पाेखराका सुनपसलबाट नमुना लिएर हिनामिना गर्नेलाई अख्तियारकाे मुद्दा

समाधान संवाददाता २०७७ असार २८ गते २३:११

पाेखरा

Advertisement

पाेखरा र काठमाडाैंका सुन पसलबाट अनुगमनका क्रममा संकलित गहनाका नमुना हिनामिना गरेकाे आराेप मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ जनामाथि विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका २ पूर्वनिर्देशकसहित ३ जनामाथि मुद्दा दायर गरेकाे आयाेगका प्रवक्ता प्रदीप काेइरालाले जानकारी दिए ।

Advertisement

बजार अनुगमन र परीक्षण गर्न ल्याइएको सुनमा यथार्थ विवरण नराखी हिनामिनाको अभियोगमा आरोप पत्र दायर गरिएको हो । आयोगले विभागका तत्कालीन अनुगमन शाखा निर्देशक लक्ष्मण श्रेष्ठ, हरिनारायण बेल्वासे र नायब सुब्बा रामबहादुर थापा मगरविरुद्ध मुद्दा दायर गरेको हो ।

हाल श्रेष्ठ कृषि विभाग, बेल्वासे राष्ट्रिय योजनामा कार्यरत छन् भने मगर भने सेवानिवृत भइसकेका छन् ।

Advertisement

आयोगका अनुसार विभागकाे टाेलीले २०७३ माघ ७ गते काठमाडाैं‌ न्युरोडको नोज पिन हाउस, २०७३ चैत ३० गते पोखरामा रहेको दलबहादुर एन्ड सुनचाँदी पसल, दी युनाइटेड ज्वलेलर्स प्रालि, गोरखा एन्ड बराह ज्वेलरी प्रालि, फेवा सन्तोष सुनचाँदी दोकान र अर्जुन पुम्दी भूम्दी सुनचाँदी पसलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा संकलन गरिएको गहनाहरुका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट उल्लेखित पसलका गहना जफत हुने ठहरसहित फैसला हुँदासमेत फिर्ता नगरेपछि आयोगले मुद्दा दायर गरेका हुन् ।

‘फैसला हुँदासमेत उक्त सरकारी सम्पत्ति सम्बन्धित कार्यालयमा फिर्ता नगरी सरुवा भएपश्चात् पनि उक्त गहनाहरु नबुझाई आफ्नो साथमा राखी हिनामिना गरेको,’ अख्तियारले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विभागका तत्कालीन निर्देशक बेल्वासेले पनि काठमाडौंमा रहेको सूर्यबहादुर एन्ड सन्स ज्वेलर्समा अनुगमन गरी संकलन गरिएको गहनाहरुका सम्बन्धमा काठमाडौं जिल्ला अदालतबाट अभियोग दाबी नपुग्ने गरी फैसला हुँदा समेत उक्त सरकारी सम्पत्ति फिर्ता नगरेको जनाएको छ ।

सरुवापश्चात पनि उक्त पसलमा फिर्ता नगरी हिनामिना गरेको आयोगको विज्ञप्तिमा छ । यस्तै, तत्कालीन निदेशक श्रेष्ठकै नेतृत्वमा न्यूरोडको विभिन्न गहना पसलमा अनुगमन र सकलन गरिएको गहना नासु (हाल सेवानिवृत) रामबहादुर थापा मगरले हिनामिना गरेको उल्लेख छ ।

तपाईको प्रतिक्रिया