भूकम्पले घर लग्यो, पहिरोले परिवार

समाधान संवाददाता २०७७ साउन १ गते ८:१६

अनुप पौडेल, पोखरा

Advertisement

७२ वैशाखकाे भूकम्पले घर भत्कायो । १५ लाख खर्चेर घर बनाए । अहिले पहिरोले त्यो घर पनि लग्यो । घरमात्रै लगेको भए नयाँ बन्थ्यो, तर त्यही घरमा पुरिएर परिवार उजाडियो । तनहुँको व्यास नगरपालिका–९ माझफाँटका केशर थापाको मन ५ वर्षमा दोस्रोपटक फाटेको छ ।

घटना २९ असारको हो, आँखैअघि श्रीमती कमला, २ छोरा र बुहारी गरी ४ जना पहिरोमा पुरिए । सँगै रहेकी श्रीमतीलाई भेलले लग्यो । ‘माथि डाँडाबाट पहिरो खसेको देखियो । भाग्दाभाग्दै श्रीमतीलाई बगायो । मैले रुखको ठुटो समातेँ,’ गण्डकी मेडिकल कलेजमा उपचाररत केशरले भने ।

Advertisement

जताततैको पहिरोले अस्पताल कसरी लैजाने भन्ने भयो । छिमेकीले आधा घन्टा बोकेर एम्बुलेन्ससम्म पुर्‍याए ।

रुखको ठुटोमा समातेर ज्यान बचाएका उनलाई छिमेकीले ताने । देब्रे खुट्टाको हड्डी भाँचिएको रहेछ । ठाउँठाउँमा पहिरो खसेकाले अस्पताल कसरी लैजाने भन्ने समस्या भयो । पछि छिमेकीले आधा घन्टा बोकेर एम्बुलेन्ससम्म ल्याइपु¥याए ।

Advertisement

केशरको अहिले गण्डकी मेडिकल कलेजको अर्थोपेडिक वार्डमा उपचार भइरहेको छ । उनी बेड नम्बर ३० मा दिन कटाइरहेका छन् । फलामे रडमा देब्रे खुट्टा अडाइएको छ ।

खुट्टाले त सहायता पाएको छ, तर मन भुलाउने बाटो केही छैन । विदेश जान ठिक्क परेका छोरा अनि हात दिँदादिँदै पहिरोले पर लगेको श्रीमती सम्झिन्छन् । अनि भन्छन्, ‘वडाबाट कागजात मिलाएको थियो । यस्तो नभएको भए गइसक्थ्यो ।’

मनोजले बुवालाई भनिरहन्थे, ‘कम्पनी राम्रो छ । लकडाउनमा पनि पैसा हाल्देको छ ।’ तर केशर र कमलाले छोरा मनोजको टाउकोमा हात राखेर आशीर्वाद दिन पाएनन् । २ वर्ष पहिले मनोजसँग बिहे गरेकी अन्जनाले पनि अंगालिएर बिदा गर्न पाइनन् ।

छोरालाई जाँदा चाहिने खर्च भनेर दराजमा राखेको पैसा पनि भेलसँगै बग्यो । ‘८/९ तोला सुन थियो । छोरा जानलाई ५० हजार खर्च अलग्गै राख्देका थियौं । दिनुपर्ने ठाउँमा सुन राखेर दिनुपर्ला भन्ने सल्लाह भइराखेको थियो । घर पनि पुरिहाल्यो, अब..,’ यति भन्दै गर्दा केशर रोकिए ।

१२ कक्षा पढ्दै गरेका कान्छा छोरा राजेश पनि विदेश जाने तयारीमा थिए । १ वर्ष पहिले चिनजानकै म्यानपावरमा १ लाख डिपोजिट भन्दै बुझाए । तर न पैसा आयो, न भिसा ।

‘म्यानपावरले पैसा फिर्ता दिन्छु भनेको थियो । त्यो पनि दिएको छैन । लापत्तै भयो,’ केशरले सुनाए । ३० वर्ष विदेशी भूमिमा बिताएका उनी गत वर्ष जेठमा स्वदेश फर्किएका हुन् ।

मुक्तिनाथ विकास बैंकबाट ऋण लिएका उनलाई अब त्यो कसरी तिर्ने भन्ने चिन्ता छ । जुन घरमा पहिरो खस्यो, त्यसैलाई धितोमा राखेर ऋण झिकेका थिए । विदेश जानभन्दा बाख्रा पाल्न लागे ।

ऋणले जोडजाम गरेका १० बाख्रा, ५ पाठापाठी अनि २ वटा भैंसी पहिरोमै बगे । दाइ केशरलाई कुर्न बहिनी शारदा थापा अस्पतालमै बसेकी छन् । छियाछिया भएको दाइको मन सम्हाल्छिन् ।

घरमाथि जंगल भए पनि कहिल्यै पहिरो नखसेको शारदा सुनाउँछिन् । ‘घरमाथि वन छ, ठूलो पानी पर्दा भल आइहाल्थ्यो । छेउमा खोला छ । भल कटेर त्यहीँ जान्थ्यो,’ ४५ वर्षीया शारदाले भनिन्, ‘बाआमा उमेर पुगेरै बित्नुभयो । हामी पनि यत्रो भइयो तर कोही बुढाखाडाले पहिरो गयो भनेको पनि सुनिएन ।’

उपचार खर्च भनेर ल्याएको ५० हजार सकिन लागिसक्यो । त्यसपछि के गर्ने भन्ने टुंगो छैन । सरकारले पहिरोपीडितलाई सहयोग गर्छ भन्ने सुनेका दाजुबहिनी अहिलेसम्म आफैले खर्च गरिरहेको सुनाउँछन् ।

‘एक ठाउँमा १६ सय, एक ठाउँमा २२ सय, २३ सय….,’ हिसाब गर्दै बहिनी शारदा भन्छिन्, ‘दमौलीको भाइसँग ५० हजार ल्याएको हो । ४० हजार सक्किसक्यो ।’

खुट्टाको हड्डी भाँच्चिएका केशरको अप्रेसन हुन सकेको छैन । कोरोना परीक्षणका लागि पठाएको स्वाबको रिपोर्ट नआउँदा अप्रेसन रोकिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. टुमाया घलेले बताइन् ।

मेसु डा. घलेले भनिन्, ‘स्वाब पठाएका छौं । अहिले ल्याबमा लोड कम भएकाले धेरै समय लाग्दैन । रिपोर्ट आउनेबित्तिकै सर्जरी हुन्छ ।’

तस्बिरमा गण्डकी मेडिकल कलेजमा उपचाररत केशर थापा । साथमा उनकी कान्छी बहिनी शारदा थापा (बायाँ) र छिमेकी पविता कुँवर (दायाँ) । तस्बिर : अनुप/समाधान

तपाईको प्रतिक्रिया