सांसद तुलाचनले गरे बेनी—जोमसोम सडकखण्डको निरीक्षण

समाधान संवाददाता २०७७ साउन १ गते २०:२६

एसके थकाली
जोमसोम, १ साउन

Advertisement

वर्षाका कारण गत सोमबारदेखि अवरुद्ध बेनी—जोमसोम सडकखण्डको संघीय सांसद प्रेमप्रसाद तुलाचन सहितको टोलीले स्थलगत निरीक्षण गरेको छ ।

स्तरोन्नतिको क्रममा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको थासाङ गाउँपालिकाको सीमाना काभ्रे भीरस्थित बेनी—जोमसोम सडक भासिएपछि ३ दिनअघि देखि बेनी—जोमसोम सडक अवरुद्ध बनेको छ ।

Advertisement

सडक भासिएको स्थानमा बेनी—जोमसोम सडकमा सवारी तथा सर्वसाधारणलाई आउजाउमा समस्या बनेपछि मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले अवरुद्ध सडकको निरीक्षण गरेको थासाङ ४ का वडाध्यक्ष विशाल शेरचनले जानकारी दिए ।

सडक भासिएर सडक अवरुद्ध बनेपनि ३ दिनयता सडक खुलाउने काम हुननसकेको वडाध्यक्ष शेरचनले बताए । सडक निरीक्षणपछि सांसद तुलाचनले शीघ्र सडक खुलाउन पहल गर्ने जनाएका छन् ।

Advertisement

सांसद तुलाचनका अनुसार शुक्रबारदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयबासी र करिडोर सडक आयोजनाको सहयोगमा ट्र्याक खोल्ने काम सुरुआत गर्ने बताएका छन् ।

सबैको सामूहिक पहलमा एकसाताभित्र सडक खोल्न सकिने सांसद तुलाचनले उल्लेख गरे । बेनीदेखि मुस्ताङतर्फ जोडिने उक्त सडकमा वर्षेनी पहिरो जाने, भासिने र नदी कटानले सडक अवरुद्ध हुँदै आएको छ ।

कडा चट्टान काटेर विस्तार हुँदै गरेको उक्त सडकमा सोमबार करिब ५० मिटर सडक भासिएको र अहिले त्यहाँ सडकको ट्र्याक नरहेकाले सडक खुलाउने काममा बाधा पुगेको बेनी–जोमसोम सडक आयोजनाका सवईन्जिनीयर किरण घिमिरेले बताए ।

निरन्तरको वर्षाले मुख्य सडकको करिब २० मिटर लम्बाई तथा करिब ७ मिटर चौडा सडक भासिएको सवईन्जिनीयर घिमिरेको भनाइ छ । सडक भासिएको स्थान मुस्ताङ प्रवेश गर्ने सीमाना हो ।

नदीले सडकको आधार नै बगाएकालेसडक खुलाउन अप्ठेरो परेको हो । सडकको आधार उठाउन सम्भव नदेखिए सडक माथिको चट्टान फोरेर सडक विस्तार गरिने सवईन्जिनीयर घिमिरेले जानकारी दिए ।

म्याग्दी र मुस्ताङको प्रवेश क्षेत्रका बेनी–जोमसोम सडक भासिएर सडक अवरुद्ध बनेपछि मुस्ताङमा खाद्यान्न तथा निर्माण समाग्री ढुवानीमा समस्या परेको छ ।

याे पनि :

बेनी—जोमसोम सडकको काभ्रेभीरमा सडक भासियो

तपाईको प्रतिक्रिया