तलब माग्दै बोर्डिङ स्कुलका शिक्षक निस्के सडकमा
समाधान संवाददाता
पोखरा
निजी विद्यालयमा अध्यापनरत शिक्षक तथा कर्मचारीको हकहितमा विगत लामो समयदेखि काम गर्दै आएको निजी तथा संस्थागत विद्यालय शिक्षक/कर्मचारी युनियन नेपालअन्तर्गत पोखरा महानगर समितिको आयोजनामा सोमबार शान्तिपूर्ण र्याली भएको छ ।
कास्कीको पोखरा र यसको आसपासमा रहेका निजी तथा संस्थागत विद्यालयमा अध्यापनरत शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको शान्तिपूर्ण र्याली पोखराको सृजनाचोकबाट सुरु भएर न्युरोड हुँदै मानवअधिकार चोकमा गई कोण सभामा परिणत भएको थियो ।
र्यालीमा उपस्थित शिक्षक कर्मचारीहरूले ‘हामी पनि बाँच्न पाऊँ’, ‘श्रमको उचित मूल्यांकन गर’, ‘योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य गर’, लगायत नारा लेखिएका प्लेकार्डहरू छातीमा टाँसेर सहभागी भएका थिए ।
कोण सभामा पुगेर टुंगिएको उक्त कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवासीय विद्यालय इकाईका अध्यक्ष दीपक रोकाले निजी विद्यालयमा रहेका बसका चालक तथा सहचालक एवं कर्मचारीको जागिरको सुरक्षाको प्रत्याभूत गराउँदै अहिलेसम्मको तलब सुविधा यथाशीघ्र उपलब्ध गराउनुपर्ने कुरामा जोड दिएका थिए ।
त्यसै गरी कोण सभामा निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन नेपाल, गण्डकी प्रदेशका सचिव मिलन तिमिल्सिनाले व्यावसाय सञ्चालन गरेपछि नाफा र घाटाको विषय सञ्चालकको हुने भएकाले निश्चित तलब तथा पारिश्रमिकमा बाँच्ने मजदुरमाथि यसको भार थुपार्न नहुने कुरा व्यक्त गर्दै शिक्षक कर्मचारीलाई निजी विद्यालयले भोको पेटमा काम गर्न बाध्य बनाएको विषय प्रस्ट पारेका थिए ।
शिक्षक कर्मचारीको पेशागत सुरक्षाको ग्यारेन्टी गर्दै बालबालिकाको पढ्न लेख्न पाउने अधिकार सुरक्षित गर्ने कुराप्रति निजी विद्यालयका सञ्चालकहरू गम्भीर नदेखिएको विषय उठान गर्दै निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन नेपालका केन्द्रीय उपाध्यक्ष शिवलाल उपाध्यायले शिक्षक कर्मचारीलाई लामो समयको तलब तथा पारिश्रमिक नदिई निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनले संयुक्त रूपमा प्रकाशन गरेको विज्ञप्तिमाथि खण्डन गर्दै विपत्तिमा शिक्षकलाई पनि बाँच्ने अधिकार भएको कुरा उल्लेख गरेका थिए ।
निजी विद्यालयका शिक्षक तथा कर्मचारीलाई राज्यले त उपेक्षा गरेकै थियो यसका साथै आज आफ्नै परिवार मानिएको आबद्ध संस्थाका सञ्चालकहरूले पनि विवेकपूर्ण व्यावहार नगरेको र लामो समयसम्म तलब नपाउँदा चुलो निभ्न थालेको ¥यालीमा सहभागीहरूको गुनासो छ ।
निजी विद्यालयका शिक्षक कर्मचारीको संगठन प्याब्सियुले कास्कीमा रहेका प्याब्सन, एनप्याब्सन र युनिप्ससँग अनौपचारिक रूपमा छालफल र वार्ता गर्दा पनि उपयुक्त निकास ननिस्किएपछि राष्ट्रव्यापी संघर्ष तथा आन्दोलनका कार्यक्रमहरूको घोषण गरेर अगाडि बढ्नुपरेको प्याब्सियु नेपालका उपाध्यक्ष शिवलाल उपाध्यायको भनाइ छ ।
प्याब्सियु पोखरा महानगर समितिका अध्यक्ष विजयराज अधिकारीले तलबसुविधा यथाशीघ्र उपलब्ध गराउने, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य गर्नुपर्ने, बौद्धिकताको सम्मान गर्नुपर्ने, विद्यालयले नियुक्तिपत्र अनिवार्य दिनुपर्ने, सरकारी तलबमान कायम गर्नुपर्ने, पेशाको ग्यारेन्टी गर्दै विद्यालयले सम्बन्धन लिने बेलाका बुँदाहरू कार्यान्वयन गर्नुपर्ने आदि जस्ता प्याब्सियुको माग रहेको बताएका छन्।
हालसम्म पनि कुनै मागहरुको सुनुवाइ नभएकोले मंगलबार प्याब्स्यु मार्फत प्याब्सन कास्की, एनप्याब्सन कास्की र युनिप्सको कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम रहेको जानकारी गराइएको छ ।
तपाईको प्रतिक्रिया