पोखरामा गण्डकी प्रदेश प्रहरी अस्पताल
समाधान संवाददाता
पोखरामा गण्डकी प्रदेश प्रहरी अस्पताल सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका–७ मुस्ताङचोकमा नेपाल प्रहरीको आफ्नै जग्गामा भवन निर्माण गरी स्वास्थ्य सेवा चालु गरिएको हो ।
नवनिर्मित भवनको गण्डकी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) घनश्याम अर्यालले आइतबार अस्पताल उद्घाटन गरे ।
अस्पतालबाट प्रहरी कर्मचारीका साथै तिनका आश्रित परिवारलगायत भूतपूर्व प्रहरी कर्मचारीले औषधी उपचार सेवा पाउने डिआइजी अर्यालले बताए ।
नेपाल प्रहरी कल्याण कोषको बजेटबाट २८ लाख २३ हजार रुपैयाँ लागतमा अस्पताल भवन निर्माण गरिएको हो ।
११ सय ६ वर्ग फिट क्षेत्रफलमा निर्माण भएको उक्त भवनमा सोधपुछ कक्ष, ओपिडी र इमर्जेन्सी सञ्चालनमा छ ।
हालसम्म क्षेत्रीय सशस्त्र प्रहरी गणबाट प्रहरी कर्मचारीले सेवा लिँदै आएका थिए ।
अस्पतालका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) डा. नर्मन लामिछानेले आगामी दिनमा अस्पतालको सेवालाई विस्तार गरेर हाडजोर्नी, नसा तथा बाथ रोग लगायत अन्य सेवा प्रदान गरिने जानकारी दिए ।
प्रहरी अस्पताल, महाराजगन्जबाट प्रदान भइरहेको सेवालाई विकेन्द्रीकृत गर्ने उद्देश्यले २०७४ साल चैत १७ गते तत्कालीन आइजी कमलसिंह बमले भवन शिलान्यास गरेका थिए ।
भवन निर्माण कार्यमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीलाई आइतबार नै पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा संघीय प्रहरी इकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसी,कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठ लगायत पोखराका विभिन्न प्रहरी कार्यालयका प्रमुख, प्रहरी श्रीमती संघका पदाधिकारी, भूतपूर्व प्रहरी कर्मचारी लगायत उपस्थित थिए ।
तपाईको प्रतिक्रिया