मुस्ताङमा विकास खर्च साढे ९७ करोड
एसके थकाली
जोमसोम, ४ साउन
संघीय पुँजीगत विकास खर्च अन्तर्गत आर्थिक वर्ष २०७६/०७७ का लागि विनियोजित मध्ये ९७ करोड ५२ लाख रुपैयाँ खर्च भएको छ । संघीय कुल पुँजीगत बजेट १ अर्ब २३ करोड ८५ लाख मध्ये राष्ट्रिय गौरवको बेनी—जोमसोम सडक आयोजनाले ९० करोड २५ लाख खर्च गरेको छ ।
उक्त आयोजनालाई १ अर्ब १३ करोड ४५ लाख विनियोजन भएको थियो । जिल्लाको कुल संघीय विकास खर्च ९७ करोड मध्ये ७ करोड बजेट मात्र अन्य प्रशासनिक कार्यालय पूर्वाधार लगायतमा खर्च भएको छ । तर, सांसद विकास कोषको स्थानीय पूर्वाधार साझेदारी विकासको खर्च हुन नसकेको १ करोड ४१ लाख बजेट सम्बन्धित स्थानीय तहको कोरोना कोषमा जम्मा गरिएको छ ।
संघ तथा प्रदेश सरकारको कुल बजेटमध्ये चालु तथा पुँजीगत खर्चको कुल ६२ करोड ६० लाख ९८ हजार बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय मुस्ताङले जनाएको छ । जसमध्ये संघतर्फ चालु खर्च १६ करोड ८५ लाख, पुँजीगततर्फ २६ करोड ३३ लाख र प्रदेशतर्फ चालु १० करोड ३५ लाख र पुँजीगततर्फ ९ करोड ४६ लाख बजेट फ्रिज भएको हो ।
चालू आर्थिक वर्षमा संघीय कुल बजेट ३ अर्ब १० करोड ४० लाख थियो भने प्रदेश सरकारको कुल बजेट ५१ करोड ७४ लाख ४९ हजार रुपैयाँ थियो । जसमध्ये चालूतर्फ १ अर्ब ८६ करोड ५५ लाख ५ हजार र पुँजीगत बजेट १ अर्ब २३ करोड ८५ लाख ७१ हजार विनियोजन भएको थियो ।
प्रदेशको चालुतर्फ २८ करोड ८५ लाख ५१ ह्जार र पुँजीगततर्फ २२ करोड ८८ लाख ९८ हजार रहेको थियो । संघीय सरकारको कुल चालु बजेट मध्ये १ अर्ब ६९ करोड ६९ लाख ८४ हजार खर्च भएको हो । संघीय पुँजीगत विकास खर्चतर्फ ९७ करोड ५२ लाख ३९ हजार ८ सय खर्च भएको हो ।
संघको चालुतर्फ ९० दशमलव ६५ प्रतिशत र पुँजीगततर्फ ७८ दशमलव ८५ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय मुस्ताङका प्रमुख मिनबहादुर बानियाले जानकारी दिए ।
प्रदेशको चालुतर्फ १८ करोड ४९ लाख ८५ हजार अर्थात् ६४ दशमलव ११ प्रतिशत खर्च भएको हो भने प्रदेश पुँजीगत १३ करोड ४२ लाख १९ हजार खर्च हुँदा ५८ दशमलव ६४ प्रतिशत विकास खर्च भएको कार्यालय प्रमुख बानियाले बताए ।
कोष तथा लेखाका अनुसार गत वर्षको भन्दा चालु वर्ष संघ तथा प्रदेशको गरी २२ करोड भन्दा बढी बजेट फ्रिज हुन पुगेको हो । आर्थिक वर्ष २०७५÷०७६ मा ४० करोड १७ लाख बजेट मुस्ताङमा फिर्ता भएको थियो ।
मुस्ताङमा संघीय अन्तर्गतका स्थानीय प्रशासन र सुरक्षा निकाय लगायतका २३ वटा कार्यालय र ५ स्थानीय तहमा बजेट खर्च भएको हो । यस्तै प्रदेश तर्फ सिँचाइ, वन, घरेलु, मालपोत र ५ स्थानीय तहमा आएको बजेट खर्च भएको कार्यलयले जनाएको छ ।
साढे करोड राजस्व संकलन
आर्थिक वर्ष २०७६/०७७ मा मुस्ताङमा करिव १० करोड ३६ लाख ९५ हजार राजस्व संकलन भएको छ । जसमध्ये संघतर्फ ९ करोड ८७ लाख ७९ हजार र प्रदेशतर्फ ४९ लाख १६ हजार राजश्व संकलन भएको हो ।
गत वर्ष ९ करोड राजस्व संकलन भएको थियो । चालू वर्ष संघतर्फ १ करोड र प्रदेशतर्फ ४२ लाख राजश्व वृद्धि भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
संघतर्फ उठ्ने राजस्व शीर्षकमा भन्सार, मदिरा, अन्त शुल्क, राहदानी पासपोर्ट, नागरिकता र वागवानी विकास केन्द्रको आम्दानी हो भने प्रदेशतर्फ मालपोत, वन रोयल्टी र घरेलु उद्योग दर्ता लगायतका हुन् ।
तपाईको प्रतिक्रिया