बुलेट बाइकसहित पंकज बेपत्ता
समाधान संवाददाता, पोखरा
स्याङ्जा चापाकोट नगरपालिका ५ सेखाम काम्तीका १९ वर्षीय पंकज गिरी बेपत्ता भएका छन् । असार १८ गते स्याङ्जाको बाड्खोलाबाट साथीहरुसँग अन्तिम सम्पर्कमा आएका उनी भाडामा लिएको बुलेट बाइकसहित बेपत्ता भएका हुन् ।
उनको खोजी गरिदिन उनका आफन्त सरोज गिरीले जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका छन् । असार २९ गते निवेदन परेकाले सोहीअनुसार मातहत इकाई प्रहरी र स्याङ्जा प्रहरीलाई परिपत्र गरिसकेको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।
‘खोज तलासमा निवेदन आए अनुसार दर्ता भई इलाका र सम्बन्धित जिल्ला स्याङ्जा प्रहरीमा सर्कुलर गरेका छौं,’ प्रवक्ता हमालले भने ।
उनको र बाइकको खोजी गरिदिन पोखरा मोटरसाइकल रेन्ट हाउसका तर्फबाट आविष्कार तिमिल्सिनाले समेत वडा प्रहरी कार्यालय बैदाममा निवेदन दिएका छन् । असार २६ गते तिमिल्सिनाको निवेदन परेको प्रहरीले बताएको छ ।
पंकज गिरी पोखरा ५ पस्र्याङमा बस्दै आएका थिए । लकडाउन हुनुअघि २०७६ चैत ८ गते उनी लेकसाइडस्थित पोखरा मोटरसाइकल रेन्ट हाउसबाट बागलुङ जाने भन्दै आफूसँगै पढेका साथी सुजन कुँवरको नामबाट बाइक लिएका थिए ।
ना४०प ३७२० नम्बरको हरियो रंगको बुलेट बाइक लिएर बागलुङ पुगी त्यसै दिन फर्किएको सुजन बताउँछन् । ‘उसको सक्कल नागरिकता र मेरो लाइसेन्सको फोटोकपी दिएर मेरो नाममा बाइक भाडामा लिएका थियौं,’ उनले भने, ‘साँझ फर्केर बाइक बुझाउन मैले पंकजलाई नै भने तर उसले नबुझाई थप दिनको लागि बाइक लगेछ ।’ उनले पुनः म्याद थप गरी बाइक आफ्नै नाममा लिएको भाडामा लिएको रेन्ट हाउसका तिमिल्सिनाले सुनाए ।
कोरोना महामारीका कारण चैत ११ गतेदेखि देशमा लकडाउनका कारण सवारी चल्न नपाए पनि स्याङ्जास्थित गाउँमै बाइक चलाइरहेको पंकजले हाउसलाई जानकारी गराएका थिए । तर उनी एकाएक पोखरामै भेटिएपछि बाइक बुझाउन हाउसका तिमिल्सिनाले आग्रह गर्दा उनले ब्लुबुक घरमै छुटेको बहाना बनाएर उम्किएको तिमिल्सिनाको भनाइ छ ।
‘पस्र्याङमै बाइक देखेपछि मैले बाइक बुझाएर जान आग्रह गरे,’ तिमिल्सिना भन्छन्, ‘उनले पुनः आफू स्याङ्जा जानुपर्ने भएकाले भोलि केही पैसा दिने भनेर उम्किए ।’ भोलिपल्ट शान्तिनगरचोकमा भेटेर २५ हजार रुपैयाँ बाइकको भाडा पंकजले बुझाएको तिमिल्सिनाले बताए ।
त्यसबीचमा पटकपटक सम्पर्क गर्दा सम्पर्कमा आउन नखोज्ने र बाइक बुझाउन भने पनि नदिने गरेको तिमिल्सिनाको भनाइ छ । बाइकको भाडा तिर्न आफ्नो ल्यापटप दिएको र उक्त ल्यापटप बेचेर पंकजले रकम तिरेको सुजन बताउँछन् ।
पंकजले असार १८ गते पोखरा फर्कंदै गरेको भनेर सुजनसहित अर्का १ साथीलाई खबर गरेका थिए । बाड्खोला आएको तर ब्लुबुक र लाइसेन्स नभएकाले चेकिङ सकिएपछि मात्र पोखरा आउने भनेको उनका साथी सुजन कुँवरले बताए । जानकारी उनले चापाकोटका साथी किस्मत मानन्धरलाई समेत गराए ।
त्यसपछि उनी न साथीको सम्पर्कमा छन् न त परिवारको नै । उनका आमाबुवा रोजगारीको सिलसिलामा भारतमा बस्दै आइरहेको आफन्तको भनाइ छ ।
तपाईको प्रतिक्रिया