमा भएको प्राकृतिक विपत्तिमा देश विदेशबाट ठूलो रकम सहयोग भएको बताए । ‘संघीय सरकार, प्रदेश सरकार र स्थानिय तहबाट पनि राहत र पुनःस्थापनाका लागि काम भइरहेको छ,’ उनले भने । कार्यक्रममा स्वागत वडा सदस्य यमनाथ शर्मा र सञ्चालन वडा कार्यालयका सचिव यामप्रसाद शर्माले गरेका थिए । दुर्लुङमा जेठ ३१ गते राति गएको पहिरोमा ९ जनाको मृत्यु भएको थियो । धेरै परिवार विस्थापित भएका छन् । पहिरो गएपछि रोकथाम र पुनःस्थापनाको काम समेत भइरहेको छ ।

तपाईको प्रतिक्रिया