स्थानीय पूर्वाधार साझेदारीको १ करोड ४१ लाख कोरोना कोषमा
एसके थकाली
जोमसोम
संघीय निर्वाचन क्षेत्र विकास अर्थात सांसद विकास कोषको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत चालु वर्ष खर्च हुन नसकेको १ करोड ४१ लाख बचत बजेट जिल्लाका सम्बन्धित स्थानीय तहको कोरोना कोषमा जम्मा भएको छ ।
सांसद विकास कोषको कुल ६ करोड पूर्वाधार बजेट मध्ये तोकिएको असार १५ गते सम्मको कामलाई मूल्यांकन गर्दा १ करोड ४१ लाख बजेट खर्च हुन नसकी फ्रिज हुदा कोरोना कोषमा जम्मा भएको जिसस मुस्ताङले जनाएको छ ।
कोरोना मुक्त भएको हिमाली जिल्ला मुस्ताङका कतिपय स्थानीय तहमा यसअघि नै कोरोना कोष खडा भइसकेको छ । उक्त कोषमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा बचत हुन आएको रकम समेत थपिएको हो ।
चालु वर्ष संघीय निर्वाचनक्षेत्र विकासको स्थानीय विकास साझेदारी कार्यक्रम अन्र्तगत मुस्ताङको थासाङ गाउँपालिकाको १ करोड ४३ लाख २० हजार, घरपझोङ गाउँपालिकाको १ करोड ४५ लाख, लोमान्थाङ गाउँपालिकाको १ करोड ८ लाख, लोघेकर दामोदरकुण्ड गाउँपालिकाको ९८ लाख र बारागुङ मुक्तिक्षेत्रको ८० लाख बजेट विनियोजन भएको थियो ।
चालु आर्थिक वर्ष बारागुङ मुक्तिक्षेत्रमा स्थानीय विकास साझेदारी कार्यक्रमको सबै काम तोकिएको समयमै सम्पन्न भइसकेकाले कोरोना कोषमा जम्मा नभएको जिसस अधिकारी पुष्प कटुवालले जानकारी दिए ।
साझेदारी कार्यक्रम अन्तर्गत घरपझोङ गाउँपालिकालाई सबैभन्दा बढी १ करोड ६५ लाख मध्ये ३२ लाख, थासाङ गाउँपालिकाको १ करोड ४३ लाख बजेट मध्ये २९ लाख २० हजार, लोघेकर दामोदरकुण्डको ९८ लाख बजेटमध्ये ३० लाख र लोमान्थाङ गाउँपालिकाको १ करोड ८ लाख बजेटमध्ये ५० लाख बजेट फ्रिज भई सम्बन्धित स्थानीय तहको कोराना कोषमा जम्मा भएको जिसस अधिकारी कटुवालले बताए ।
थसाङ ३ लेतेको अधुरो समाजघर निर्माणको ५० लाखमध्ये २२ लाख, थासाङ ३ लेतेकै पिठो पिस्ने मिलको भवन निर्माणमा १० लाखमध्ये १ लाख २० हजार र थासाङ—२ कोबाङको हिमालय चौरी समूह तथा संरक्षण समितिको भवन निर्माणको १३ लाखमध्ये ६ लाख बजेट फ्रिज भएको हो । लोमान्थाङको निफुक गुम्बा निर्माणको पूरै ५० लाख, घरपझोङ ३ पुथाङको पर्यटक स्वागत गेट निर्माणको ५० लाखमध्ये २० लाख र लोघेकर ३ घिलिङस्थित जनज्योति आधारभूतको छात्रावास भवन निर्माणको ५० लाखमध्ये ३० लाख बजेट फ्रिज भई सम्बन्धित कोरोना कोषमा जम्मा भएको हो ।
चालु आर्थिक वर्ष विश्वव्यापी माहामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस (कोभिड—१९) सिर्जित लकडाउन तथा बन्दाबन्दी एकान्तबासका कारण स्थानीय पूर्वाधार साझेदारी विकासको निर्धारित लक्ष्य अनुसारको काम पूरा नभई बजेट फ्रिज भएको संम्वन्धित स्थानीय तहले जनाएका छन् ।
कोरोना कहरले लोमान्थाङको निफुक गुम्बा भवन निर्माणको पूरै बजेट फ्रिज भएको छ । घरपझोङ ३ को पर्यटक स्वागत गेट निर्माणमा स्थान विवादका कारण विनियोजित बजेटको एक चौथाइमात्र खर्च भएको हो । लोघेकर र थासाङमा पनि लकडाउनकै कारण साझेदारी विकास बजेटका केही योजना अधुरो रहन पुगेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष केसीले जानकारी दिए ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको तेश्रो संशोधन नियमावली अनुसार असार १५ गते भित्र कामको मूल्यांकन गरी विवरण बुझाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित स्थानीय तह÷नगरपालिकाहरुलाई परिपत्र गरेको थियो । तेस्रो संशोधन नियावली अनुसार जिल्लाका ५ स्थानीय तह मध्ये ४ वटा स्थानीयको बचत बजेट काम पूरा नभई कोरोना कोषमा जम्मा भएको हो । जम्मा भएको स्थानीय तहको उक्त कोरोना कोषको बजेट सम्बन्धित स्थानीय तहको कोरोना रोकथाम तथा नियन्त्रण, उपचार त्यसको व्यवस्थापनमा खर्च गर्न पाउने नियमावलीमा उल्लेख छ ।
फाइल फाेटाे
तपाईको प्रतिक्रिया