बहसमा दलित शब्द
— दलित कुनै जातिवाचक शब्द होइन, न त यो पेसा, सोचविचार र व्यवहारसँग सम्बन्धित नै छ
— खास गरी दलित आन्दोलनको मर्म नबुझेका र यस आन्दोलनसँग धेरै नजिकको नाता, सम्बन्ध नराख्नेहरुले दलित शब्द हटाउन विशेष जोड दिइरहेका छन् ।
प्रेम विश्वकर्मा ‘गदाल’
नेपाली समाजमा हजारौं वर्षदेखि सुरु हुँदै आएको विभेद तथा छुवाछुत प्रथा अद्यावधि जीवितै नै छ । यस किसिमको कुप्रथाले नेपाली समाजलाई गरिबी र पछौटेपनमा पारेको त छ नै मानिसमानिस बीचको विभेदले यो देशका करिब एक चौथाइ कथित अछुत, शुद्र वा दलित भनिएका वर्ग समुदायका मानिसहरु माथि उठन सकिरहेका छैनन् । मानिस भएर सम्मानित जीवन जीउन पाइरहेका छैनन् ।
पछिल्लो समय दक्षिण एसिया विशेष गरी भारतीय उपमहाद्वीप र नेपाली समाजमा हिजो अछुत अवस्थामा रहन बाध्य पारिएकाहरुलाई दलित भन्ने गरिएको छ । जसलाई दलित भनिएको छ, तिनीहरु हिन्दु वर्णाश्रम व्यवस्थाले शुद्र बनाएका वा जन्म, वंश, पेसा र जातका आधारमा अछुत र विभेदमा पारिएकाहरु हुन् । राजनीतिक र प्रशासनिक क्षेत्रमा बञ्चितीकरण, बहिष्करणमा पारिएकाहरु हुन् ।
आर्थिक रुपमा कुनै पनि पेसा व्यवसाय गर्न वा नगर्न बाध्य पारी शोषण र उत्पीडनमा पारिएकाहरु हुन् । र धार्मिक, सामाजिक र सांस्कृतिक रुपमा अपमान, घृणा र तिरस्कार गर्दै जातीय अन्तर्घुलनमा प्रतिबन्ध लगाइएकाहरु हुन् ।
विस ं१९१० मा कथित जातीय एकता र सामाजिक सुव्यवस्था निर्माण गर्ने धेयले राणा प्रधानमन्त्री जंगबहादुर राणाले जारी गरेको मुलुकी ऐनले विभेदलाई कानुनी मान्यता दियो ।
समाजमा पानी नचल्ने छोइछिटो हाल्नुपर्ने (मासिने शुद्र) जातजाति भनी जातीय विभेद ग¥यो । हिन्दु धर्मको वर्ण विभाजन अनुसार मानिसलाई बाँडिएको चार वर्णमध्ये सबैभन्दा तल पारिएको एक वर्ण शुद्र, जसलाई हाल हाम्रो समाजमा दलित भन्ने गरिएको छ ।
समाजमा पानी नचल्ने छोइछिटो हाल्नुपर्ने (मासिने शुद्र) जातजाति भनी जातीय विभेद ग¥यो । हिन्दु धर्मको वर्ण विभाजन अनुसार मानिसलाई बाँडिएको चार वर्णमध्ये सबैभन्दा तल पारिएको एक वर्ण शुद्र, जसलाई हाल हाम्रो समाजमा दलित भन्ने गरिएको छ ।
राष्ट्रिय दलित आयोग गठन गर्न बनेको ऐन २०५९ को प्रस्तावनामा दलित जाति वा समुदाय भन्नाले जातीय भेदभाव र छुवाछूतको मारमा पारी सामाजिक, आर्थिक, शैक्षिक, राजनीति एवं धार्मिक क्षेत्रमा समाजको सबैभन्दा पछाडि पारिएको र मानवीय सम्मान एवं सामाजिक न्याय पाउन नसकेको जात र समुदायलाई बुझाउँछ भनी उल्लेख गरिएको छ ।
अहिले सरकारी निकाय र विभिन्न संघ संस्थाहरुले दलितको त्यसै परिभाषालाई व्यावहारिक रुपमा बुझ्दै र लागु गर्दै आएका छन् । यसरी सरकारी कामकाज र नेपालको संविधानमा लिपिबद्ध गरिएको दलित शब्दका बारेमा आज हामीबीच व्यापक चर्चा परिचर्चा, बहस छ्लफल चलिरहेको छ ।
दलित के हो ? दलित को हो ? के अब दलित शब्दको औचित्य र सान्दर्भिकता समाप्त भएकै हो त ? आज यस शब्दको प्रयोगका बारेमा अन्योल, भ्रम र वास्तविकता माथि धेरै प्रश्न चिन्हहरु खडा भएका छन् ।
दलित कुनै जातिवाचक शब्द होइन, नत यो पेसा, सोचविचार र व्यवहारसँग सम्बन्धित नै छ, यो त एउटा विशेष अवस्था र जातीय मुक्ति आन्दोलनको नाम हो ।
दलित शब्द संस्कृत भाषाको ‘दल‘ बाट निर्माण भएको हो । जसको अर्थ टुक्रिनु, चर्कनु वा खुल्नु, दबिनु, हेपिनु भन्ने अर्थमा प्रयोग हुँदै आएको छ । अझ सरल नेपाली शब्दकोषमा ‘दलित’ शब्दको सामान्य अर्थ दलिएको, पिसिएको, खण्डित गरिएको, विनष्ट गरिएको, हेपिएको आदि भन्ने बुझिन्छ ।
यसरी दलित भन्नाले दबाइएको, हेपिएको, टुक्राइएको तथा सामाजिक मूल्य मान्यताका आधारमा समाजमा मानसम्मान, इज्जत प्रतिष्ठाबाट विमुख तथा निषेध गरिएको जाति तथा समुदाय नै दलित हो ।
विगतमा दलितभित्र पर्ने समुदायलाई कथित गैरदलित तथा शासकहरुले शुद्र, अछुत, पानी अचल, कुजात, पउनी, अवर्ण आदि अपमानजनक शब्दहरुले सम्बोधन गर्दै आएका थिए ।
दलित शब्दको उठान सर्वप्रथम भारतीय दलित मुक्ति आन्दोलनका योद्धा तथा समाज सुधारक ज्योति राव फूले (सन १८२७—१८९०) ले भारतमा गरेका हुन् ।
उनले यो शब्द भारतमा ब्रिटिसहरुले त्यहाँका अछुतहरुलाई सम्बोधन गर्ने अंग्रेजी नाम ‘डिप्रेस क्लास’ को मराठी भाषामा अनुवाद गरी गरेका थिए । विशेष गरी सन् १८८८ मा महाराष्ट्रमा चमार तथा महर जातिका मानिसले पहिलोपटक मराठी भाषामा ‘दलित’ शब्द प्रयोग गर्न थालेका हुन् ।
तर धेरै समयको अन्तरालपछि सन १९२७ को आसपासमा हिन्दी तथा मराठी भाषामा दलित शब्दको पुनः प्रयोग हुन थालेको हो । त्यसैको सेरोफेरोमा अर्थात् सन् १९३० को दशकमा डा. भीमराव अम्बेडकरले यो शब्दको कताकति प्रयोग गर्न थाले । पछि उनले विस्तारै यस शब्दलाई आफ्नो भाषण र लेखनमा प्रयोग गर्दै सामाजिक तथा राजनीति मान्यताका रुपमा अगाडि बढाएका हुन् ।
सुरूआतको धेरै समयसम्म यस शब्दले खासै महत्व पाउन नसकेता पनि यस शब्दको व्यापक प्रयोग भने सन् १९७० को दशकमा भारतको दलित प्यान्थर भन्ने पार्टीले आफ्नो घोषणापत्रमा राखेपछि भएको हो ।
त्यसपछि दलित प्यान्थरले आमअछुत, उत्पीडित समुदायबीच दलित शब्दलाई व्यापक मात्र बनाएन दलित शब्द क्रान्ति, विद्रोह, संघर्ष, आत्मसम्मान, मुक्ति र शक्तिका रुपमा स्थापित गर्दै दलित मुक्तिको आन्दोलनलाई सशक्त रुपमा अगाडि बढायो । अनि यसले भारत भरी नै व्यापकता पायो र यसको प्रयोगको प्रभाव नेपालमा पनि पर्न थाल्यो ।
नेपालको सन्दर्भमा विसं २०११ सालतिर दलित शब्द फाटफुट रुपमा प्रचलनमा आएता पनि यस शब्दलाई संस्थागत रुपमा २०२४ सालमा सहर्षनाथ कपालीको संयोजकत्वमा ‘नेपाल राष्ट्रिय दलित जनविकास परिषद् ‘नामक दलित संगठन स्थापना गरी टिआर विश्वकर्माहरुको पहल कदमीमा पहिलोपटक दलित शब्द प्रयोगमा ल्याएका हुन् ।
यसभन्दा अघि राणा शासनको अन्त्यसँगै संगठित रुपमा अगाडि बढेको नेपाली दलित मुक्ति आन्दोलनले प्रयोग गर्दै आएको अछुत, परिगणित, अति पिछडा, निम्न वर्ग, समाज सुधार, हरिजन आदि जस्ता शब्दहरु बिस्तारै विस्थापित हुँदै गए ।
त्यसपछि ती शब्दहरुको ठाउँमा नेपाली समाजमा ‘दलित’ शब्द दलित मुक्ति आन्दोलन, राजनीतिक एवं सामाजिक रुपमा व्यापक प्रयोग हुँदै स्थापित भएर आयो । वर्तमान नेपालको संविधानमा पनि दलित शब्द नै प्रयोग गरिएको छ ।
दलित शब्द वर्तमान नेपाली समाजमा प्रचलित शब्द हो । नेपाली समाजमा दलित भन्दा विशेष गरी खसआर्य जातिभित्रका समुदायलाई मात्र बुझ्ने गरिन्छ । तर हिन्दु वर्णाश्रम व्यवस्था जनजाति (नेवार) र मधेसी जातिभित्र पनि लादिएको छ ।
त्यसैले खस आर्य पहाडी दलित, जनजाति (नेवार) दलित र मधेसी दलितका नामबट अछुत बनाइएका र राष्ट्रिय दलित आयोगले ‘दलित’ भनी सूचीकृत गरिएका २६ जात जातिलाई समग्र रुपमा एकीकृत रुपबाट सम्बोधन गर्न दलित शब्द नै उपयुक्त र सही देखिन्छ ।
हाम्रो समाजमा विसं १९१० को मुलुकी ऐन अनुसार मतवाली भनेर चिनिने गुरुङ, मगर, राई, लिम्बु, तामाङ, शेर्पा, नेवार, थकाली, भोटे आदि जातिहरुले मतवाली शब्द त्यागेर जनजाति शब्द राखी यही शब्दबाट अधिकार र पहिचानका लागि एक ढिक्का भएर अगाडि बढिरहेका छ्न ।
आजका मितिसम्म आइपुग्दा दलित शब्द एउटा संघर्ष र बलिदानको नाम बन्न आइपुगेको छ । छुवाछूत र भेदभावमा परेका समुदायको साझा परिचय र पहिचान मात्र होइन सवैलाई एकै ठाउँमा गोलबन्द गर्ने एउटा मंच हो दलित शब्द ।
त्यसै भएकाले समाजमा हिजो अछुत भनी चिनिएका जाति तथा समुदायहरुको लागि पनि साझा शब्दको जरुरी थियो, त्यो साझा नाम वा शब्द दलित हो ।
यसरी सम्पूर्ण अछुत, शोषित, पीडित वर्ग तथा समुदायको ऐक्यवद्धता र आन्दोलनबाट जन्मिएको साझा नाम हो, शब्द हो दलित । दलित शब्द भनेको एउटा इतिहास हो ।
आजका मितिसम्म आइपुग्दा दलित शब्द एउटा संघर्ष र बलिदानको नाम बन्न आइपुगेको छ । छुवाछूत र भेदभावमा परेका समुदायको साझा परिचय र पहिचान मात्र होइन सवैलाई एकै ठाउँमा गोलबन्द गर्ने एउटा मंच हो दलित शब्द ।
विगतमा तहगत संरचनाका रुपमा विभाजित आम उत्पीडन, छुवाछूत र विभेदमा पारिएका सवै जात तथा समुदायहरुको मुक्तिको आन्दोलनलाई साझा रुपले शक्तिशाली बनाएर आन्तरिक एकताका साथ अगाडि बढाउन सवैलाई मान्य हुने शब्दको आवश्यक थियो, त्यो शब्द भनेको दलित शब्द नै हो ।
जसले जे भनेता पनि यो शब्द आम उत्पीडित वर्ग समुदायको एकता, संघर्ष र सहकार्यबाट नै जन्मिएको र सवैलाई स्वीकार्य भएको हो । आज सम्पूर्ण दलितहरुले अधिकार, सम्मान र न्याय खोज्न र आफू माथिको विभेद, अपमान र दमन विरुद्धमा एकजुट हुन साझा शब्दको आवश्यकता छ, त्यो भनेको दलित शब्द नै हो ।
अहिले यही शब्दको आडमा संगठित भएर अधिकार र जातीय मुक्तिको आन्दोलन अगाडि बढेको छ । यो शब्द कसैको कृपा, माया र दयाले जन्मिएको होइन, न कि सामान्तवादले हेपेर नै दिएको अपमानित र घृणित शब्द नै हो, नाम नै हो ।
अहिले दलित शब्दप्रति केही भ्रम र नकारात्मक धारणाहरु पनि आएका छन् । त्यति हुँदा हँुदै पनि यसको विकल्पमा त्यस्तो भरपर्दो र विश्वासिलो शब्द भने आउन सकेको छैन । केही व्यक्तिहरु आफूलाई दलित वा अछूत भन्न हिच्किचाइरहेकोे अवस्था पनि हाम्रो सामु छ । कतिपयले यो शब्द हटाउनु पर्ने विचार राख्दै पनि आएका छन् ।
खास गरी दलित आन्दोलनको मर्म नबुझेका र यस आन्दोलनसँग धेरै नजिकको नाता, सम्बन्ध नराख्नेहरुले दलित शब्द हटाउन विशेष जोड दिइरहेका छन् । तर उनीहरुले यसलाई हटाउनुपर्ने यथेष्ठ प्रमाण, तथ्य र कारण्हरु भने दिन सकिरहेका छैनन् ।
दलित शब्दमा बसे सधैं दलित भइन्छ र यसको सट्टामा अन्य कुनै शब्द राखेमा दलित भइदैन भन्ने तर्क पनि सुनिन्छ । तर यो तर्क उपयुक्त छैन ।
दलित शब्दको ठाउँमा अर्को शब्द राख्दा केही समयका लागि आत्मसन्तुष्टि त मिल्ला तर साच्चिकै जातीय विभेदबाट मुक्त भइँदैन । मुक्त हुन त समाज परिवर्तन हुनु पर्छ, जातीय व्यवस्थाको अन्त्य हुनु पर्छ ।
दलित शब्दको अध्ययन र भेउबिना अहिले केही गैरदलितहरुले भन्छन् संविधानमा जातीय विभेद गर्न पाइँदैन भनेर लेखिएको छ । अब किन आफैले आफैलाई दलित भन्ने, अब कोही दलित छैन, कोही छुत अछुत छैन, सबै बराबर हुन भन्दै दलित आन्दोलनको मुक्तिको चाहनालाई दिग्भ्रमित र विषयान्तर गर्दैछन् ।
कोही दलित होइन, कोही दलित छैन भन्नलाई समाजमा जातीय विभेद र छुवाछूत छ कि छैन भन्ने मुख्य कुरा हो । हामीले दलित होइन भन्दैमा छुवाछूत प्रथा तुरुन्तै अन्त्य भइहाल्ने होइन ।
हामीले भने जस्तो वर्णाश्रम व्यवस्था र जात व्यवस्थाको संवैधानिक रुपमा पूर्ण अन्त्य हुन्छ भने त्यसपछि हामीले आफूलाई दलित हो, अछुत हो, शुद्र हो भने पनि हामी दलित, अछुत, शुद्र हुनै सक्दैनौं, किन कि हामीलाई दलित, अछुत, शुद्र बनाउने जातिवादी व्यवस्था र पद्धति नै अन्त्य भइसकेको हुन्छ ।
दलित शब्दको अध्ययन र भेउबिना अहिले केही गैरदलितहरुले भन्छन् संविधानमा जातीय विभेद गर्न पाइँदैन भनेर लेखिएको छ । अब किन आफैले आफैलाई दलित भन्ने, अब कोही दलित छैन, कोही छुत अछुत छैन, सबै बराबर हुन भन्दै दलित आन्दोलनको मुक्तिको चाहनालाई दिग्भ्रमित र विषयान्तर गर्दैछन् ।
अब राज्यबाट पाउने सेवा सुविधा दलितले होइन गरीबले पाउनु पर्छ । उनीहरूको यस्तो कुरा झुठा, षड्यन्त्र र भ्रमपूर्ण छन् । अहिलेसम्म हाम्रो समाज वर्णवादी, जातिवादी भएको हुँदा कुनै पनि जातहरु बराबर छैनन्, छुत अछुतमा विभाजित छन ।
अझ केही व्यक्तिहरु दलित शब्दको वास्तविकता नबुझेर दलित शन्दमै खोट छ भन्दै छुवाछूतसँग भन्दा पनि दलित शब्दमा समस्या भएको देख्छन् ।
उनीहरूको बुझाइमा दलित शब्दले गर्दा जातीय विभेद र छुवाछूत भएको हो भन्ने भान परेको छ । तर बुझ्नुपर्ने कुरा के हो भने दलित शब्दको प्रयोग र अवधारणा आउनुभन्दा पूर्व हाम्रो समाजमा छुवाछूत जस्तो कुसंस्कार स्थापित भएको थियो कि थिएन ?
हिन्दु समाजमा जातीय विभेद तथा छुवाछूतको सुरूवात भएर आएको करिब ३५ सय वर्षभन्दा बढी भएको छ । दलित शब्दको प्रयोग भारतीय हिन्दु समाजमा करिब ९०/९५ वर्ष र नेपाली समजमा करिब ५०/५२ वर्ष भएको छ ।
यदि यसो हो भने दलित शब्दको प्रयोग हुनु पूर्व जातीय विभेद तथा छुवाछूत नहुनुपर्ने हो, तर वास्तवमा आजको समयमा भन्दा त्यो समयमा धेरै गुणा जातीय विभेद र छुवाछूत थियो । जातीय विभेद र दलित भनेका एउटै कुरा होइनन ।
केही व्यक्ति दलित शब्दबाट मुक्त हदैमा ऊ जातीय विभेदबाट मुक्त हुन सक्दैन किन कि ऊ दलित भएर अछुत भएको होइन, ऊ अछुत भएर थप दलितको भेदभावमा परेको हो ।
सोचनीय एउटा के कुरा हो भने दलित शब्द प्रयोग नगर्दैमा कुनै पनि कथित तल्लो जाति भनिने कथित उपल्लो जातिमा पुगिहाल्छ भन्ने छैन । त्यसैले ‘दलित‘ शब्दका बारेमा गम्भीर भएर सोच्नु र बुझ्नुपर्ने कुरा यही हो ।
केही व्यक्तिहरुले दलित शब्द आफैमा अपमानित शब्द हो, यसलाई प्रयोग गर्नु हुँदैन यसले यो समुदायलाई अपमान र घृणा गर्छ । यस शब्दको सट्टामा ‘शिल्पी’, ‘श्रमिक’, ‘कालिगढ’, ‘पौरखी’ आदि राम्रो जनिने शब्द प्रयोग गरिनुपर्छ भन्ने गरेको पाइन्छ । ती शब्दमध्ये खास गरी ‘शिल्पी’ शब्दलाई अहिले जोड्तोडले उठाउने गरेको पाइन्छ ।
मुख्य कुरा के हो भने ३ दशकभन्दा बढी लामो इतिहास बोकेको, दलित मुक्ति आन्दोलन, आम नागरिक समाज र आम सञ्चारजगतले प्रयोग गर्दै आएको र देशको संविधान, ऐन—कानुनमा समावेश गरिएको दलित शब्दले यो समुदायलाई कदापि अपमान र घृणा गर्दैन । विशेष गरी केही व्यक्तिहरुले दलित शब्दको सट्टा शिल्पी प्रयोग गरौं न भन्नु राम्रै कुरा हो ।
शिल्पी शब्दलाई कला—कौशल, सिपका धनीहरुको पहिचानको रुपमा प्रयोग गर्न खोजिएता पनि यो शब्द व्यवहारत प्रयोगमा आउन सकेको छैन । शिल्पी शब्दले सामान्यतया सीप भएको वा शिल्पकारिता भन्ने नै बुझाउँछ । तर आज नेपालमा दलित वर्ग भनी जुन जुन जात तथा समुदायहरु पर्छन् ती सबै शिल्पी हुन भन्नु उचित हुन सक्दैन ।
शिल्पी दलित समुदायमा मात्र होइन अन्य गैरदलित जातिका मानिसहरु पनि यस समूहमा पर्ने गर्छन् । जस्तो हाम्रो देशमा शिल्पकार भन्ने नेवार समुदाय छ, जो दलित समुदाय भित्र पर्दैन । अब त्यस जातलाई के भन्ने ? अहिले भन्ने गरेको शिल्पी भन्दा उ धेरै पुरानो शिल्पी हो, शिल्पकार हो । अहिलेको अवस्थामा कुनै पनि जाति वा मानिस सीप विनाको छैन । के ती सवै समुदायलाई शिल्पी भनियो भने दलितको पहिचान हराउँदैन् ?
फेरि परम्परागत सीपको काम गर्ने दलित समुदाय बिस्तारै घट्दै गइरहेको अवस्था र ती हिजोका सीपका कामहरु अन्य गैरदलित वर्ग समुदायका मानिसहरुले पनि आज गर्दै आएको अवस्थामा यो शब्द उचित र न्यायसंगत हुन सक्दैन ।
अझ हामीले याद गर्नु पर्ने कुरा के हो भने दलित समुदायका सवै जातिले गर्ने सवै काम शिल्पकारिता हो भन्नु सहि र उचित हुन सक्दैन ।
देशको सवै भन्दा ठूलो संख्यामा दलित समुदाय भित्र रहेको कामी जाति जसले विभिन्न धातुहरु खानीबाट निकालेर, प्रशोधन गरी हातहतियार, औजार, भाडाबर्तन, गरगहना आदि बनाउदछ्न, तिनीहरु शिल्पी होइनन् । प्राविधिक हुन, रसायन शास्त्री हुन, बैज्ञानिक हुन । गन्धर्ब समुदायको मुख्य पेसा सारंगी बजाई गीत गाउनु हो ।
गीत गाउनु, संगीत भर्नु शिल्प होइन कला हो, कलाकारिता हो । अब यो समुदायलाई शिल्पी भन्न मिल्छ कि मिल्दैन ? दलित समुदाय भित्र अर्को पोडे, च्यामे समुदायहरु परमपरागत रुपमा फोहर मैला सफा सुग्घर गर्ने काममा संलग्न हुँदै आएका छन ।
आजकल सभ्य भाषामा यिनीहरुलाई सफाई मजदुर वा सफाई अभियान्तका रुपमा पनि चिन्ने गरिन्छ । अब सर(सफाईको काम शिल्पकारिता भित्र पर्छ कि पर्दैन? अझ अर्को एउटा पक्ष के छ भने हाम्रो समाजमा माटाका भाँडावर्तन र माटाका अन्य सजावटका सामानहरु बनाउने समुदायलाई कुमाल भनिन्छ ।
नेपालको प्रायस् जसो भागमा पाइने यो जातिलाई अपवाद बाहेक छुत नै मानिन्छ । अझ सुदुर पश्चिम अछाम जिल्लामा पाइने कुमालहरु आफुलाई क्षेत्री सरह मान्दछ्न र त्यहाँ उनीहरूको बोहरा क्षेत्रीसंग विहेवारी चल्दछ । अब यी माटोका सीप भएका कुमाल समुदाय (छुत) लाई शिल्पी शब्दले सम्बोधन गर्दा के न्यायसंगत हुन सक्छ ?
कुनै पनि शब्द आफैमा विटुलो र अछुत हुदैन, अपमानित हुदैन । बरु हिन्दु वर्णाश्रम व्यवस्थाले निर्माण गरेको सामाजिक, आर्थिक, राजनीतिक व्यवस्था अझै पनि हाम्रो समाजमा विद्यामान र हावी भएकाले त्यसो भएको हो ।
यस कारण सवै जातीय विभेदमा परेका समुदाय शिल्पी हुनसक्दैनन, न त सवै शिल्पीहरु जातीय विभेदमा पारिएका अछुत नै हुन सक्छन् । यसैले शिल्पी शब्दले समग्र रुपमा जातीय विभेद तथा छुवाछूतमा परेका जाति तथा समुदायको सम्पूर्ण रुपमा सही मूल्यांकन र प्रतिनिधित्व गर्न सक्दैन ।
शिल्पी शब्द कुनै आन्दोलनबाट आएको शब्द पनि होइन, यो त केवल कसैको लहड, सनक र आग्रहमा आएको शब्द हो । त्यसैले दलित शब्दको अर्को विकल्प खोजिरहनु आवश्यकता छैन, जरुरी छैन ।
कुनै पनि शब्द आफैमा विटुलो र अछुत हुदैन, अपमानित हुदैन । बरु हिन्दु वर्णाश्रम व्यवस्थाले निर्माण गरेको सामाजिक, आर्थिक, राजनीतिक व्यवस्था अझै पनि हाम्रो समाजमा विद्यामान र हावी भएकाले त्यसो भएको हो । यदि यो व्यवस्था हट्दाका क्षणमा दलित शब्द पनि अन्य सम्मानित शब्द सरह नै सम्मानित हुने कुरालाइ नकार्न सकिदैन ।
जस्तो कुनै समयमा अछुत मानिएका साल्मी, मेचे, नकर्मीका छोरीहरुसंग बिहेवारी गरे पछि राणा प्रधानमन्त्रीहरुले छुत बनाएका साल्मी, मेचे र नकर्मीहरु र कुनै समय अछुत भित्र रहेका सायमी वा मानन्धर जातका मानिसहरुलाई तिनै राणा शासकहरुको हुकुमले उनीहरुको पानी चलाइदिए पछि उनीहरु छुत भए, अछुतमा रहेनन् ।
छुत बनाए पछि, पानी चलाइदिए पछि, पानी नचल्दै पनि उनीहरुलाई साल्मी, मेचे, नकर्मी, सायमी वा मानन्धर भनिन्थ्यो, अहिले पनि उनीहरुलाई त्यही नै भनिने गरिन्छ । अहिले उनीहरूलाई केही फरक परेको छैन । अहिले उनीहरूलाई कसैले विभेद र छुवाछूतमा पारेको छैन, अपमान गरेको छैन ।
अर्को कुरा हामीले हामी स्वाभिमानी नेपाली, हामी वीर नेपाली भन्दा ‘नेपाली’ शब्द सवैलाई राम्रो लाग्छ, प्रिय लाग्छ । तर त्यही शब्द हाम्रो समाजमा थरका रुपमा प्रयोग गर्दा अप्रिय, अपमानित र घृणित हुन्छ । यस कारण मुख्य कुरा दलित शब्दसँग होइन हाम्रो समाज र जातिवादी व्यवस्थासँग हो, हाम्रो सोच, विचार र दृष्टिकोणसंग हो ।
आज दलित आन्दोलन के हो ? यसको दर्शन, स्पष्ट नीति र कार्यक्रम हुन नसकेकोले आज ‘दलित’ शब्दको अपव्याख्य र यस प्रति धेरै नै अन्योल र भ्रम छर्ने काम भएको छ, जसका कारण आज दलित मुक्तिको आन्दोलन चौबाटोमा खडा भएको बटुवा तथा कुहिरोमा हराएको काग जस्तै भएको छ ।
सिंगो दलित समुदायलाई समेट्ने गरी निर्माण गरिएको साझा ‘दलित’ आन्दोलनले होइन, जात, थर, गोत्र, धर्म, नाम, बसोबास आदि परिवर्तन गरी जातीय मुक्तिको अनुभूति गर्न सकिन्छ भन्ने भ्रम पनि आज केही मात्रमा देखिएको छ । यसले केही हदसम्म …को न्यानो त होला तर आफ्नो अस्तित्व नै मेटिएर जाने सम्भावनालाई भने नकार्न सकिँदैन ।
आफू माथिको अपमान, उत्पीडन, विभेदको अन्त्य र अधिकारका लागि दलितै भएर लड्नु बुद्धिमता र स्वाभिमानी नागरिकको सही पहिचान र जिम्मेवारी पनि हो ।
पश्चिमा मुलुकमा गोरा जाति र काला जातिबीच पनि एक समय रंगविभेदको लडाइँ भएको थियो । तर इतिहासमा उनीहरुले आफ्नो रंगलाई कहिल्यै दोष दिएनन् ।
त्यहाँका पीडक (गोरा) वर्गले दिएको ‘नेग्रो’ शब्दलाई त्यगी ब्लेक (कालो) शब्द राखी आफू जस्तो छ त्यस्तै अवस्थामा लडेर ‘ब्लेक इज ब्युटीफुल’ को नारा दिए । त्यसैले उनीहरू आज समानताको सास फेर्न पाएका छन् ।
तर हाम्रो दलित समुदाय भित्र दलित शब्द नै हटाउनुपर्छ अनि मात्र समानता र मुक्ति प्राप्त गर्न सकिन्छ भन्ने मनोदशा हावी भएको छ । दलितहरुलाई आफ्नो हक अधिकारका निम्ति लड्न प्रेरित गर्नुभन्दा पनि आफुले आफैलाई हीनताबोधको शिकार बन्न अग्रसर भइरहेको अवस्था छ ।
यहाँ हमीले के बुझ्न जरुरी छ भने समस्या हाम्रो राज्य व्यवस्थामा छ, उच्चजातीय अहंकारवादमा छ, धर्मवादमा छ, हाम्रो हिन्दु वर्णाश्रम जातिवादी व्यवस्थामा छ, हामीमा हैन, समग्र उत्पीडित दलित समुदायमा हैन ।
तपाईको प्रतिक्रिया