विद्यालय सञ्चालन गर्न लेखनाथका व्यवसायीको चासो

समाधान संवाददाता २०७७ साउन ५ गते १९:३६

समाधान संवाददाता
लेखनाथ

Advertisement

विश्वव्यापी रुपमा फौलिएको कोभिड—१९ को प्रकोपको मारमा परेका विद्यालय सञ्चालन गर्न लेखनाथ उद्योग वाणिज्य संघले चासो देखाएको छ ।

कोभिड–१९ले शिक्षा क्षेत्रमा पारेको असर सम्वन्धमा सरोकार वालासँग सोमबार राखिएको कार्यक्रममा संघले खेल्नु पर्ने भूमिकाका बारेमा छलफल गरिएको हो ।

Advertisement

कार्यक्रममा नेसनल प्याब्सनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले सरकारले अन्य क्षेत्रलाई जस्तै निजी विद्यालयलाई पनि सम्बोधन गर्नु पर्नेमा जोड दिँदै विद्यार्थीको भविष्य अन्योलमा नराख्न आग्रह गरेका थिए ।

सोही अवसरमा प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्माले समग्र विद्यालयको अवस्थाका बारेमा जानकारी गराउँदै शिक्षा क्षेत्रमा देखिएको अन्यौलको छिट्टै अन्त्य हुनुपर्ने माग राखेका थिए ।

Advertisement

कार्यक्रममा एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले विभेदकारी नीतिको अन्त्य हुनु पर्ने बताएका थिए । युनिप्स कास्कीका अध्यक्ष सन्तबहादुर गुरुङले निजी क्षेत्रका विद्यालय सञ्चालनमा सरकारी नीति अस्पष्ट भएको गुनासो राखेका थिए ।

सोही अवसरमा संघका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले निजी क्षेत्रका व्यवसायीको समस्याप्रति सरकार गम्भीर नभएको गुनासो राखेका थिए भने संघका पूर्व अध्यक्ष बाबुराम गिरीले स्कुल, कलेज खुलाउन सरकारले नै अग्रसरता देखाउनु पर्ने सुझाव राखेका थिए ।

संघका अध्यक्ष बलराम ढकालले निजी क्षेत्रका समस्याप्रति संघ जिम्मेवार भएर सम्वन्धित निकायमा ध्यानाकर्षण गराउने प्रतिवद्धता देखाएका थिए । संघका महासचिव गोपिचन्द्र बास्तोलाले सञ्चालन गरेको कार्यक्रमा वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले धन्यवाद ज्ञापन गरेका थिए ।

तपाईको प्रतिक्रिया