सडकले चुँड्यो प्रेमबहादुरका लालाबाला

समाधान संवाददाता २०७७ साउन ३ गते १३:००

अनुप पौडेल, पोखरा

Advertisement

लकडाउनले विद्यालय बन्द भयो । पोखरा लामाचौरकी १६ वर्षीया रेजिना विक फुर्सदमा भइन् । माछापुच्छ्रे गाउँपालिका–८ खोरामुखको पाखामा हजुरबा–आमालाई भेट्न आउजाउ गरिरन्थिन् ।

पछिल्लोपटक २ साता पहिला उनी फेरि गाउँ गइन् । गाउँमा उनका हजुरबुवा÷आमा र कान्छा अंकलको परिवार बस्दै आएको छ ।

Advertisement

कान्छा अंकलका छोरा समीर (१४) रेजिनालाई खेल्ने साथी भइरहेका थिए । हेम्जा बस्ने माइला अंकलका छोरा कुशल (१६) पनि ३ दिन पहिले गाउँ गए ।

साउने संक्रान्ती मनाए । तीनै जना दिदीभाइ बिहीबार एउटै कोठामा सुते । तर बिहान उठ्न पाएनन् । निद्रामै रहेका उनीहरु बिहान साढे ५ बजे पहिरोमा पुरिए ।

Advertisement

बाहिर उज्यालो भएको हेर्न पाएनन् । ‘तीनजना आडैको कोठीमा सुतेका रहेछन् । हजुरबा–आमा छुट्टै कोठामा थिए । बिहान माथिबाट तीनजना सुतेको कोठी पहिरोमा पुरियो,’ छिमेकी ऋषि गौतमले भने ।

हजुरबुवा प्रेमबहादुर र हजुरआमा जुनकुमारी निद्रामै थिए । घरको टिन बजेर आवाज आएपछि बल्ल ब्युँझिए ।

बाहिर निस्केर हेर्दासम्म ३ छोराका ३ सन्तानलाई पहिरोले पुरिसकेको थियो । ‘उहाँहरुले ठूलो आवाज आएपछि थाहा पाउनुभयो । पानी परिरहेका बेला प्रहरीसँगै मिलेर खोजी गर्दा तीनै जना मृत भेटिए,’ छिमेकी गौतमले भने ।

प्रेमबहादुरका जेठो छोरा हिरालालको परिवार लामाचौर र माइला कृष्णको परिवार हेम्जामा बस्छन् । कान्छा छोरा खेमराज भने परिवारको सम्पर्कमा छैनन् ।

कान्छी बुहारी साउने संक्रान्ती मान्न १० वर्षे छोरा लिएर माइत गएकी थिइन् । माइत गएकी उनले बिहानै दुखदः खबर सुन्नप¥यो । माछापुच्छ्रे–२ काभ्रेबाट फर्किएर आउँदा जेठो छोरा समीरको सास भेटिनन् ।

घर पछाडि रहेको पर्यटकीय गाउँ ल्वाङ जाने बाटोबाट खसेको पहिरोले समीरसहित ३ जनाको मृत्यु भएको हो । बाटोको डिलबाट खसेको डिस्को घरको कोठीमा परेको वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए ।

उनका अनुसार पहिरो प्रभावित क्षेत्रबाट ८ परिवारका ४३ जनालाई सुरक्षित स्थानमा सारिएको छ । सम्भावित जोखिमलाई ध्यानमा राखेर स्थानीय रविलाल विकको परिवारका ६, डिलबहादुर विकका ७, चितबहादुर विकका ६, जसबहादुर विकका ६, आइबहादुर विकका ४, नारायण विकका ६ र डिलबहादुर विक (सानो) का ४ गरी ३९ सदस्यलाई सुरक्षित ठाउँमा सारिएको हो ।

त्यसबाहेक पीडित परिवारका ४ सदस्यलाई पनि स्थानान्तरण गरिएको छ । विस्थापित भएकामध्ये २ परिवार सामुदायिक भवनमा, १ परिवार स्थानीय विद्यालय र बाँकी परिवार स्वेच्छाले आफन्तकहाँ बसेको वडाध्यक्ष दवाडीले जानकारी दिए । उनले भने, ‘विभिन्न संघसंस्थाले राहत वितरण गर्छौं भनेर हामीसँग सम्पर्क गर्नुभएको छ । शनिबारदेखि राहत वितरण थाल्छौं ।’

तपाईको प्रतिक्रिया