मुस्ताङ सीमामा हुने अन्तरदेशीय व्यापार मेला स्थगित

समाधान संवाददाता २०७७ असार २९ गते १५:१४

एसके थकाली
जोमसोम

समुन्द्री सतहदेखि करिब ५ हजार मिटर उचाइको कोरला पठारमा सञ्चालन हुने चिनिया अन्तरदेशीय व्यापार मेला यसवर्ष कोरोनाकै कारण नहुने भएको छ ।

Advertisement

चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्वा राज्यले उत्तरी कोरलाको करिब ५ किमी तिब्बती भूमिमा बर्सेनि असार र भदौ महिनामा नेपाल÷चीन अन्तरदेशीय मेला सञ्चालन गर्ने गथ्र्यो ।

गत वर्ष असारको पहिलो हप्ता र चालु वर्ष गत असोज महिनामा कोरलानाकामा मेला संञ्चालन भएको थियो । चीनको तिब्बतपक्षले उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीय जनतालाई लक्ष्य गर्दै कोरलापासमा २ देशबीच अन्तरदेशीय मेला सञ्चालन गर्दै आइरहेको छ । चीनिया पक्षको प्रस्ताव र नेपाल पक्षको आपसी सहमतिबाट व्यापार मेलाको तिथि तय हुने गथ्र्यो । लोमान्थाङ—४ छोसेरस्थित नेचुङ भन्सार कार्यालयका भन्सार प्रमुख यादवराज पहाडीले चालु वर्षको दोस्रो तथा अन्तिम कोरला व्यापार मेला कोरोना कहरले रोकिएको जानकारी दिए । उनले कोरलानाकामा बर्सेनि २ पटक मेला लाग्ने र त्यो १ सातादेखि २ सातासम्म चल्ने गरेको जानकारी दिए ।

Advertisement

कोरोलानाकाको चीनिया भूमि र नेपाली भूमिमा २ देशबीच पुस्तौंदेखि आपसी सहमतिमा आलोपालो व्यापार मेला सञ्चालन गर्ने गरेको पाइएको छ । तर, पछिल्लो १ दशकदेखि चीनिया पक्षले सुरक्षाका कारण जनाउँदै आफ्नै भूमिमा मेला गर्दै आएको छ । त्यसो, त उपल्लो मुस्ताङ र तिब्बतका केही स्थानीयबीच पारिवारिक सम्बन्ध जोडिएकाले व्यापार मेलाको प्रचलनसँग वैवाहिक सम्बन्ध पनि गाँसिएको छ । दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दाको हितका लागि व्यापार मेला लाग्ने गरेको हो । व्यापार मेलामा नेपाल पक्षले निर्माण सामग्री, खाद्यान्न, विद्युतीय उपकरण र लत्ताकपडा खरिद गर्ने गर्छ । पस्मिना र यार्सा गुम्बा लगायतका जटिबुटी निर्यात गर्ने गर्छ । नेपाल पक्षले चीनिया व्यापार मेलाबाट गएको २ वर्षदेखि चीनिया मोटर साइकल खरिद गर्न प्रतिबन्ध लगाएको छ ।

विश्वव्यापी माहामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस ( कोभिड—१९) ले सिर्जित लकडाउन र बन्दाबन्दीका चालु वर्षको दोस्रो व्यापार मेला स्थगित गर्नु परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए । ‘दुबै देशबीच व्यापार मेला सम्बन्धमा छलफल भएको छ । अहिले चाहेर पनि मेला सञ्चालन गर्ने अवस्था छैन, कोरलामा खटिएका सुरक्षा अधिकारीसँग समन्वय भएको छ, कोरोना माहामारी साम्य भएपछि व्यापार मेला तथा काउन्टर पार्ट सम्बन्धी बैठक बस्ने सहमति भएको छ ।’

Advertisement

चालु वर्ष लोमान्थाङस्थित नेचुङ भन्सा कार्यालयले भदौ र असारमा लाग्ने व्यापार मेलाबाट १६ लाख ८८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर त्यो राजस्व लक्ष्य उठ्ने सम्भावना छैन । चालु वर्षको पहिलो मेलामा कुल लक्ष्यको ३५ प्रतिशत अर्थात् ५ लाख ६१ हजार राजस्व उठेको नेचुङ भन्सार प्रमुख यादवराज पहाडीले बताए । चालु वर्ष सुरक्षा कारण दर्शाउदै भदौमा लाग्ने मेला असोजको तेस्रो साता सुरु भएको थियो । उपल्लो मुस्ताङमा भदौको यार्तुङ मेला सकि लगत्तै स्थानीय बेसी झर्ने परम्पराले गर्दा लक्ष्य भन्दा २० प्रतिशत राजस्व उठेको भन्सार प्रमुख पहाडीले जानकारी दिए ।

नेचुङ भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा कुल अनुमानित १२ लाख ५० हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । जसको पहिलो व्यापार मेला भदौमा ७ लाख ६० हजार र दोस्रो ब्यापार मेला असारमा ७ लाख २६ हजार राजस्व संकलन भएको थियो । त्यतिबेला भन्सार लक्ष्यभन्दा २ लाख ३६ हजार बढी राजस्व उठेको भन्सार प्रमुख पहाडीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया