८७ युनिट रगत संकलन
पोखरा
मानव मिलन संस्था, पोखराले शनिबार आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ८७ युनिट रगत संकलन भएको छ ।
कोभिड–१९ को महामारीबीच नियमित रक्तदान कार्यक्रम हुन नसकेको अवस्थामा क्षेत्रीय रक्तसंचार केन्द्रमा सम्भावित रगत अभाव हुन नदिन संस्थाले आफ्नै कार्यालय परिसर पोखरा ७, मुस्ताङचोकमा कार्यक्रम गरेको हो ।
स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले विषम परिस्थितिबीच पनि रक्तदान कार्यक्रम गरेकोमा संस्थाको कार्यको सह्राहना गर्दै कोरोना भाइरसबाट बच्न व्यक्तिगत सरसफाइ, सामाजिक दूरी कायम गर्नुपर्ने र मास्क अनिवार्य लगाउनुपर्नेमा सुझाव दिए ।
कार्यक्रममा गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले रक्तदानको महत्वमाथि प्रकाश पारे ।
संस्थाका अध्यक्ष गुप्तप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक द्वितीय उपाध्यक्ष टंकप्रसाद पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
सचिव नम्रता बरालले संचालन गरेको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष कमला शर्माले गरेकी थिइन् । कार्यक्रममा प्राविधिक सहयोग क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराले गरेको थियो ।
मानव मिलन संस्थाका संस्थापक नेपालकेशरी डा. मणिभद्र मुनिजी महाराजको जन्मदिनमा चैत २६ मा नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दैआएको संस्थाले यसपालि लकडाउनले ३ महिना पछिमात्र कार्यक्रम गर्न सकेको महासचिव विष्णुहरि तिमिल्सिनाले बताए ।
तपाईको प्रतिक्रिया