खुल्यो संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल
लेखनाथ सामुदायिक अस्पतालको स्वामित्व प्रदेशलाई
रामशरण नेपाली, लेखनाथ
समुदायबाट स्थापित लेखनाथ सामुदायिक लायन्स अस्पताल गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । प्रदेशले उक्त अस्पताललाई संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल बनाएको छ ।
पोखरा ३० मोहोरियाको अस्पतालको स्वामित्व प्रदेश सरकारलाई हस्तान्तरण गर्ने सम्झौतापत्र बिहीबार अस्पताल सञ्चालक समितिका अध्यक्ष रमानाथ पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग आदानप्रदान गरे ।
सम्झौतापत्रमा अस्पतालका तर्फबाट अध्यक्ष पौडेल र प्रदेश सामाजिक विकास मन्त्रालयका निमित्त सचिव तेजप्रसाद काफ्लेले हस्ताक्षर गरेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोदविन्दु शर्मा रोहबर बसेका छन् । मुख्यमन्त्री गुरुङले संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल सुरुआत गरे ।
२०६० साल फागुनमा महायज्ञ गरी उक्त अस्पताल निर्माण सुरुआत गरिएको थियो । त्यस बखत २ करोड रुपैयाँ जम्मा भएको थियो । रेवतीरमण र शान्ति पौडेल दम्पतीले अस्पतालका लागि सर्वस्व दान गरेका थिए । अस्पतालको सुरुआत भने २०६२ सालदेखि भएको थियो ।
अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिकसहित २५ कर्मचारी छन् । ती करारमा नियुक्त भएका हुन् । प्रदेशले स्वामित्व ग्रहण गरे पनि तत्काल अहिलेकै कर्मचारीबाट अस्पतालको सेवा उपलब्ध हुने मुख्यमन्त्री गुरुङले बताए । उनले भने, ‘भोलिका दिनमा पद सिर्जना गरी लोकसेवा आयोगबाट पदपूर्ति नहुँदासम्म उहाँहरुले नै काम गर्नुहुन्छ, काम गरिरहेकैले पनि लोकसेवाबाट नाम निकाल्न सक्नुहोला । आवश्यकता अनुसार कर्मचारी करारमा पनि राख्न सकिन्छ ।’
प्रदेश सरकारले अस्पताल विकास समिति गठन नगर्दासम्म अहिलेकै सञ्चालक समितिबाट काम हुने जानकारी पनि मुख्यमन्त्री गुरुङले दिए । ‘मूलभूत कुरा सरकारले भरथेग गरेर व्यवस्थापन राम्रो भयो भने अस्पताल राम्रो चल्छ,’ उनले भने, ‘व्यवस्थापन त्यही क्षेत्रका बुद्धिजीवीलाई दिनुपर्छ ।’ संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल काठमाडौंको टेकुपछि यो नै देशको दोस्रो भएको उनले बताए । यस्तो अस्पताल सबै प्रदेशमा बनाउने संघीय सरकारको नीति भए पनि गण्डकी प्रदेशले पहिलोपटक खोलेको उनले सुनाए । स्वास्थ्य र शिक्षामा सरकारले गर्ने लगानी कहिल्यै खेर नजाने पनि उनको भनाइ थियो ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले जनस्तरबाट निर्माण भएको अस्पताल सरकारले लिन लायक बनाएकोमा गर्व गर्नुपर्ने बताए । ‘जनस्तरबाट राम्रा कामहरु हुन्छन् भन्ने कुराको यो गतिलो उदाहरण हो,’ उनले भने ।
जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्रीले अस्पतल स्थापनार्थ स्थानीयले गरेको योगदानको प्रशंसा गरे ।
वडा नम्बर ३० का अध्यक्ष श्रीराम पोखरेलले अस्पताल प्रदेश सरकारलाई हस्तान्तरणपछि सञ्चालन हुँदै आइरहेका सेवा सुविधाहरु थप हुने विश्वास व्यक्त गरे ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष रमानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब ३२५ बी १ नेपालका विशेश्वर आचार्य, अस्पतालका मेडिकिल सुपरिटेन्डेन्ट डा. प्रकाश भट्टराई, सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख डा. रामबहादुर केसी, अस्पताल समितिका सचिव कृष्ण तिवारी र समाजसेवी मेजर रामप्रसाद गुरुङले मन्तव्य राखेका थिए ।
अस्पताल सञ्चालक समितिको २०७७ वैशाख ७ गतेको निर्णय र असार ६ गतेको आकस्मिक साधारण सभाले अस्पताल प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । अस्पतालको चल अचल सबै सम्पति प्रदेशलाई सुम्पने सभाको निर्णय थियो ।
प्रदेश सरकारले हस्तान्तरण भई आएको अस्पतालमा सामान्य चिकित्साको बहिरंग समेतका सेवा आवश्यकताका आधारमा प्रचलित कानुनको अधीनमा रही व्यवस्थापन तथा सञ्चालन गर्ने सम्झौतापत्रमा उल्लेख छ । अस्पतालको नामाकरण प्रदेश सरकारले गरे पनि स्थापनामा लेखनाथ लायन्स क्लबको योगदानको कदर गर्दै कुनै एक कक्षलाई लायन्सको नामबाट नामाकरण गर्ने पनि सम्झौतामा छ ।
तपाईको प्रतिक्रिया