गण्डकी काउफार्मबारे अध्ययन गर्न समिति
![](https://www.samadhannews.com/wp-content/uploads/2020/07/pac.jpg)
भरत काेइराला
पोखरा
चिनिया कम्पनीसँगको सहयोगमा सञ्चालन हुने भनिएको गण्डकी काउफार्मबारे अध्ययन गर्न सार्वजनिक लेखा समितिले उपसमिति गठन गरेको छ ।
प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउँदै समृद्धिको बाटोमा डो¥याउन चिनिया गाईसहितको परियोजना अगाडि सारिए पनि त्यसमा गण्डकी सरकारको सहभागिता कसरी रहने भन्ने प्रष्ट नभएको भन्दै लेखाले उससमिति गठन गरेको छ । १ महिना म्याद रहने गरी नेकपा सांसद गायत्री गुरुङको संयोजकत्वमा समिति गठन गरिएको सभापति कुमार खड्काले जानकारी दिए । समितिमा कांग्रेसका बिन्दुकुमार थापा र राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही सदस्य छन् ।
समितिले मन्त्री लेखबहादुर थापा र मन्त्रालयका सचिवलाई समेत बोलाएर काउफार्मबारे जानकारी लिए पनि यति गम्भीर विषयमा सामान्य निर्देशन दिन उपयुक्त नभएकाले उपसमिति गठन गरिएको सभापति खड्काले बताए ।
गम्भीर विषयमा सामान्य निर्देशन दिन उपयुक्त नभएकाले उपसमिति गठन गरिएको सभापति खड्काको भनाइ
समितिको आइतबारको बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कालिञ्चोकमा गाई फार्म चलाउने व्यक्तिकै नाममा गण्डकी काउफार्म दर्ता भएको र त्यही फार्ममा गण्डकी सरकारले लगानी गरेर काम अगाडि बढाउन लागेको बताए ।
गत आर्थिक वर्षमै मन्त्रिपरिषदबाट निर्णय भएर पनि निकासा हुन नसकेको ११ करोड रुपैयाँ चालु आवको बजेटमा समेत राखिएको जानकारी पनि उनले दिए । उनले भने, ‘कम्पनी आधिकारिक हो कि होइन भन्ने कुरा कम्पनी रजिस्ट्रारलाई सोध्नुपर्छ । निजी, सरकारी, साझेदारी मोडेल हुने भनेपछि हामीले रकम दिने प्रक्रिया अगाडि बढाएको हो ।’
तनहुँ र स्याङ्जाका किसान काउफार्मका लागि जग्गा दिन तयार भइसकेको, पछि पब्लिक लिमिटेड बनाउन लागिएको भन्दै प्रारम्भिक रुपमा २० करोड रुपैयाँ मूल्यांकन गरी फार्ममा ५१ प्रतिशत सेयर खरिद गरेर होल्ड गर्न खोजिएको उनले प्रष्ट पारे ।
समितिको बैठकमा वरिष्ठ पशु विकास अधिकृत डा. गृष्म नेउपानेले प्रदेश सरकारकै निर्णय पश्चात् गण्डकी काउफार्म रिसर्च प्रालिलाई आयोजना कार्यान्वयनमा अघि बढाइएको बताए ।
प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ गण्डकी सरकारले गण्डकी काउफार्म एन्ड रिसर्च सेन्टर प्रालिको सेयर खरिद गर्न भन्दै ११ करोड रुपैयाँ निकासाका लागि गत माघ ९ निर्णय गरेको थियो । प्रदेश दुग्ध विकास बोर्डमार्फत सेयर खरिद गर्ने निर्णय गरिए पनि रामकुमार खड्का अध्यक्ष रहेको निजी कम्पनीलाई कसरी सार्वजनिक निजी साझेदारी अनुसार सञ्चालन गर्ने र त्यसमा सरकारको कति प्रतिशत लगानी हुने कहिँ कतै खुलेको छैन ।
कम्पनीको चुक्तापुँजी २० करोड देखाइए पनि प्रदेश सरकारसँग २५ करोड माग भएकोमा तत्कालका लागि ११ करोड निकासाको निर्णय भएको हो । तर लगानी सुरक्षित हुने कुनै आधार नदेखिएको भन्दै प्रदेश अर्थ मन्त्रालयले उक्त रकम निकासा दिन मानेको छैन । खड्काले दोलखामा सञ्चालन गरेको गरेको कालिञ्चोक गाई फार्म अहिले अलपत्र छ ।
चिनिया सरकार मातहतको चाइनिज एकेडेमी अफ मेकानाइजेसन साइन्सेज (सिएएएमसी) को २० अर्ब रुपैयाँमा गण्डकीमा ‘रुरल पोभर्टी रिडक्सन बाइ डेरी डेभलपमेन्ट इन नेपाल’ सञ्चालन गर्ने भनिएको छ । सिएएएमएसको २० अर्ब, स्थानीय जनताको ५ अर्ब, प्रदेश सरकारको २५ करोड र निजी क्षेत्रको २५ करोड रुपैयाँ गरी २५ अर्ब ५० करोडको लगानी परियोजना हुने देखाइएको छ ।
यो परियोजनाका लागि सिएएएमएसले खड्का अध्यक्ष रहेको कम्पनीलाई अगाडि सारेको छ । खड्काले तनहुँको फिरफिरे ठेगाना राखेर गण्डकी काउ फार्म एन्ड रिसर्च सेन्टर दर्ता गरेका छन् । यसका लागि १२ सय रोपनीभन्दा बढी जग्गा कम्पनीको नाममा दर्ता भइसकेको स्थानीयले बताएका छन् ।
तपाईको प्रतिक्रिया