म्याग्दीका बाढी पीडित प्रदेश सरकारकाे बाटाे कुर्दै

समाधान संवाददाता २०७७ साउन १ गते ८:०६

राकेश शर्मा
म्याग्दी

Advertisement

बर्खामास । रातभर मुसलधारे पानी, दिनमा पनि पानी उतिकै परिहन्छ । आफन्त घरपरिवार र छिमेकी गुमाउनुको मनभरी पीडा त्यो भन्दा बढी पीडा मराङका बाढी पहिरो पीडितको पेटभरी खाना खान नपाउनु हो ।

गत शुक्रबार धवलागिरी गाउँपालिका–६ मराङमा राति झरीसँगै ठूलो आवाज आयो । भिरालो जमिनमा रहेको बस्ती पहिरोसँगै बग्न थालेपछि स्थानीय बस्तीबाट भागभाग गर्न थाले । चकमन्न अध्यारोमा आफन्तलाई के भयो भन्दै मराङका प्रेममान पुन आत्तिएर रातभर निदाएनन् । दिनभर मेलापात गरेर फर्किएका सबैजसो घरभित्र मस्त निन्द्रामा थिए । गाउँमाथिको जमिन चिराचिरा भयो । पहिरो खसेको थाहा पाउनेजति भाग्न थाले ।

Advertisement

भीषण वर्षासँगै एकैपटक वडाभित्रका विभिन्न बस्ती पहिरोसँगै गाउँ नै पहिरोमा परिणत भयो । एउटै वडामा करिब आधादर्जन बस्ती एकैपटक पहिरोका चपेटामा परेपछि पहिरोबाट भागेर ज्यान जोगाएकालाई नजिकैको स्कुलमा राखिएको छ । पहिरोले घर चर्किएपछि धवलागिरि गाउँपालिका–६ मराङका २७ घर पूर्णरुपमा क्षति भएका छन्, भने २ सय ९ घर विस्थापित छन् । विस्थापित भएकाहरुलाई अर्वाङको जनविकास आधारभूत विद्यालय, डाँफे युवा क्लबको खेल मैदान, राम्चे आधारभूत विद्यालयमा र केहीलाई मराङको बेसीमा त्रिपाल टाँगेर राखिएको छ ।

Advertisement

धवलागिरीको ताकम, धारापानी र काफलडाँडाका करिब २ सय २८ घरपरिवार विस्थापित भएका छन् । असारको मध्यतिरबाट परेको अविरल वर्षाका कारण पहिरोले घर नै बग्ने अवस्था आएपछि स्थानीयबासी विस्थापित भएका छन् । जसमध्ये धारापानीमा ७२, ताकममा १ सय ५० र काफलडाँडाका ६ घरपरिवार विस्थापित भएको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिइन् ।

विभिन्न संघ संस्था र व्यक्तिहरुले राहत पु¥याए पनि मराङका बाढी पहिरो पीडितले पेटभर खाना खान नपाएको ५ दिनभन्दा बढी भयो । मराङका पे्रममान पुनका अनुसार गाउँमा अहिले पीडितका खाद्यान्न अपुग भएको छ । ‘यहाँ बाढी पहिरो पीडितहरुको घरबार गुमाउनुको पीडा भन्दा पनि पेटभर खान नपाउने चिन्ता छ,’ उनले भने, ‘केही संघ संस्थाले त्रिपाल, खाद्यान्न ल्याए पनि पर्याप्त छैन । १ सय जनाभन्दा बढीको एउटा क्याम्प बनाएर बसेका छन् । पुनका अनुसार सुरुका २ दिन सेनाको हेलीले पु¥याएको खाद्यान्नले सास धानियो । अहिले आफन्त भएकाहरु आफन्तको गएका छन् । बाँकी क्याम्पमा नै छन् । क्याम्पमा खाद्यान्न, सरसफाई र लत्ताकपडा चाहिएको उद्धारमा पुगेका एक युवाले बताए ।

गाउँपालिका अध्यक्ष थमसरा पुनले गाउँपालिकाले पीडितका लागि व्यवस्थापन गरिरहेको बताइन । ‘यस्तो विपत्तीमा गाउँपालिकाले मात्र भन्दा प्रदेश सरकाले केही सहयोग गरिदिए हुने थियो,’ उनले भनिन् । ताकमबाट हामीलाई खाद्यान्न र बस्नको लागि बास चाहियो भन्दै गाउँपालिकामा धर्ना बस्न आएका छन् । बाढी पहिरोले विस्थापितहरुका लागि गाउँपालिकाको मात्र मुख ताकेर बस्नुभन्दा पनि यो विषयमा प्रदेश सरकारले पनी सहयोग गर्नुपर्ने उनको धारणा थियो ।

भौगोलिक रुपमा विकट क्षेत्रमा पर्ने पहिरो गएको गाउँ जोड्ने सडक दर्जनौं ठाउँमा क्षतिग्रस्त छन् । झोलुंगे पुल र पैदलमार्ग नभएकाले सुरक्षाकर्मीसमेत १ दिनपछि घटनास्थल पुगेका थिए । घाइतेको ३६ घन्टापछि उद्धार भएको थियो । विस्थापितलाई शनिबार हेलिकप्टरबाट ५० बोरा चामल, दाल, नुन, तेल, चाउचाउ लगायतका खाद्यान्न ढुवानी गरिएको थियो । पीडितका लागि संकलन भएका राहत सामग्री बेनी र दरवाङ पुगेर थन्किएको छ । तथ्यांक संकलन, पीडित तथा विस्थापितको पहिचान र वर्गीकरणमा ढिलाइ हुँदा राहत, अस्थायी बसोबासको व्यवस्थापन गर्न चुनौती देखिएको हो ।
पीडितले आँसुसम्म झार्न पाएनन्

गत शुक्रबार म्याग्दीमा आएको बाढी पहिरोका कारण २९ जनाले ज्यान गुमाएका छन् । ३ जना अझै वेपत्ता छन् । कहिल्यै नसोचको र कल्पना नगरेको बस्तीहरुमा पहिरो भएका कारण धेरै मानिसले ज्यान गुमाउन परेको स्थानीयको भनाइ छ । ‘आफन्त गुमेका छन्, घरपरिवारका सदस्य वेपत्ता छन् रोएर बस्ने कि उनीहरुको खोजी गर्ने भन्नेमा पीडित छन्, ‘पहिरोले पुरिएकाहरुको लागि उद्धारमा खटिएका अनेरास्ववियुुका नेता तथा गण्डकी प्रदेशका सामजिक विकास मन्त्रीको स्वकीय सचिव प्रकाश पौडेलले भने, ‘आँसुसम्म झार्न समेत पाएनन्, न रुँदै बस्न सक्ने अवस्था थियो नत अरुको बारेमा सोच्ने ।’

सरकार कहिले पुग्छ ?
बाढी पहिरोबाट पीडित, विस्थापित भएकार स्कुल क्लबको खेलमैदानमा बसेका छन् । उनीहरुको उद्धारको लागि नेपाली सेनाको हेली मार्फत् संघीय सांसद भूपेन्द्र थापा मराङ पुगे तर पीडितलाई भेटेनन् । त्यहाँका एक स्थान्ीयले भने, ‘साँसद आउनुभएको थियो विपतमा केही आश्वसन दिनुहुन्छ, भन्ने लागेको थियो, उहाँ पीडितलाई समेत नभेटी जानुभयो ।’

स्थानीले अहिले कुवा, पधेंरा र खोल्साको दूषित खानेपानी उपभोग गरेका छन् । झाडापखला, आउँ, रुघाकोकी, जन्डिस, ज्वरोको जोखिम बढेको छ । पूर्वमन्त्री थममया थापा बेनी आएर पनी बाढी पहिरो प्रभावति क्षेत्रमा पुगेकी छैनन् । मन्त्री समेत पाएको जिल्लाले आफ्नै जिल्लामा भएको बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका आएका छनैन् । ‘भोट माग्न भए घरघर आउँथे यो विपतमा कहाँ आउछन् र ?’ एक पहिरो पीडितले भने ।

पोखराका घाइतेको उपचार प्रदेश सरकारले गर्ने
धवलागिरी र मालिका गाउँपालिका बाढी पहिरोबाट घाइते भएर पोखरा उपचार गराई रहेका घाइतेको उपचार खर्च गण्डकी प्रदेश सरकारले गर्ने भएको छ । ग्ण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनका स्वकीय सचिव प्रकाश पौडेलका अनुसार पोखरामा उपचाररत घाइतेको उपचार प्रदेश सरकारले गर्ने भएको हो ।

घाइते उपचारत मनिपाल शिक्षण अस्पतालाई घाइतेको खर्च प्रदेश सरकारले व्यहोर्ने भनी पत्र पठाई सकिएको छ । पोखरामा ७ जनाले उपचार गराइरहेका छन् । तर बेनीमा उपचार गराईरहेका र काठमाडौँमा उपचार गराएका घाइतेको खर्च कस्ते व्यहोर्ने भन्ने टुंगो लागेको छैन ।

तपाईको प्रतिक्रिया