पोखरा स्वास्थ्य विज्ञानमा एमडी पढाइ सुरु
![](https://www.samadhannews.com/wp-content/uploads/2020/07/MD-study-1.jpg)
ईश्वर देवकोटा, पोखरा
स्थापनाको ४ वर्षपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ चिकित्सा शिक्षा अन्तर्गत स्नातकोत्तरमा पढाइ सञ्चालन थालेको छ । चिकित्सा शिक्षा आयोगले सिफारिस गरेअनुसार १७ सिटमा विद्यार्थी भर्ना लिई पढाइ सञ्चालनमा आएको हो ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान तथा शुक्रराज ट्रपिकल अस्पतालसँगको समन्वयमा विभिन्न ६ विभागमा पढाइ हुने प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले जानकारी दिए । जनरत सर्जरी ४, प्रसूति तथा स्त्रीरोग ४, हाडजोर्नी २, जनरल मेडिसिन २, बालरोग २, एनेस्थेसियोलोजी ३ गरी १७ सिट स्वीकृत भएको उनले बताए ।
उक्त कोटामा खुलातर्फका १२ र सरकारी तर्फबाट ५ जना भर्ना भएका छन् । उनीहरुको पठनपाठनमा सरकारको पूर्ण छात्रवृत्ति सहयोग छ । साथै, प्रतिष्ठान अन्तर्गतकै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा विद्यार्थीले अनिवार्य ड्युटी गर्नुपर्ने भएकाले उनीहरुले पारिश्रमिक पाउनेछन् ।
बिहीबार विद्यार्थीलाई स्वागत गरी अभिमुखीकरण समेत गरिसकेको उपकुलपति प्राडा थापाले जानकारी दिए । ‘निकै लामो संघर्षपछि प्रतिष्ठानमा पढाइ सञ्चालनमा आएको छ,’ उपकुलपति प्राडा थापाले भने, ‘प्रतिष्ठानको उद्देश्य अनुसार अस्पताल सञ्चालन, जनशक्ति उत्पादन र अनुसन्धानमूलक कार्यमा निरन्तरता दिनेछौं ।’ प्रतिष्ठानलाई आवश्यक पर्ने शैक्षिक निकायमध्ये स्वास्थ्य शिक्षा विभाग र अनुसन्धानात्मक कार्य अघि बढाउन आश्यक इन्स्टिच्युसन रिभ्यु कमिटी स्थापना भइसकेको प्राडा थापाले बताए । प्रतिष्ठानले ३ वटा जर्नलसमेत प्रकाशित गरिसकेको उनले सुनाए ।
‘स्नातकोत्तर तहबाट सुरु गरी एमबिबिएस नर्सिङ, जनस्वास्थ्य, एलाइड हेल्थ साइन्सेस एवं डिएम, एमसिएच जस्ता विशेषज्ञ कार्यक्रम सञ्चालन गर्न पूर्वाधार तयारीको काम अघि बढिसकेको छ,’ उनले भने, ‘एमडि÷एमएस को अध्यापन सञ्चालन गर्न खोजेको ६ विभागहरुमा जनशक्ति तयार गरिसकेका छौं ।’
मेडिकल, सर्जिकल, अर्थोपेडिक, गाइनेकोलोजी, पेडियाट्रिक र एनेस्थेसियाका चिकित्सकमा जिम्मेवारी तोकिएको उनले बताए । मेडिकल काउन्सिलले तोकेको योग्यता, अनुभव र शोधको आधारमा प्रोफेसर, एसोसियट प्राफेसर, असिस्टेन्ट प्रोफेसर र लेक्चरको जिम्मेवारी प्रदान गरी स्किल ल्याबको निर्माण भएको प्राडा थापाले बताए ।
प्रतिष्ठानको प्राज्ञिक जनशक्तिमा प्राध्यापक १०, सहप्राध्यापक १३, सहायक प्राध्यापक ८ र लेक्चरर ४६ जना गरी ७७ जना रहेको प्राडा थापाले जानकारी दिए ।
प्रतिष्ठान सभा सदस्य आनन्दराज मुल्मीले ३ वर्षको मेहनतको प्रतिफल देखिएको बताए । प्रतिष्ठानको दोहोरो जिम्मेवारी भएकाले गुणस्तरीयतामा ध्यान दिनुपर्ने उनको भनाई छ । अस्पतालमा आउने बिरामीको सेवा प्रवाहको गुणस्तरसँगै प्रतिष्ठानले अबदेखि जनशक्ति उत्पादनमा पनि सोहीअनुसार अगाडि बढ्नुपर्ने उनले बताए ।
डा केसीलाई निजी मेडिकल कलेजले सेल्टर दिए : पूर्वस्वास्थ्य मन्त्री अधिकारी
प्रष्ठिान स्थापनादेखि सञ्चालनमा आफू स्वास्थ्य मन्त्री हुँदा प्रक्रिया अघि बढाएको पूर्वस्वास्थ्य मन्त्री तथा कास्की प्रतिनिधि सभा १ का सांसद खगराज अधिकारीले स्मरण गरे । प्रतिष्ठानले चिकित्सा शिक्षा अध्यापन गराउने सन्दर्भमा विभिन्न बाधाहरु आइपरेको उनले सुनाए ।
![](https://www.samadhannews.com/wp-content/uploads/2020/07/Khagraj-adhikari.jpg)
सरकारका निकायबाटै सहनु परेको झमेला र निजी मेडिकल कलेजको स्वार्थमा डा गोविन्द केसी प्रतिष्ठान विरुद्ध लागेको उनको भनाइ छ ।
‘गोविन्द केसीले आन्दोलन त गरे कुरा अर्कै छ,’ उनले भने, ‘यहाँ हाम्रो स्वास्थ्य विज्ञान प्रतिष्ठान चल्न नदिन यहाँका प्राइभेट मेडिकल कलेजले गोविन्द केसीलाई सेल्टर दिए ।’
केसीलाई बोलाएर आफूले मेडिकल काउन्सिलको अध्यक्ष हुन आग्रह गर्दा नमानेको तर उनले प्रतिष्ठान चल्न नदिन प्राइभेट मेडिकल कलेजको कुरा सुनेको नेकपा नेता अधिकारीले सांसद अधिकारीले सुनाए । ‘मेडिकल कलेजकाले होटलमा बस्न दिने रैछन्, बुद्धि (प्रतिष्ठानका उपकुलपति)लाई यहाँ कसरी चलाउँछन् भनेर थर्काउने रैछन्,’ उनले भने ।
पढ्ने विद्यार्थीले नै मुद्दा हाल्ने, प्रश्नपत्र आउट गर्ने लगायतका कामले प्रतिष्ठानलाई अघि बढ्नबाट रोकिराख्न प्रयास गरेको सांसद अधिकारीले बताए ।
प्रतिष्ठानबाट उत्पादित जनशक्तिलाई प्रदेशका सबै जिल्ला र पालिकामा सेवामा खटाइने उद्देश्यका साथ अध्यापन अघि बढाइएको उनको दाबी छ । बर्सेनि जनशक्ति उत्पादन थपिदै जाँदा भविष्यमै सबै वडावडामा पुग्ने गरी विशेषज्ञ चिकित्सा सेवा सरकारले दिन सक्ने उनले सुनाए ।
प्राज्ञिक उन्नयनका लागि प्रतिष्ठानले सञ्चालन गरेको कार्यक्रम फलदायी हुने उनको विश्वास छ ।
४० शैय्याकाे छुट्टै आइसोलेसन
गण्डकी प्रदेशको एकमात्र कोरोना डेडिकेटेड अस्पतालमा बिहीबारदेखि ४० शैय्याकाे छुट्टै आइसोलेसन कक्ष सञ्चालनमा आएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको रेक्ट्रोफिटिङ गर्ने समयमा स्थान्तरण गर्ने भनिएको भवन (डिक्यान्टिङ)लाई आइसोलेसनमा रुपान्तरण गरिएको हो ।
१२ बेडको आइसियु कक्ष व्यवस्था आइसोलेसनमा गरिएको छ । प्रत्येक कक्षमा छुट्टाछुट्टै शौचालयको व्यवस्था छ । गुणस्तरीय बेडका साथै चिकित्सक र बिरामीको बीचको संवादलाई सहज बनाउन स्पीकरसहितको प्रविधि जडान गरिएको छ ।
यसअघि अस्पतालमा १० बेडको आइसोलेसन बनाइएको थियो । उक्त कक्षलाई प्रि आइसोलेसनमा रुपान्तरण गरिएको प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले जानकारी दिए । ‘कोरोना डेडिकेटेड अस्पतालको रुपमा सूचीकृत रहे पनि यहाँको पूर्ववत् सञ्चालनमा रहेका कुनै पनि सेवा नरोकिकनै कोरोनाका संक्रमितहरुको उपचार गरिरहेका छौं,’ उनले भने ।
अस्पतालको आइसोलेसनमा कोरोनाबाट संक्रमित ९१ जना थिए । २ जनाको मृत्यु भएको थियो भने, २ जनालाई उनीहरुकै जिल्ला बागलुङ र स्याङ्जा स्थानान्तरण गरिएको थियो । अस्पतालबाट कोरानो निको भई घर फर्कनेको संख्या ८६ पुगेको छ । हाल आइसोलेसनमा ५ जनाको उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्राडा थापाले जानकारी दिए । अस्पतालले कोरोना नियन्त्रणका लागि फिवर क्लिनिकसमेत सञ्चालनमा ल्याएको थियो । उक्त क्लिनिकबाट १ हजार ७ सय ३५ जनाले सेवा लिएका छन् ।
![](https://www.samadhannews.com/wp-content/uploads/2020/07/Isolation-of-pkr-2.jpg)
तपाईको प्रतिक्रिया