पोविविमा तत्काल नियुक्ति गर्न माग

समाधान संवाददाता २०७७ असार २८ गते २३:२१

समाधान संवाददाता
पोखरा

Advertisement

विषय पोखरा विश्वविद्यालयमा १० महिनाअघि बाट उपकुलपति, रजिस्ट्रार, डिन र डाइरेक्टरको पद खाली छ । ४ संकायमध्ये ३ मा डिनको पद खाली छ । आइतबार गण्डकी प्रदेश सभामा सांसद बिन्दुकुमार थापाले हजारौं विद्यार्थीको भविष्य डामाडोल परिरहेको भन्दै तत्काल नियुक्ति गर्न माग गरेका छन् ।

विशेष समय लिएर उनले भने, ‘राजनीतिक भागबन्डाकै कारण नियुक्ति रोकिएको छ, यसले विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।’

Advertisement

पोखरा विश्वविद्यालयमा अनलाइन क्लास लगायत कुनै गतिविधि नभएको, परीक्षाफल प्रकाशित हुन नसकेको, शैक्षिक गतिविधि शून्यप्राय भएको भन्दै उनले प्रदेशमार्फत संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् । साविक माओवादीको भागमा भिसी परेको, त्यसैका कारण अलमल भएको उनको भनाइ थियो । छिटोभन्दा छिटो भिसी चयन भए रोकिएका शैक्षिक गतिविधि सञ्चालन हुने उनले बताए ।

नेकपाका सांसद दीपक कोइरालाले विकास निर्माणको मोडल नै अहिलेको विनासको कारण रहेका भन्दै सरकारले यसमा बेलैमा सोच्न आग्रह गरे । उनले भने, ‘विकास निर्माणको मोडल नै विनासको कारण हो । हामीले खडा गरेको पूर्वाधारकै कारण धैरै घटना भएका छन् ।’
१० महिनासम्म बाढी पहिरोबाट बहस नहुँने तर जब पानी परेर घर बगाउँछ अनि बल्ल सदनमा कुरा हुन्छ भन्दै उनले यो बारेमा बर्खा अघि नै छलफल हुनुपर्नेमा जोड दिए । उनले भने, ‘हाम्रो पूर्व तयारी भएन । हाम्रो भूबनोट, हाम्रा नागरिक जसरी बस्छन्, जहाँ जुनसुकै प्रकोप हुन सक्छ, त्यस्तो ठाउँलाई एकीकृत बस्ती बसाएर स्थानान्तरण गर्नु प¥यो । सुरक्षित ठाउँमा बस्ती बसाउन सरकारले ध्यान दिनु प¥यो ।’

Advertisement

पोखरा एअरपोर्टबाट जाने नहरहरु बन्द गरिदिएका कारण त्यो भन्दा तलका बस्ती जोखिममा परेको भन्दै सांसद कोइरालाले रोपाइँका लागि पानी नहुने तर वर्षाको पानी डुबानको समस्या परेको भन्दै विकासको मोडलमै त्रुटि रहेको दोहो¥याए ।

राहतका लागि ५० हजार र उपचारका लागि २५ हजार दिने प्रावधान नै परिवर्तन गर्न समेत उनले आग्रह गरे ।

नेकपा सांसद मोहनप्रसाद रेग्मीले बाढी पहिरोले स्याङ्जाका विभिन्न स्थानमा भएका क्षतिका बारेमा जानकारी गराउँदै तत्काल राहत र पुनस्र्थापनाको माग गरे । आँधिखोलाले बर्सेनि खेतीयोग्य जमिन कटानी गर्दै आए पनि यो वर्ष बजेट विनियोजन नभएको भन्दै असन्तोष जनाए । उनले भने, ‘आँधिखोलामा नदी नियन्त्रणका लागि यो वर्ष बजेट छैन भन्ने सुनियो । धेरैभन्दा धेरै जमिन कटानमा परेको छ । आँधिखोलाका सबै जमिनको सुरक्षा गर्न संघीय सरकारको पनि ध्यानाकर्षण गर्न चाहन्छु ।’ सिद्धार्थ राजमार्गको बाटो विस्तारका क्रममा ध्यान नदिएका कारण घर र बालीमा क्षति पुगेको उनले बताए ।

शून्य समयमा सांसद विन्दुकुमार थापाले असारे विकासको प्रवृतिको बारेमा धेरैपटक कुरा उठाए पनि कार्यान्वयन नभएको बताए । उनले भने, ‘सरकार र मन्त्रीले पनि यसलाई स्वीकार गरेको अवस्था छ ।

सार्वजनिक खरिद ऐनलाई देखाएर टेन्डरमै जाने प्रवृत्तिले योजना ढिला भइरहेको छ । कमिसन आउने आउने भएकाले टेन्डरमा फोकस गरेको होला ।’ पानी र पिच दुश्मन हुन् भन्ने थाहा हुँदा हुँदै पनि लामाचौर क्षेत्रमा बखाएका बेला बाटो पिच गरेकोतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

नेकपा सांसद मनबहादुर गुरुङले पोखरा १३ काहुँखोलाको पानी व्यवस्थापन नहुँदा बर्सेनि समस्या परेको बताए । लगातारको बाढीपहिरोले मादी गाउँपालिकाका विभिन्न स्थानमा आवतजावत बन्द भएकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।

नेकपाका सांसद कृष्णबहादुर थापाले वर्षाका कारण पोखरा १७ र २१ जोड्ने पक्की पुल जोखिम परेको भन्दै तत्काल संरक्षणको काम थाल्न आग्रह गरे । उनले भने, ‘ पुल नै कोल्याप्स हुने अवस्थामा छ, सम्बन्धित मन्त्रालयले आज नै उक्त क्षेत्रमा पुगेर हेर्न अनुरोध छ ।’

नेकपाका सांसद चन्द्रमोहन गौचनले राष्ट्रिय राजमार्ग कालिगण्डकी करिडोरको रघुगंगा पुलको जीप बगाएका कारण मुस्ताङसँगको सम्पर्क टुटेको भन्दै तत्काल मर्मत थाल्न आग्रह गरे । राष्ट्रिय राजमार्गको गलेश्वरदेखि घासासम्म धेरै ठाउँमा बाटोमा धेरै ठाउँमा क्षति पुगेको उनले जानकारी गराए ।
२ मन्त्रीको जवाफ
शून्य र विशेष समयमा सांसदले उठाएका प्रश्नमा आइतबार २ मन्त्रीले जवाफ दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र सामाजिक विकास मन्त्री नरदेवी पुनले जवाफ दिएका छन् ।

गोरखाको १२ किलो वारपाक सडक संघीय सरकार मातहतको भए पनि काम छिटो गर्न प्रदेश सरकारले निर्देशन दिइसकेको मन्त्री बस्नेतले बताए ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कोरोनाका कारण प्रभावित भएको, ढिलो गरी काम सुरु भएको उनले जनाए । कास्कीको नारायणस्थानबाट सुरु गर्नु २ किलोमिटर छाडेर काम थाल्नुको कारण जहाँसम्म कालोपत्रे छ त्यहीबाट काम थाल्दा यसो भएको जवाफ उनले दिए ।

सार्वजनिक सवारी साधनको वैज्ञानिक भाडादर कायम गर्न कार्यदल गठन भएको भन्दै उनले कार्यदलले सरोकारवालासँग छलफल गरी भाडा कायम गर्ने उनले जानकारी गराए । यातायात व्यवसायीलाई नवीकरणमा विलम्ब शुल्क छुट दिएको र अन्य छुट समेत दिने घोषणा भइसकेको उनले बताए । उनले भने, ‘पोखराका खाल्डाखुल्डी प्रदेश सरकारले पुरिदिनु पर्‍यो भनेर माननीयज्यूहरुले भन्नुभएको छ, मुस्ताङचोक सहिदचोक, हल्लनचोक जिरो किलोमिटर खण्डमा १३ करोडको काम भइरहेको छ । खाल्डा खुल्डी पनि पुरिन्छन् ।’

आवको सुरुमा नै सम्झौता भएका योजना असार मसान्तसम्मको म्याद राखिएको र ढिलो सम्झौता भएका केही योजना लकडाउनका कारण अलमल भएकाले कतिपयको अवधि बढाइएको भन्दै उनले सञ्चालनमा विभेद नगरिएको बताए । स्याङ्जाको बयरघारी बानेथोक बिरुवा सडकको स्वामित्व सरकारले लिइसकेको र सशर्तमा ४० लाख रुपैयाँ विनियोजन भइसकेको जानकारी उनले सदनमा गराए ।

रघुगंगाको पुलको बारेमा संघ सरकारलाई जानकारी गराइसकेको र त्यहाँ आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।
सामाजिक विकास मन्त्री नरदेवी पुनले क्वारेन्टाइन स्थानीय सरकारको क्षेत्राधिकारमा पर्न भए पनि प्रदेश सरकारले अनुगमन गरेर सुझाव दिने गरेको बताइन् । पिसिआर टेस्टको सम्बन्धमा धेरै माननीयले कुरा उठाएको भन्दै उनले सकेसम्म छिटो रिपोर्ट दिने गरिएको प्रष्ट पारिन् । पर्वतमा २२ वर्षे गर्भवती तारा आचार्यको मृत्युका बारेमा प्रदेश सरकार जानकार नभएको उनले बताइन् । मन्त्री पुनले भनिन्, ‘समयमै थाहा भएको भए एअर लिफ्टिङ गर्न सकिन्थ्यो ।’

श्रम अनुमतिको काम प्रदेश सरकारको क्षेत्रभित्र नभए पनि सोधपुछ गर्दा कोरोनाका कारण भाषविद नआएको र सर्भरमै समस्या भएकाले केही दिनभित्र काम नियमित हुने जानकारी आफूले पाएको उनले बताइन् ।

आइतबारको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुखको कार्यालयबाट आएको प्रमाणीकरण सम्बन्धी सूचना सुनाए । प्रदेश सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यको सुविधा सम्बन्धी व्यवस्था गर्न विधेकयक प्रदेश प्रमुखले प्रमाणीकरण गरेका हुन् ।

प्रदेश सभाको अर्को बैठक साउन ४ गते १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी गराए ।

तपाईको प्रतिक्रिया