लेखनाथ अस्पतालमा प्रदेशको दायित्व

समाधान संवाददाता २०७७ साउन ४ गते २१:३७

सम्पादकीय

Advertisement

२०६० सालमा महायज्ञ लगाएर जम्मा गरेको पैसाबाट खुलेको थियो लेखनाथ सामुदायिक लायन्स अस्पताल । लेखनाथ लायन्स क्लबको अगुवाइमा भएको महायज्ञमा लेखनाथ क्षेत्रका सबैजसो अग्रणी संघसंस्थाले हातेमालो गरेका थिए । पचभैयाका रेवतीरमण र शान्ति पौडेल दम्पतीले त सम्पूर्ण जायजेथा नै अस्पताललाई सुम्पिएका थिए ।

२ करोड रुपैयाँ जम्मा गरेर २०६२ सालमा अस्पताल सुरु गर्दा एकजना स्वास्थ्यकर्मीमात्रै भर्ना गरिएको थियो । पछिल्लो समयचाहिँ स्नातकोत्तर गरिसकेका डाक्टरसमेत अस्पतालमा थिए । कर्मचारी संख्या ३० थियो ।

Advertisement

अत्याधुनिक एक्सरे र भिडियो एक्सरे मेसिन, अप्रेसन थियटर लगायत उपकरण सम्पन्न छ यो अस्पताल । लायन्स क्लब इन्टरनेसनलले उपकरण उपलब्ध गराएपछि नियमानुसारै सरकारी अस्पतालकै दरमा यहाँ स्वास्थ्य सेवा उपलब्ध हुँदा दैनिक ६० जति बिरामी आउँथे ।

अस्पताललाई जुन स्तरको बनाउने सामुदायिक लक्ष्य थियो, त्यो समुदायको प्रयासको बसको बात रहेन । तसर्थ नै कोभिड १९ को महामारी फैलिएको बेला समुदायले अस्पताल सरकारलाई सुम्पन्ने निर्णय ग¥यो, त्यो पनि प्रदेश सरकारलाई ।

Advertisement

यो सबैभन्दा पहिला जनताले संघीयताप्रतिको देखाएको विश्वास हो । घर आँगनमै आएको सरकारले पक्कै जनताको काम गर्छ, स्वास्थ्य सेवा उत्कृष्ट र प्रभावकारी बनाउँछ भन्ने भरोसा हो । १ साउनमा गण्डकी प्रदेश सरकारलाई स्थानीयले अस्पतालको स्वामित्व हस्तान्तरण गरेका छन् ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका लागि यो सुखद कुरा हो कि उनको सरकारलाई जनताले विश्वास गरे, संघीयताका प्रखर पक्षपाती उनको काँधमा अब जनताको विश्वासलाई थप उचाइमा पु¥याउने चुनौती देखा परेको छ ।

यसै पनि कम्युनिस्ट विचारका मुख्यमन्त्री गुरुङ शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारी लगानी हुनुपर्छ र यी दुई दायित्व राज्यको हुनुपर्छ भन्ने मान्यता राख्छन् ।

प्रदेशको अधिकार क्षेत्रमा जिल्ला स्तरका अस्पतालहरु छन् । जिल्ला अस्पतालहरुलाई स्तरीय बनाउने उनको उद्घोष पनि छ । जनता आफैंले एउटा चरणमा पु¥याएको अस्पताल जिम्मामा आउँदा सरकारलाई धेरै सहज पनि भएको छ, अब केवल यसको सेवा र प्रभावकारिता प्रदेशको मुख्य दायित्व हो ।

प्रदेश सरकारले लेखनाथ सामुदायिक लायन्स अस्पताललाई संक्रामक तथा सरुवा रोग अस्पताल बनाउने भनेर १ साउनमै त्यस्तो बोर्ड टाँसिसकिएको छ ।

हो, सरुवा रोगको उपचार गर्ने छुट्टै अस्पताल विश्वव्यापी चलन हो । देशको राजधानी काठमाडौं टेकुमा मात्रै एउटा त्यस्तो अस्पताल छ । अब यस्तो अस्पताल देशमा दोस्रो भएको छ । प्रदेशमा त गण्डकी पहिलो नै भयो ।

प्रदेशलाई चुनौती के हो भने अब यो अस्पताल समुदायले चलाउँदा भन्दा उम्दा हुनै पर्छ । जसरी अहिलेसम्मका अरु सरकारी अस्पताल चलेका छन्, त्यसरी नै लथालिंग र भताभुंग पारामा चल्नु हुँदैन यो अस्पताल ।

त्यस्तो भयो भने जनता निराशमात्रै हुनेछैनन्, त्यो समुदायमाथि नै घोर अपमान हुनेछ, जस्ले यतिका दुखले यो अस्पताल बनायो । यत्ति कुरा मनन गरी सेवा प्रवाह स्तरीय बनाउने प्रेरणा प्रदेश सरकारलाई प्राप्त होस्, गण्डकी सरकारका लागि यो फगत एउटा उपलब्धि ठहरिने छैन, जनतालाई ठूलो राहत हुनेछ ।

तपाईको प्रतिक्रिया